”अस्वस्थ बन्नु छैन भने चुरोट, खैनी, जाँडरक्सी खानै भएन । पेनकिलर औषधि धेरै प्रयोग गर्न भएन । सिटामोलले छुँदैन निम्स, ब्रुफिनले च्वाट्ट पार्छ भनेर जथाभावी प्रयोन नगरौँ । त्यसले मिर्गौलालाई एक लात हान्छ । उच्च रक्तचाप, मधुमेह ठीक अवस्थामा राख्नुहोस् । पानी प्रशस्त पिउनुभयो, व्ययाम गर्नुभयो, चुरोट, खैनी खानुभएन, स्वस्थ खाना खानुभयो, समयमा सुत्नुभयो, उठनुभयो, रक्तचाप, मधुमेह ठिक राख्नुभयो भने मिर्गौला ठीक हुन्छ । वर्षमा एकपटक पिसाब र क्रेटिनिन रगतमा पनि जाँच्नुहोस् । रगतमा क्रेटिनिन बढेको छैन भने मिर्गौला बिग्रिएको छैन भन्ने कुरा थाहा पाउन सकिन्छ ।”
मानिस दुईवटा मिर्गौला लिएर जन्मन्छ । अधिकतम सबैजना दुईवटा मिर्गौला लिएरै जन्मन्छन् । कोही कोही एउटा मिर्गाैला लिएर पनि जन्मन्छन् । तर एउटा मिर्गौला पनि बलियो र स्वस्थ रह्यो भने पूरा जीवन पनि धान्न सक्छ । हाम्रो जीवनशैलीले कहिलेकाहीं मिर्गौला बिगारिदिन्छ । जीवनशैली ठीक भए पनि मिर्गौलामा रोग आउँछ । उच्च रक्तचाप, मधुमेह, दुखाई कम गर्ने औषधिले देखिने प्रभाव मिर्गौलामा पर्छ । तर सबैभन्दा ठूलो कुरा मिर्गौलामा प्रभाव परिरहेको छ तर मान्छेले केही पनि थाहा पाउँदैनन् । त्यसैले बिरामी जहिले पनि अन्तिम अवस्थामा अस्पतालमा आउँछ । बिरामीको सङ्ख्या बढेको देखिनुमा एउटै मात्र कारण छ ।
पहिलो कारण देशमा डाइलासिस सुविधा निःशुल्क गराइयो । सरकारले रोग पत्ता लगाए पनि भोलि उपचार गर्न पाइने भएपछि मान्छेले जाँच गराउन थाले । दुई दशक अगाडि जाँच गराउँदा घरबार जान्थ्यो । त्यसैले मान्छेले जाँच गराउँदैनथे । पछिल्लो समयमा जाँच गराउने प्रविधि गाउँ–गाँउसम्म पुगेको छ । त्यसले गर्दा सुविधा भएका व्यक्ति आउन सक्ने वातावरण बनेकाले बिरामीहरु बढी देखिएका हुन् । अर्कोतर्फ बिग्रँदो जीवनशैली पनि कारक हो । हामी के खाँदैछौ, हामी के गर्दैछाँं – हामी हिँड्न छोड्यौं, पानी पिउन छोड्यौं, स्वस्थ खाना खान छोडयौँ।
लक्षणबिहीन रोग
मिर्गौलाको कारणले पिसाबमा इन्फेक्सन हुने, पिसाब पोल्ने, छिटो छिटो जानुपर्ने हुन सक्छ । पिसाबमा रगत, पिप आउन सक्छ र पिसाब रोकिन सक्छ । दुखेर खपिनसक्नु होला । अर्थात मिर्गौलाको काम गर्न सक्ने क्षमता ह्रास हँुदै जाने हो । पछिल्लो समय माइक्रो पोलुसनले पनि मिर्गौलालाई असर गरोको छ । अब पेष्टिसाइडको त कसैले इन्भेस्टिगेशन गरेकै छैन। हामीले खाएका दुषित पदार्र्थले के नोक्सानी गरेको छ त्यो हामीलाई थाहा छैन ।
तपाँई रातभरी सुत्नुभएन भने त्यसको नकारात्मक असर शरीरमा पर्दछ । खाने समयमा नखाने, सुत्ने समयमा नसुत्ने, पानी यथेष्ट नपिउने भन्दा पनि हामीलाई खान नहुने कुरा बढी मनपर्छ । रेस्टुरेन्टमा गएर फास्टफुड खान मनपर्छ । तपाईलाई छिटो खाना दिन्छ । छिटो खाना बनाएर आएको छ भने यो संसारबाट पनि तपाईलाई छिटो बिदा गर्छ । यी चिजको तालमेल नमिलेर हाम्रो जीवनशैली बिग्रियो ।
हाम्रा हजुरबुबाहरु कति धेरै हिँड्थे, उनीहरुको हिँडने बाहेक विकल्प केही थिएन । हिँडनु जीवनशैली थियो तर मोटरसाइकलमा र गाडीमा दौडिने हाम्रो जीवनशैली भयो । हिँड्न हामीले बिर्सियौँ । अर्काे कुरा, यति जलाशय, पानी भएको देशमा पिउने पानी नै नपाइने भयो । पिउने पानी नै बिर्सियौं, नियमित व्यायाम गर्न छोड्यौँ । बाटाघाटाका कारण दैनिक नहिंडे पनि योग गर्न त बाटो चाहिँदैन नि । बिहान एक घण्टा योग गर्न सकियो भने अझ राम्रो हुन्थ्यो नि ! खोइ गरेको ? प्रणायाम योग सिक्न जाने भन्दा आटा, टुथपेष्ट, साबुनलगायतका सामान किनेर ल्याउँछौ । हामीले जीवनशैली र खानपानलाई सही तरिकाले अपनाउन नजानेर मिर्गौैलामा रोग लागेको हो ।
