संसारको सबैभन्दा ठूलो लोकतन्त्रका रूपमा परिचित हाम्रो छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको नागरिकता कानुन र नागरिकता दर्ता प्रक्रियाका विरुद्ध देशव्यापी रूपमा उर्लिएको आन्दोलनको मूल कारण प्रतिपक्षीहरूले फैलाएको भ्रम नै हो भन्नुभयो । भारत सरकारका अनुसार जनता भ्रममा परेर आन्दोलित भइरहेका हुन् । अनि भ्रम नफैलियोस् भनेर मोदी सरकारले अहिलेको समयमा सबैभन्दा चाँडै फैलने इन्टरनेटजन्य सञ्चार प्रक्रियालाई बेला–बेला अवरुद्ध पनि गर्दै आएको छ ।
भारत सरकारले आफ्ना निकायहरूबाट विद्युतीय प्रविधिको सहायताले सेवा उपलब्ध गराउनेमात्र होइन, देशको अनलाइन संरचनामा विकास गर्दै हरेक नागरिकलाई ‘डिजिटल’ स्तरमै सशक्त बनाउने ध्येय अघि सारेको छ । डिजिटल अभियान नयाँ वर्षको सुरुवातसँगै सम्पन्न भएको छ । तर, यही डिजिटल इन्डिया अभियानकै क्रममा भारतले कमाएको ख्याती भने सकारात्मक छैन । अहिले भइरहेको आन्दोलनका क्रममा विश्व मानवअधिकार दिवस १० डिसेम्बरकै दिन भारत सरकारले अरूणाञ्चल र त्रिपुरा राज्यमा इन्टरनेट अवरुद्ध गरायो । इन्टरनेट अवरुद्ध गराउने त्यहाँको सरकारको शृङ्खलाबद्ध पहलका बारेमा विश्वभरका निर्वाध अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरूको ध्यानाकर्षण भइरहेकै छ ।
अमेरिकास्थित अनुसन्धान संस्था फ्रिडम हाउसका अनुसार वर्ष सन् २०१८ मा मात्र भारतमा सयभन्दा बढी सन्दर्भमा इन्टरनेट अवरुद्ध गरिएको थियो । दुई वर्षअघि सन् १९१७ को अगस्त महिनामा त्यहाँको केन्द्रीय सरकारले इन्टरनेटलगायतका तीव्र गतिका सञ्चार मार्गलाई अवरुद्ध गर्ने कार्यलाई कानुनी मान्यता दिलाउन इन्डियन टेलिग्राफ एक्ट, १८८५ अन्तर्गत रहेर ‘द टेम्पोररी ससपेन्सन अफ टेलिकम सर्भिस (पब्लिक इमरजेन्सी अर पब्लिक सेफ्टी)’ कानुन जारी गरेको थियो ।
इन्टरनेट नियन्त्रणका दिशामा अघि बढ्ने देशहरूमा लोकतान्त्रिक भारत एक्लो भने छैन । ‘रिपोर्टर्स विदाउट बोर्डर’ले वर्षैपिच्छे प्रकाशन गर्ने प्रतिवेदन इन्टरनेट एनेमिज रिपोर्टमा उल्लेख गरिएअनुसार भारतलगायत अस्ट्रेलिया, फ्रान्स, रूस, दक्षिण कोरिया र थाइल्यान्डजस्ता लोकतान्त्रिक देशहरू पनि इन्टरनेट नियन्त्रणकै कारण त्यस्ता संस्थाहरूको आँखामा परेका छन् । एकातिर नेटिजनका अधिकारको कुरा छ, अर्कोतिर इन्टरनेटबाटै राज्यद्रोह नै हुन सक्छ भन्ने कतिपय सरकारहरूको दाबी छ, फेक न्युजको आतङ्क पनि उत्तिकै छ । कतिपय देशका सरकारहरू ब्लगरहरूलाई लेखेको कुरामा जिम्मेवार बनाउने कानुनको तर्जुमा गरिरहका छन् ।
