सभामुख पदबाट राजीनामा दिन कृष्णबहादुर महरालाई बाध्य पारेको घटनाबारे पीडित भनिएकी महिलाले बोली फेरे पनि अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ।
सोमवार साँझ आफूमाथि यौन दुर्व्यवहार गरिएको आरोप लगाएकी महिलाले मङ्गलवार चाहिँ त्यस्तो केही नभएको बताएको भिडियो सार्वजनिक भएको थियो।
महराले आफूमाथि लागेको आरोपलाई ‘निराधार’ भन्दै खण्डन गरिसकेका छन्।
यद्यपि घटनाबारे निष्पक्ष छानबिन होस् भनेर आफूले पदबाट राजीनामा दिएको उनले बताएका थिए।
यसअघि बुधवार बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै फौजदारी कानुनका जानकारहरूले पीडित भनिएकी महिलाले भनाइ फेर्दैमा प्रहरीले अनुसन्धान रोक्न नमिल्ने बताएका थिए।
महानगरीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले पछिल्लो विकासक्रमका बीच पनि प्रहरीको तर्फबाट अनुसन्धान नरोकिएको बिहीवार बीबीसी न्यूज नेपालीलाई बताए।
उनले भने, “उहाँ [पीडित भनिएकी महिला] को शुरूको र पछिल्लो चरणको भनाइ विरोधाभासपूर्ण भएको भएर हामीले सत्य वा असत्य के हो भनेर हेरिरहेका छौँ।”
“शुरूमा उहाँबाट एउटा कुरा आयो र पछि अर्कै कुरा आयो। त्यसबारे हामीले सत्यतथ्य छानबिन गरिरहेका छौँ। त्यसबाहेक हामीले गर्ने नियमित प्रहरी अनुसन्धान जारी छ,” नायब महानिरीक्षक थापा क्षेत्रीले थपे।
नायब महानिरीक्षक थापा क्षेत्रीका अनुसार पीडित महिलाले दिएको पछिल्लो निवेदनमा उनीमाथि ‘दुर्व्यवहार नभएको’ उल्लेख गरिएको छ।
फौजदारी कानुनका जानकार वरिष्ठ अधिवक्ता प्राध्यापक रजितभक्त प्रधानाङ्गले बुधवार भने, “यो सामान्य अपराधको आरोप होइन। त्यसैले उजुरी आएन वा पीडित भनिएकी महिलाले बोली फेरिन् भन्दैमा अनुसन्धान रोक्न मिल्दैन।”
फौजदारी कानुनका अर्का जानकार अधिवक्ता सतीशकृष्ण खरेलले प्रहरीले अनुसन्धानलाई अघि बढाउनैपर्ने कानुनी बाध्यता रहेको बताएका थिए।
उनले भने, “पीडित भनिएको व्यक्तिले आरोपको खण्डन गरे पनि वा नगरे पनि यसमा फौजदारी कानुन आकर्षित हुन्छ। यस्ता कसुरमा अनुसन्धान बन्द गर्न वा मिलापत्र गराउन पाइँदैन।”
प्रहरीको पछिल्लो भनाइले पनि पीडितको बोली फेरिएकै कारण अनुसन्धान प्रक्रिया नरोकिएको देखिन्छ।
महानगरीय प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले भने, “कसैले केही भन्यो वा कुनै जानकारी दियो भने प्रहरीका लागि त्यो पनि [अनुसन्धानमा] उपयोगी हुन्छ। हरेक कोणबाट हामीले हेरिरहेका छौँ।”
“उहाँ [पीडित भनिएकी महिला] ले मानसिक रूपमा असन्तुलित भएरै त्यो बोलेँ भन्ने खालको कुरा पनि गर्नुभएको छ। त्यो अवस्था हो कि होइन, सबै कुराबारे छानबिन भइरहेको छ,” प्रवक्ता ज्ञवालीले थपे।
कतिपयले डिप्रेसनका कारण पीडितले बोली फेरेको वा शुरूमै झूटो बोलेको हुन सक्ने बताइरहँदा कतिपय मनोविद्हरूले चाहिँ त्यसलाई अस्वीकार गरेका छन्।
बिहीवार बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै मनोविद् आरती झाले भनिन्, “डिप्रेसन भएकै कारण कोही झूटो बोल्छ भन्ने हुँदैन, त्यो पनि आज एउटा र भोलि अर्कै कुरा।”
त्यसमा अर्की मनोचिकित्साविद् नर्मदा देवकोटा पनि सहमत देखिन्छिन्। “डिप्रेसनका बिरामीले अरूमाथि आरोप लगाउनुभन्दा पनि आफैँमाथि आरोप लगाउने गरेको पाइन्छ,” उनले थपिन्।
यसैबीच, महिला तथा मानव अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सामाजिक सङ्घसंस्थाले बिहीवार संयुक्त विज्ञप्ति जारी गर्दै घटनाबारे अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
विज्ञप्तिमा ‘एक दिनकै अन्तरालमा आएका दुईवटा अन्तर्वार्तामा महिलाले पूर्ण रूपमा आफ्नो भनाइ परिवर्तन गर्नु आफैँमा गम्भीर अनुसन्धानको विषय भएको’ भनिएको छ।
विज्ञप्तिमा अगाडि भनिएको छ, “देशकै उच्च पद र राजनीतिक हैसियत भएका व्यक्ति नै यस घटनाका आरोपित व्यक्ति भएको हुँदा, प्रभावितले दबावमा आएर आफ्नो वा परिवारको सुरक्षाको जोखिमका कारण आफ्नो भनाइ परिवर्तन गरेको सम्भावना हुन सक्दछन्।”
“यसर्थ मानव अधिकारको संरक्षण, प्रवर्द्धन र मानव अधिकार हननका घटनाहरूको अन्वेषण र अनुगमन गर्ने जिम्मेवारी रहेको संवैधानिक आयोगहरू राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगलाई यस घटनाको सत्यतथ्य अध्ययन गरी वास्तविकता पुष्टिका लागि कार्य गर्न हामी हार्दिक अपील गर्दछौँ।”