ब्राह्मण, क्षेत्रीको विवाहमा पहिले ‘सिलोक’ हाल्ने प्रचलन हुन्थ्यो । दुलही पक्षकाले हालेको सिलोक दुलहा पक्षकाले जवाफ दिन नसके भात खान पाउँदैनथे । नेपालगञ्जका रामदयाल चौधरीसँग पोखरामा जेठानका जेठी छोरीको विवाहमा भेट भएको थियो । बडो तान्त्रिक हुनुहुन्थ्यो । सर्पको माला लगाउनुहुन्थ्यो । बाँस वा निगालाको दुईवटा टुक्रालाई क्रस गरेर जोड्ने र बीचमा सानो टुक्रालाई धागोले बाँधेर दुलही पक्षले दुलहा पक्षलाई बीचमा रहेको डल्लो सार्नुपर्ने उहाँले प्रस्ताव राख्नुभयो । त्यो सार्न सके दुलहा पक्षले भात खान पाउने नभए नपाउने शर्त थियो । दुलहा पक्षले सार्न नसकेपछि समस्या प¥यो । उहाँ गुरुबा हुनुहुन्थ्यो । कसैलाई सर्पले टोकेमा विष चुसेर निकालिदिनुहुन्थ्यो ।
थारू समुदायमा माछा मार्न महाजाल, छेदाजाल र ढडिया बनाउने सीप छ । माछा त्यसमा छिर्न जान्दछ तर निस्कन जान्दैन । त्यस्तै थारू समाजमै कृष्ण जन्माष्टमीमा ‘अष्टिम्की’ चित्र बनाइने चलन रहेछ । त्यसमा कृष्णचरित्र र पृथ्वी सृष्टिको वर्णन हुन्छ । थारू परम्परा, सीप कलाको त्यसमा गजबको कला हुन्छ । विशेषगरी डङ्गौरा थारूहरूमा यो चलन छ । उहिलेका आदिवासीको घर गोलो र माथि चुस्सो परेको हुन्थ्यो । उनीहरूको आफ्नैखालको वास्तुकला थियो । गुफाबाट बाहिर आएपछि प्राग्ऐतिहासिक कालका घरहरू त्यस्ता थिए । माथि खरले छाएको, वरिपरि टाटीले बेरेको हुन्थ्यो । जङ्गली जीव जनावरबाट बच्न बार्ने प्रचलन थियो । अहिले धेरै फेरिएको छ ।
आदिवासी गुरुङ लेकमा बस्न मन पराउँछन् । अल्लो सिस्नुको पातबाट भाङ्ग्रा बुन्छन् । मोटो रेसाबाट धान हाल्नलाई थैलो बुन्ने र मसिनो रेसाबाट भाङ्ग्रा बुन्छन् । भेडापालन गरेर ऊन उत्पादन गरी बख्खु बुन्छन् । अहिले त्यसलाई घुमराडी भन्ने गरिन्छ । त्यो बोराजस्तो हुन्छ । पानी परेका बेला ओढ्न मिल्छ । भेडाको रङअनुसारको ऊन उत्पादन गरी थरीथरीका कम्बल बुन्ने गरिन्छ । राडी पनि बुन्ने गरिन्छ । यो पनि आदिवासी सीप नै हो । नेपालको पहिले अथर्व परिशिष्टमा चर्चा गरिएको थियो । नेपाल शब्दको उल्लेख कौटिल्यको अर्थशास्त्रमा पछि मात्र आएको पाइन्छ । सम्राट् अशोकका बाजे चन्द्रगुप्तका पालामा आचार्य चाणक्यले लेख्नुभएको थियो । त्यसमा नेपालको प्रसङ्ग वर्णन गरिएको छ । नेपालका मेष (भेडा) पालक आदिवासी नै थिए । अझ गुरुङ जाति एक नम्बरमा थियो । मुस्ताङ, डोल्पाका भोटेहरूले छालाको बख्खु लगाउँछन् । भेडाका पाठापाठी मरेमा त्यसको छाला र ऊन बनाउएर बख्खु बनाउने गरिन्छ । छाला बाहिर र ऊन भित्र पारेर बख्खु बनाइन्छ । उनीहरू बजारमा उत्पादित लुगा लगाउँदैनन्, आफ्नै घरमा उत्पादन गरेको कपडा लगाउँछन् । त्यसैले उनीहरू आत्मनिर्भर छन् ।