यसरी सञ्चार वा आमसञ्चारका माध्यमहरूको विकाससँगसँगै यी साधनहरूमाथिको नियन्त्रण कायम राख्ने होडबाजी पनि नयाँ–नयाँ ढङ्गले अगाडि बढिरहेकै छ । अहिले संसारको सबै भू–भागमा इन्टरनेटले अभिव्यक्तिका लागि हरेक व्यक्तिलाई प्रदान गरेको स्वतन्त्रताका विषयमा कुनै न कुनै ढङ्गले प्रश्नहरू उठिरहेका छन् । भारतीय प्रधानमन्त्री मोदीलाई मात्र होइन, हरेक देशका सत्तासीनहरूलाई लाग्छ, सोसल मिडियाको प्रयोग गरेर विपक्षीहरूले भ्रमको पहाड सिर्जना गरिरहेका छन् । अनि संसारका सबै कुनामा सत्ताबाहिर रहेका राजनीतिक प्राणीहरूलाई लागिरहेको छ, परम्परागत मात्र होइन, नयाँ मिडिया र सोसल मिडियाको समेत प्रयोग गर्दै सरकारहरू वैकल्पिक स्वरहरूलाई उठ्नै दिइरहेका छैनन् ।
सात दशकअघि आधुनिक समाजमा सञ्चारको स्थानबारेमा लेख्दै विख्यात विद्वान् विलवर श्रामले भन्नुभएको थियोे– सञ्चारका साधनहरू न असल न खराब छन् । ती साधनहरू आफैँमा समयको बर्बादी गर्ने प्रकृतिका पनि हुँदैनन्, कुशल पनि हुँदैनन् । यतिमात्र हो, तिनीहरूको अति व्यापक परिमाणमा प्रयोग भइरहेको छ । टाढा–टाढाका दृश्य आँखा अगाडि ल्याइपु¥याउने टेलिभिजन र प्रतिमिनेट दस लाख शब्द बोल्न सक्ने त्यसबेलाको फ्यासिमिलीको दृष्टान्त प्रस्तुत गर्दै उहाँ अझ अगाडि लेख्नुहुन्छ– तिनीहरू न कम्युनिस्ट हुन्, न पुँजीवादी । तिनीहरू तानशाह र लोकतान्त्रिक शासकका लागि पनि उत्तिकै प्रभावकारी छन्, सबैले उत्तिकै प्रभावकारी रूपमा प्रयोग गर्न सक्छन् । तिनीहरू मानव जातिका सेवक हुन् ।
तीन दशकभन्दा अघि दिवङ्गत श्रामले त्यसयताका सूचना–प्रविधिको विकासक्रमको अनुभव गर्न पाउनुभएन । तर त्यहीबेला उहाँले भन्नुभएको थियो– सञ्चारमाध्यम युद्धका साधन, राजनीतिक लडाइँका मैदान तथा व्यापार, शिक्षा, धर्मलगायत सबै क्षेत्रका सङ्गठित समूहका लागि सर्वव्यापी र सम्मानित संयन्त्र बन्न पुगेका छन् । आजसम्म बाँचेको भए उहाँले पक्कै सामाजिक सञ्जालहरूको शक्तिको व्याख्या गर्नुहुने थियो ।
सञ्चारका साधनहरूको तीव्र विकास, खासगरी इलेक्ट्रोनिक मिडियाको क्षेत्रमा भएको प्रगतिलाई नजिकबाट नियालेर उहाँले दिएको निष्कर्ष त्यही थियो, हामी ती साधनलाई मानव जातिको हितका लागि कसरी प्रयोग गर्दछौँ भन्नेमा सजग हुनुपर्दछ । यहाँनेर सञ्चारका साधनहरूको विकास र सञ्चार प्रक्रियाको प्रभावकारिताको पक्षलाई सञ्चारका अन्तर्वस्तुसँग अलग गरेर हेर्न सक्नुपर्दछ । त्यसैले उही बेला श्रामले सञ्चार साधनहरू आफैँमा न साम्यवादी हुन्छन्, न पुँजीवादी हुन्छन् भन्नुभएको हो भन्ने बुझ्नुपर्दछ ।
