धुलो, धुवाँका बहुआयामीक असर हुन्छन् । तत्कालिन रुपमा रुघाखोकी, घाँटी दुख्ने, आँखा दुख्ने लगायतका समस्या धुवाँधुलोका कारण आउन सक्छन् । दीर्घकालिन रुपमा दम, फोक्सोको क्यान्सर, मुटुको रोग, क्यान्सर, श्वासप्रश्वास लगायतमा समस्या देखिन सक्छन् ।
काठमाडौं उपत्यकामामात्र होइन देशैभरी धुलो, धुवाँको समस्या बढेको छ । धुलो, धुवाँले नयाँ रोग जन्माउने र विद्यमान रोगलाई थप चर्काउने दुवै गर्छ ।
सामान्य रुपमा १/२ घण्टा धुलोधुवाँमा रहँदा खासै ठूलो असर नदेखिन पनि सक्छ । छोटो समय धुलोधुवाँमा रहँदा त्यसले रुघाखोकी, हाछ्युँ आउने, घाँटी दुख्ने, आँखा दुख्ने लगायतका समस्या मिम्त्याउन सक्छ । तर, लामो समय धुवाँधुलोमा रहनुपर्ने बाध्यता भएकालाई यसले गम्भिर असर गर्छ ।
पछिल्लो समय धुलोधुवाँबाट लाग्ने प्रवल सम्भावना भएका रोगका विरामीको संख्या बढिरहेको छ । अस्पतालमा त्यस्ता विरामीहरूको संख्यामा बढोत्तरी आएको छ । यो वर्षेनी बढ्दो छ ।
यदि यहि अनुपातमा धुलोधुवाँको प्रदूषण बढ्दै गयो भने त्यसबाट निम्तिने रोगले महामारीकै रुप लिने खतरा छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा धुलोधुवाँबाट लाग्ने रोगका कारण ज्यान गुमाउनेको संख्या करीव १० हजारजति छ ।
हामीले उचित समयमै बाटोघाटोको व्यवस्थापन गरेनौं भने वा ट्राफिक व्यवस्था चुस्त बनाएनौं भने यसले विकराल रुप लिन सक्छ ।
( वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ, प्रा.डा. अर्जुन कार्कीसँग गरिएको कुराकानीमा आधारित)