मगरले च्याङ्गा–पाङ्गा बनाउने गर्छन् । कपासको कपडा बुनेर कालो बनाइन्छ । कालो माटोमा पाँच–छ दिनजति डुबाएमा कालो हुन्छ । सेतो ऊनलाई पस्मिना रङको बनाउनुप¥यो भने काफलको बोक्रा टाँसेर पानीमा भिजाउँदा त्यसबाट रङ निस्कन्छ । अहिले मेशिनले ड्राई गरेजस्तै । त्यसमा कपडा डुबाए रङ फेरिन्छ । अर्को चुत्रो भन्ने फल हुन्छ । त्यसबाट पहेलो रङ निस्कन्छ । त्यसको काठ पनि पहेँलो हुन्छ । यी सबै अग्र्यानिक रङ हुन् । डोको, नाङ्लो, स्याकु, मान्द्रो बुन्ने प्रचलन छ । गुरुङ जातिले धान हाल्ने र गोठ छाउने भकारी बनाउँछन् । थुन्से, स्याकु, घुम, अल्लो, सिस्नोको पातको थैलो बनाउँछन् । नवलपरासीको नवलपुर अहिले गण्डकीमा पर्छ । नवलपुरका थारूहरूको ठूलो व्यवसाय ‘सुर्ती उत्पादन’ थियो । ‘नवलपुरे सुर्ती’ भनेपछि गण्डकीमा प्रख्यात थियो । धान माडिसकेपछि लेकाली गुरुङ नवलपुरमा सुर्ती लिन जान्थे । काँचो पातले त्यो सुर्ती बनाउने गरिन्छ ।
एकचोटी लेकाली गुरुङ नवलपुरमा सुर्ती लिन पुगेछन् । घोक्सामा भरुवा बन्दुक, घिउ, दहीमही, कुरौनी सबै चिज लिएर गएका रहेछन् । बाटोमा पाटेबाघ भेटेछन् । बाघले बाटो नछाडेपछि भरुवा बन्दुकको घोडा तानेको ट्याक्क आवाज सुनेपछि बाघ भागेछ । त्यहाँ उनी थारूको घरको पिँढीमा बसेछन् । लामो समय भए पनि घरबाट कोही बाहिर निस्केनन् । कोही ननिस्केपछि घरमाथि थाप्लोमा गएर हेरेको त धागोको त्यान्द्रोमा ठूलो घट्टको ढुङ्गा घुमेको देखेछन् । थारूले मलाई मार्छ भनी सोचेर उनी बेपत्ता भागेको देखेपछि थारूले किन भागेको भनेर ठूलो स्वरले बोलाएछन् । ती लेकालीलाई थारूले सित्तैँमा सुर्ती दिएछन् ।
अहिले नवलपुरमा सुर्ती खेती हराइसक्यो । नवलपुरको डण्डाका थारूहरूले थनेत लेख्छन् । थारू, चौधरी थर लेख्दैनन् । उनीहरूको शिरस्थान (देवथान) माथि देउचुलीको डाँडामा छ । त्यहाँ सामूहिक पूजा गर्छन् । चितवनमा पेपे थरका थारू थिए । चैतेदशैँका बेला (चैत शुक्ल पूर्णिमाका दिन) कुमार बर्तीमाईको गाथा गाउँथे । सानो भेडाको बलि दिएर त्यसको छालाको ढोलकी बनाउने र बजाएर कुमार बर्तीमाईको पूजा गर्थे । त्यहाँ कीर्तिपुर नामको पुरानो गाउँ छ । थारूहरू त्यहीँ रात बस्ने गर्थे, त्यहाँ गुफा पनि छ ।
नेवारहरूको सीपको कुरागरी साध्य छैन । धेरै सीप र कलाका धनी छन् । काष्ठमा उनीहरू विशेष दख्खल राख्छन् । मगरहरूमा कपासको धागोबाट बुनेको कपडाबाट गुनियाँ लाउँछन् । ज्यापुनीहरूले हाकुपटासी लगाउँछन् । कपिलवस्तुका थरुनीहरूको लेहङ्गा विशेषखालको हुनेगथ्र्यो । लेहङ्गाको ठाउँठाउँमा बोर्डर बनाइएको हुन्छ । पिँडौलामा कालो, नीलो रङले खोप्ने गर्छन् । ज्यापु र थरुनी दुवैले खोप्छन् । अहिले ट्याटु खोपेको जस्तो । यी सीप कला नै हुन् । ब्राह्मण त मितव्ययी र बुद्धिमानी जात पनि हो । आदिवासीले ठेकी फुटेमा फालिदिन्छ तर ब्राह्मणले ठेकी फुटेमा त्यसको माथिको घेरोले खैँजडी बनाउँछन् । ब्राह्मण, नेवार र गुरुङको खैँजडी फरक फरक छ । त्यो बनाउन जान्नु पनि सीप हो । बनाउन जानेमा घरमा प्रयोग गर्नलाई पनि भयो, पैसा खर्च हुनबाट पनि जोगियो ।