श्रामले सन् ६० को दशकमा आधुनिक समाजमा सञ्चारका विषयमा लेख्दै गर्दा विश्वमा टेलिग्राफ, टेलिफोन, फ्यासिमेली, छापा मेसिन, रेडियो र टेलिभिजनसमेतको प्रयोग भइरहेको थियो । त्यसबेलासम्म आइपुग्दा संसारमा अन्तरवैयक्तिक सञ्चारलाई पनि मेसिनको सहायताले समय र भूगोलको सीमाभन्दा पर पु¥याइसकिएको थियो । अनि विकसित देशहरूमा आमसञ्चारका साधनहरूको प्रयोग राजनीतिक वा सार्वजनिक संवादका लागि अत्यावश्यक नै हुन पुगिसकेको थियो । तर, लोकतन्त्र बहाली नभएका देशहरूमा आमसञ्चारका साधनहरूमाथि सरकारको कडा नियन्त्रण थियो, टेलिफोन र टेलिग्राफजस्तो अन्तरवैयक्तिक सञ्चारका साधनहरूमाथि पनि सरकारी निकायहरूको कडा निगरानी रहने गरेको थियो । आजसम्म विश्वका अनेक भू–भागमा हुने गरेका यस्ता नियन्त्रण र निगरानी गलत वा भ्रामक अन्तर्वस्तुको रोकका नाममै हुने गरेका छन् ।
सञ्चार महामार्गको बहुआयामिक विस्तारसँगै सरकारहरूका लागि सञ्चारका साधनमाथिको नियन्त्रणको प्रयत्न दुष्कर बन्न पुगिसकेको छ । कुनै बेला थियो, शासकलाई लाग्यो, यो मकैको खेती भन्ने पुस्तक खतरनाक छ । छापिएका सबै प्रति एकैठाउँ भेला पारेर जलाइदिए । मानव सभ्यताको आजसम्मको इतिहासमा यस्ता कति लिखतहरू आगोमा नष्ट भए पूर्णतः लेखाजोखा हुन पनि बाँकी छ । तर यति भन्न सकिन्छ, यस्ता सबै, अरूको मुख थुन्ने वा अरूको लेखनलाई नामेट गर्ने प्रयत्न भाँडभैलो मच्याउने दुष्प्रयासको अन्त्य गर्ने
नाममै भए ।
श्रामले उठाएको सञ्चारका अन्तर्वस्तुसम्बन्धी प्रश्नको उत्तर मानव जातिले हजारौँ वर्षदेखि खोजिरहेका छन् । ऊबेलाको समय अन्तरवैयक्तिक सञ्चारकै थियो । त्यसैले पुरातन समयमा सञ्चारको अन्तर्वस्तुको विमर्श अन्तरवैयक्तिक तहमै केन्द्रित थियो । तर, त्यसबेलाको सोचलाई आमसञ्चार माध्यम र आजको सामाजिक सञ्जालहरूको सन्दर्भमा पनि लागू गर्न सकिन्छ ।
उदाहरणका लागि पाँच हजार वर्षभन्दा पुरानो ठानिएको महाभारतका सन्दर्भलाई युद्धका दृष्टिले मात्र बुझ्नु पर्याप्त हुँदैन । महाभारतको युद्धपूर्व कृष्ण र अर्जुनबीचको गीतामा समेटिएको अन्तरवैयक्तिक संवादका क्रममा पनि यो विषयलाई समेटिएको छ । गीतामा कृष्णले एकठाउँ अर्जुनलाई भनेका छन् :
अनुद्वेगकरं वाक्यं सत्यं प्रियहितं च यत् ।
स्वाध्यायाभ्यसनं चैव वाङ्मयं तप उच्यते ।।
अर्थात् कसैको अहित नहुने र सुन्दा प्रिय लाग्नेगरी सत्य बोल्नुपर्दछ । गीतामा कृष्णले वचनमा तपस्या भन्नुको अर्थ सुन्नेको मस्तिष्कलाई उद्वेलित नगरी बोल्नु भन्ने नै हो । श्रोता वा प्रापकको आधारभूत संवेदनालाई उत्तेजित पार्ने वा धैर्यलाई चुनौती दिनेगरी नबोल्नु नै भनेको हो । सञ्चारको अन्तर्वस्तुको प्रकृतिबारेमा गीताले अघि सारेको यही मान्यता हाम्रो प्राच्य सभ्यतामा विकसित दृष्टिकोण हो । जहाँ भनिन्छ ः
