फितलो अनुगमनले अझै घट्न सकेन तरकारीको भाउ

गत असोजको अविरल वर्षापछि काठमाडौँ उपत्यकामा बढेको तरकारीको भाउ अहिलेसम्म घट्न सकेको सकेको छैन, बरु दिनदिनै बढ्दो छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो वर्षभन्दा यस वर्ष मौसमी तरकारी साग, काउली, बन्दा, गोलभेँडा, मुलालगायतको भाउ उच्च छ । तरकारीको आपूर्ति कम, बजारका तह धेरै हुनु र बजार अनुगमन फितलो भएकाले तरकारीको भाउ घट्न नसकेको हो ।

गत वर्ष मङ्सिरको तेस्रो सातामा गोलभेँडा प्रतिकेजी ७०/७५ रुपियाँमा थोकमा किनबेच भएकामा यस वर्षको मङ्सिर तेस्रोमा गोलभेँडाको भाउ बढेर प्रतिकेजी १००/१२० रुपियाँ थोकमै कारोबार भइरहेको छ । खुद्रामा यसको मूल्य प्रतिकेजी १५०/१८० रुपियाँ रहेको छ । स्थानीय काउली गत वर्षको सो अवधिमा प्रतिकेजी ६० रुपियाँ र मुला प्रतिकेजी २० रुपियाँ थोक मूल्यमा किनबेच भएकोमा अहिले बढेर स्थानीय प्रतिकेजी १५० रुपियाँ र मुला ६० रुपियाँ थोक मूल्य रहेको छ ।

मकवानपुर भीमफेदी गाउँपालिकाका तरकारी उत्पादक किसान कैलाश बुढाथोकी भने गोलभेँडाको प्रतिकेजी ५० रुपियाँ, स्थानीय काउली प्रतिकेजी ३० रुपियाँ, मुला प्रतिकेजी २० रुपियाँ पाउँदा दङ्ग हुनुहुन्छ । गोरखापत्रसँगको फोन सम्पर्कमा उहाँले भन्नुभयो, “विगतका वर्षभन्दा गोलभेँडा, काउली, मुला, रायो, चमसुर, पालुङ्गोको साग राम्रो आएको छ र सबै जोड्दा त नोक्सान छैन तर नाफा पनि धेरै छैन ।” तरकारी काठमाडौँको बजारसम्म पु¥याउँदा बिचौलियाका कारण राम्रो मूल्य पाउन नसकेको उहाँको गुनासो रहेको छ । उहाँ त एउटा प्रतिनिधि पात्र मात्रै हो । देशभरका तरकारी उत्पादक किसान नोक्सान नहुने गरी मूल्य पाउँदा पनि दङ्ग पर्ने अवस्था छ । त्यसैले तरकारी उत्पादनमा युवाको आकर्षण हुन सकेको छैन ।

यता उपत्यकामा गएको असोजदेखि बढेको तरकारीको भाउ नघट्नुमा फितलो बजार अनुगमन प्रमुख कारण रहेको उपभोक्ता अधिकारकर्मी बताउँछन् । उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसेनाले बजार अनुगमन प्रभावकारी नहुँदा तरकारी उत्पादन किसानले भाउ नपाउने र उपभोक्ताले महँगो तिर्नुपर्ने अनि लाभ भने बिचौलियाले लिने विगतदेखिकै नियतिले उपभोक्ता मारमा पर्ने गरेको बताउनुभयो ।

अनुगमन र कार्यान्वयनको जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काम नगर्दा आमउपभोक्ता सधैँ बिचौलियाको मारमा पर्न बाध्य भएको उहाँको आरोप थियो ।

यता तरकारी व्यवसायी यस पटक उत्पादन स्रोतबाट आयात गर्दा तरकारीको भाउ बढेका कारण भाउ बढाउनु परेको स्वीकार गर्छन् । कालीमाटी फलफूल तथा तरकारी व्यापारीको संस्थापक अध्यक्ष गीताप्रसाद आचार्यले यस पटक असोजदेखि बढेको तरकारीको अवस्था नसुध्रिनुमा माग अनुसार आपूर्ति हुन नसक्नु र स्रोतमै भाउ बढ्नु प्रमुख कारण रहेको बताउनुभयो । तरकारी आपूर्ति गर्दा तह धेरै भएर पनि केही मूल्य बढे पनि पछिल्लो पटक मूल्य बढ्नुमा उत्पादन स्रोतमै मूल्य बढेको जिकिर उहाँले गर्नुभयो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक डिकबहादुर कार्कीले तरकारी उत्पादनदेखि उपभोक्तासम्म आउँदा कम्तीमा पनि छ वटा तह भएकाले यसलाई कम गर्न बजार तह निर्धारण गर्ने निर्देशिका निर्माणको चरणमा रहेको जानकारी दिनुभयो । उपभोक्ता संरक्षण ऐन र नियमावलीमा नै बजारको तह निर्धारण गर्ने स्पष्ट व्यवस्था छ तर यसको कार्यान्वयनका लागि निर्देशिका नबन्दा ऐन आएको छ वर्षसम्म बजार तहको समस्या रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठले उपत्यकामा पछिल्लो तीन महिनादेखि माग अनुसार आपूर्ति हुन नसकेकाले भाउ बढेको बताउनुभयो । उहाँका अनुसार कालीमाटी बजारमा सामान्य अवस्थामा दैनिक नौ सयदेखि एक हजार मेट्रिक टन तरकारी भित्रिने गरेकोमा हाल दैनिक औसतमा छ सय मेट्रिक टनको हारहारीमा मात्रै भित्रिएको छ । खुला बजार नीतिमा माग अनुसार आपूर्ति नहुनेबित्तिकै भाउ बढ्नु स्वाभाविक भएको उहाँको भनाइ छ ।

समितिका अनुसार हाल कालीमाटी बजारमा तरकारी भित्रिने स्रोत जिल्ला उपत्यका तीन जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, चितवन, नवलपरासी, मकवानपुर, काभ्रे नुवाकोट, दोलखा, तराईका बारा, पर्सा, सर्लाही, सप्तरी रहेका छन् । प्याज, आलु, कागती, तरुल, तनेबोडी, परबर, करेला, पार्केको फर्सी भारतबाट र लसुन चीनबाट ल्याउने गरिएको समितिले जनाएको छ ।

समितिका अनुसार उपत्यकावासीको मागमध्ये लगभग ७५ प्रतिशत कालीमाटी बजारले धान्ने गरेको छ र बाँकी साना बजार बल्खु तरकारी बजार, बालाजु, बानेश्वर, जडीबुटीलगायतका तरकारी बजारबाट पूर्ति हुने गरेको छ । रासस


ताजा खबर