थारू, मगर र गुरुङको संस्कृतिमा केही एकरूपता र केही भिन्नता पनि छ । थारूले धोती र कछाड लाउने गर्छन् । अन्यले पनि लगाउँछन् । थारूले मान्छेलाई ‘मनै’ भन्दारहेछन् । ‘एक्को मनै नै हो, सक्कु बाजी बा’ भनेपछि त्यहाँ आफ्नो मान्छे कोही छैन, सबै पराया मात्र छन् भन्ने बुझ्नुपर्छ । भोटो, टोपी लगाउँछन् थारूले अहिले । मादल बनाउने र बजाउने थारूको प्रचलन हो । थारूबाटै मगर र गुरुङले सिकेका हुन् । थारू तराईमा बस्छन, गुरुङ डाँडामा बस्छन् । थारूले सोरठी गाउँथे, अहिले मगर र गुरुङले सिके । थारूले डफ्ली आफ्नै किसिमले बनाउँथे । अहिले त्यो प्रचलन हराएको छ । मगर र गुरुङले डम्फु बनाउँथे तर त्यो पनि अहिले हराएको छ । अब तामाङले मात्र बनाउँछन् । गुरुङको पुरेतले ढ्याङ्ग्रो बजाउँछन् । त्यो खोटसल्लोको बन्थ्यो, त्यसले क्यान्सर पनि निको पार्छ । खोटसल्लाको घेरो बनाएर घोरलको छालाले बेरेर बनाइन्थ्यो । कुकुरडाइनोले बजाउने गरिन्थ्यो । त्यो साउण्ड थेरापी हो ।
दुम्सीको काँडाको बाण हान्ने गरिन्थ्यो । दुम्सी त तराईमा पनि पाइन्छ । दुम्सी एकातिर सेतो र अर्कोतिर कालो हुन्छ । सक्कली दुम्सीको काँडाको बीचमा सेतो र अन्य ठाउँमा कालो हुन्छ । मङ्गलबार र शुक्रबार मारेको दुम्सीलाई बढी प्रयोगमा ल्याइन्थ्यो । पहाडमा गिठा हुन्छ, त्यसको लहरो जान्छ । त्यसमा गेडा फल्छ । जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बीँड भनेजस्तै हो । झाँक्रीले मन्त्र परीक्षण गर्दा दुम्सीको काँडा ‘फट्’ भन्नासाथ दुम्सीको काँडा उड्यो भने मन्त्र सिद्धि भयो, उडेन भने भएन । दुम्सीको काँडाले गिठाको गेडामा निसाना लाग्यो भने त्यो मन्त्रले सिद्धि पायो भन्ने हुन्थ्यो । रिट्ठाको मालाले बाण फर्काउने काम पनि गरुवा, झाँक्रीले गर्थे । रिट्ठाले नुहाउँदा कपालका सबै चाया सफा हुन्थ्यो । साबुन, स्याम्पु त्यतिबेला थिएन । सबै काम रिट्ठाले गथ्र्यो । गोमन सर्पले फणा फिजाउँदा खराउको चिह्न देखिन्छ । खराउ लगाएको मान्छेलाई गोमन सर्पले डस्दैन । यसमा आचाबाचा छ भनिन्छ । खराउको आवाज सुन्नेबित्तिकै गोमन सर्प भाग्छ । यो ज्ञान पनि अहिले हराइसक्यो । यी आदिवासी ज्ञानलाई पुस्तान्तरण गर्न सकिएको छैन । थारू तराईका भूमिपुत्र हुन् । गोमन, बिच्छी, सर्प, लामखुट्टे, बाघ, भालुसँग लडेर बसेको समुदाय हो यो । औल पचाएको समुदाय हो । पहिले ब्राह्मण रक्सी खाँदैनथे । रक्सी, जाँड खाने समुदायलाई औल लाग्दैनथ्यो । ब्राह्मणलाई औल तुरुन्तै लाग्थ्यो, आदिवासीलाई लाग्दैनथ्यो । त्यही भएर पछि त ब्राह्मणले पनि रक्सी जाँड खान थाले । औलले लोग्नेमान्छे मर्ने, महिला खुब मोटाउने गर्थे । थारूहरूले औल महामारी पचाए । महुवाको रक्सी बनाउँछन् थारूले । त्यो रक्सीसँग घोँघा, घोँघीको तरकारी खान्छन् । त्यसमा प्रोटिन प्रशस्त पाइन्छ । नीमको दतिउन गर्थे थारूले । त्यसले दश वर्ष आयु बढाउने विश्वास गरिन्छ ।
अहिले समय फेरिएको छ । गुरुबा, धामी झाँक्रीको पछि लागेर मात्र ज्यान बच्दैन । अस्पताल पनि पुग्नुपर्छ । युवामा आदिवासी ज्ञान पुस्तान्तरणको चुनौती छ । आदिवासीको ज्ञान र सीप, आदिवासी युवाले मात्र सिक्ने होइन, अन्य समुदायकाले सिके आत्मनिर्भर बन्न सहयोग गर्छ । हाम्रा पुराना ज्ञान, सीप र कला हाम्रा सम्पत्ति हुन् । भएको ज्ञानको संरक्षण र प्रवद्र्धन गरी थप ज्ञान र सीप आर्जन गरेमा समाज र देश सजिलै आत्मनिर्भर बन्छ । यसतर्फ राज्यले ध्यान दिनु जरुरी छ ।
(प्राज्ञ डा. गुरुङ नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति हुन् ।)