सत्यं ब्रूयात्, प्रियं ब्रूयात्, न ब्रूयात् सत्यमप्रियम्
प्रियं च नावृतं ब्रूयात्–एष धर्मः सनातन ।।
सञ्चारका साधन र प्रक्रियामा जतिसुकै उन्नति भए पनि अन्तर्वस्तुका विषयमा ध्यान नपु¥याउने हो भने सुख, शान्ति र विकासका पक्षहरूले महत्व पाउँदैनन् । सञ्चारका नाममा भ्रममात्र होइन, घृणा र प्रोपोगान्डा फैलाएर ठुल्ठूला युद्ध र मारकाट मच्याइएको इतिहास पनि मानव जातिले बिर्सनुहुँदैन । त्यसैले पच्चीस सय वर्षअघि बुद्धले सुख र शान्तिको परिकल्पना गर्दा वाणी वा सञ्चारको विषयमा पनि बोले । उनले आठ माध्यम मार्गहरू देखाउँदै सम्यक वाणी वा वचनको पक्षपोषण गरे, सत्य र प्रिय बोल्ने शिक्षा दिए ।
पाश्चात्य जगत्का तुलनामा सञ्चारका साधन र प्रक्रियाका सम्बन्धमा हामी पछाडि छौँ । तर, प्राच्य सभ्यतामा अन्तर्वस्तुका बारेमा ध्यान पुर्याउन जोड दिइएको कैयन यस्ता दृष्टान्त पाइन्छन् । आज संसारभर मिथ्या कुरा फिँजाउन दुरुत्साहित गर्ने प्राविधिक र मनोवैज्ञानिक कारणहरूको अन्त्यका लागि कसरी समझदारी बढाउन सकिन्छ भन्ने विषयमा चिन्तन भइरहेको छ । सञ्चार र आमसञ्चारका नयाँ–नयाँ माध्यमको विकाससँगसँगै अन्तर्वस्तुको सत्यता, मर्यादा र स्वच्छता पनि उत्तिकै महत्वपूर्ण विषय हो ।
सोसल मिडियाको प्रभाव विस्तारसँगै आमसञ्चार माध्यमका उपभोक्ताको अन्तर्वस्तु उत्पादनमा भूमिका बढ्दै गएको छ । त्यही कारण नयाँ मिडियाको यस युगमा माध्यम र समाजको अलग–अलग वृत्तबीचको परम्परागत सीमा मेटिएको छ । पहिले माध्यममा अन्तर्वस्तु वा सूचनाको निर्माण र परिष्कार हुन्थ्यो, समाजमा ती अन्तर्वस्तु वा सूचनाको उपभोग हुन्थ्यो । तर, अबको स्थिति त्यस्तो छैन र संस्थागत स्वरूपका आमसञ्चार माध्यमका अन्तर्वस्तु पनि सोसल मिडियाबाट प्रभावित भइरहेका छन् ।
भर्खरै बितेको वर्षको अन्त्यतिर डिसेम्बर १२ का दिन भारतीय प्रधानमन्त्री मोदीले सशक्त आन्दोलनमा संलग्न आसामका जनतालाई आश्वस्त तुल्याउँदै ट्वीट गर्नुभयो– नागरिकतासम्बन्धी संशोधन विधेयक पारित भएकोमा चिन्ता गर्नुपर्ने कुनै कारण छैन, तपाईंहरूको अधिकार, विशिष्ट पहिचान र सुन्दर संस्कृतिलाई कसैले खोस्न सक्ने छैन । तर, आन्दोलनको ज्वारलाई मत्थर बनाउन जारी गरिएको प्रधानमन्त्रीको ट्वीटले तत्काल प्रभाव देखाउन पाएन । किनकि त्यो दिन पनि भारतको त्यस उत्तर–पूर्वी राज्यमा सरकारले सामाजिक सञ्जाल अवरुद्ध गराएको थियो ।
सञ्चारका साधनहरू साँच्चै जोसुकैका लागि घातक, लाभदायक वा उपयोगी साबित हुन सक्छन् । सवाल, हामी ती साधनहरूको प्रयोग कसरी गर्छौं भन्ने नै हो ।
(लेखक वरिष्ठ पत्रकार तथा आम सञ्चारका प्राध्यापक हुनुहुन्छ ।)