दीपक खनाल, काठमाडाैं ।
चम्चा हुन पाएकोमा म आफूलाई साह्रै भाग्यमानी ठान्दछु । कसैले ‘चम्चे’ भनेर सम्बोधन गर्दा झन् एकदमै आनन्द आउँछ मलाई । ज्यादै रमाइलो र औधी खुशी लाग्छ । धेरै सम्मानित भएको महसूस हुन्छ ।
जो पायो त्यही ‘चम्चा’ हुन कहाँ पाउँछ र ? चम्चा बन्न पाउनु त इतिहास ‘ब्रेक’ गर्नु हो नि । चम्चा हुनु जिन्दगीकै सबैभन्दा पुण्य प्राप्त गर्नु हो । अन्त कतै सामान्य ठाउँमा छिर्न त कति गाह्रो छ । झन् बडेबडे देशी-विदेशी मान्छेको मुखमा छिर्न को पाउँछ ? जो पायो त्यही छिर्न पाउँछ र तिनको मुखमा ? बच्चादेखि बालकसम्मको मुखमा छिर्न पाउनु कम चानचुने कुरा हो र ?
सानादेखि ठूला मान्छेले अति नै खुशी भई भई हाल्छन् आफ्नै मुखमा मलाई । म झुपडीदेखि पाँचतारे होटल, स्यालदरबारदेखि सिंहदरबार, बालुवाटारदेखि खुमलटार, बूढानिलकण्ठदेखि नागार्जुन जङ्गल, उत्तर–दक्षिण-पश्चिमका भान्साहरूमा निःशर्त पस्न र बस्न पाउँछु । बरु, हावापानीलाई रोकावट होला मलाई कुनै रोकावट हुँदैन । इन्द्रेको बाउ चन्द्रेले पनि नआइजे भन्न सक्दैन मलाई । मलाई कसैले कहिल्यै कुनै निगरानी गर्न पाउँदैन ।
चम्चा हुन पाउनुका फाइदै फाइदा छन् । गुरुको भान्सा या थाल–प्लेटमा पस्न र बस्न पाउँदा जाँचमा सधैँ बढी अङ्क पाइन्छ । गुरुले सधैँ प्रशंशै प्रशंशा गरिदिनुहुन्छ । साथीकाँ बस्दा साथीले सधैँ सापट दिन्छ । नेताकाँ जान पाउँदा जहिल्यै पनि शक्तिमा पुग्न र पद पड्काउन पाइन्छ । हाकिमको मुखमा छिर्न पाउँदा अवसरबाट कहिल्यै गुमनाम हुनुपर्दैन । प्रेमी या प्रेमिकाको साथमा हुँदा अपार प्यार पाइन्छ । सम्पादकज्यूको भान्छामा जाँदा सधैँ मिडियामा छाउन पाइन्छ । यस्तै यस्तै । त्यसैले त म आजीवन चम्चा नै बन्न चाहन्छु ।
तपाईं पनि बन्नुुस् है मजस्तै सुन्दर चम्चा । तपाईँ आफ्नो कमजोरी देख्नुहुन्न र त जीवनभर दुःख पाइरहनुहुन्छ । यो जमनामा यस्ता कुरा बुझ्नुहुन्न र त कहिल्यै सफल हुनुहुन्न नि । नाँच्न जान्नुहुन्न अनि अरुलाई गाली गर्नुहुन्छ । आफ्नो समस्याको पहिचान गर्नुहुन्न अनि कर्म-भाग्यलाई सराप्नुहुन्छ । मजस्ता यस्ता राम्रा चम्चाहरूको झ्याँको झारेर ठूलो-घमण्डी बन्नुहुन्छ अनि कहिल्यै प्रगति गर्नसकिन भनेर नौटङ्की गर्नुहुन्छ । अबउप्रान्त मजस्तै चम्चा बन्न सिक्नुस् न तपाईँका दिनहरू सधैँ शुभ हुनेछन् ।