सबैभन्दा ठूलो कुरा, लक्षण देखा परेन भनेर नर्कुनुहोस् । बाहिरबाट म स्वस्थ छु भनेर बस्नुहुन्छ भने ठूलो समस्या आउन सक्छ । करिब तीन करोड जनसङ्ख्यामा ३० लाख व्यक्तिको मिर्गौला बिग्रिन थाल्यो, तीन लाखको बिग्रिएको पत्तै छैन, ३० हजार नराम्रोसँग मिर्गौला बिगारेर बसेका छन् । प्रतिवर्ष तीन हजार व्यक्ति डायलालसिस नपाए मर्ने अवस्थामा छन् ।
यसले उमेर समूह, धनी र गरिब कसैलाई छोडदैन् ।
केही समयअघि सात दिनको बच्चाको मिर्गौला बिग्रियो भनेर डायलासिसका लागि ल्याइयो । सात दिनको बच्चाको हामीले गर्ने गरेका छैनौं भनेपछि उहाँहरुले भन्नुभयो– हामी जताततै गयौं, कतै रहेनछ । यस्तै, १०२ वर्षको बा केही दिन अगाडि आउनुभएको थियो । उहाँको मिर्गौलामा समस्या प¥यो भनेपछि कुनै उमेर हेर्दो रहेनछ यसले । पहिलोहामी ३० वर्ष पुगेपछि मिर्गौला जाच्ँनुपर्छ भनिन्थ्यो । १६ वर्षको बच्चाको त कुरा गरिंदैनथ्यो । हाम्रो देशमा परिवर्तन भएछ अब । स्कुल जाने बच्चादेखि सबै उमेर समूहकाले वर्षमा एक पटक पिसाब जाँच्नु पर्यो ।
नेपालमा गरिबलाई भन्दा धनीलाई लाग्ने गरेको भन्ने कुरा पनि गलत हो । काठमाडौँमा डेरा गरेर बस्ने र डायलासिस गर्न सक्ने व्यक्तिलाई धनी भन्ने हो भने धनीको परिभाषा परिर्वतन भएको मान्नुपर्छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रको तथ्याङ्कमा नयाँ आउने नर्सहरुलाई तालीम दिँदा उनीहरुले गरेको अध्ययनका अनुसार ६० प्रतिशत सेवा लिने सेवाग्राहीहरु जनजाति र गरिब निम्न मध्यमवर्गीय थिए । अहिले अपठ्यारो परेको निम्न मध्यम वर्गलाई हो । उच्च मध्यम वर्गलाई समस्या नहोला । उच्च आय भएकाको त कुरै छोडौं ।
अहिले नेपाल सरकारले निःशुल्क डायलासिस दिएकाले आज गरिब जनताले राहत पाएका छन् । दुई दशक अगाडि पैसा नभएकाले डायलासिस गर्न नसकेर आफन्त गुमाउने अवस्था थियो । त्यो बेला मेरो परिवारको सदस्यलाई बचाउन सकिन भन्ने व्यक्तिहरु प्रशस्त थिए भने आज त्यो स्थिति छैन तर दिनानुदिन बिरामीको संख्या भने बढ्दो छ । डायलासिस मेशिनको सुविधा त छ तर सिमित । असिमित बिरामीलाई सिमित डायलासिस सुविधा दिन खोज्दा समस्या भइरहेको छ । सरकारले पैसा, डायलासिस सुविधा त दियो तर डायलासिस लिन हामी गरिब भयौं । डायलासिस पाएर घर जाँदा यातायातले हामीलाई खायो, यातायात हामीलाई सहज रुपमा भएन ।
मिर्गाैला कसरी स्वस्थ राख्ने
शरीर स्वस्थ राख्न दिनको सुरुवात एक गिलास पानीबाट गर्नुहोस् । दिनभरमा दुईदेखि तीन लिटर पानी पिउनुस् ताकि दुईदेखि तीन लिटर पिसाब होस् । कति पानी पिउनुहुन्छ होइन, कति पिसाब फेर्नुहुन्छ भन्ने महत्वपूर्ण हो । अर्को कुरा कति पाइला हिँड्नुहुन्छ भन्ने हो । दिनमा १० हजार पाइला दिनमा हिँडनुस्, कसरत गर्नुहोस् । के खाँदै हुनुहुन्छ त्यसमा ध्यान दिनुस् । एकपटक सोच्नुस् यो खाना स्वस्थकर छ या छैन भनेर । चिल्लो, पिरो मसला भएको कुरा नखानुस् । जसले चुरोट खैनी खान्छ, त्यसले भगवान मान्छ भने भगवान, नेचर मान्छ भने नेचरलाई निवेदन दिएको हो – म स्वस्थ भएँ अस्वस्थ बनाइदेउ भनेर ।
लापरवाही गरेपछि स्वस्थबाट अस्वस्थ बन्न धेरैबेर लाग्दैन । यदि अस्वस्थ बन्नु छैन भने चुरोट, खैनी, जाँडरक्सी खानै भएन । पेनकिलर औषधि धेरै प्रयोग गर्न भएन । सिटामोलले छुँदैन निम्स, ब्रुफिनले च्वाट्ट पार्छ भनेर जथाभावी प्रयोन नगरौँ । त्यसले मिर्गौलालाई एक लात हान्छ । उच्च रक्तचाप, मधुमेह ठीक अवस्थामा राख्नुहोस् । पानी प्रशस्त पिउनुभयो, व्ययाम गर्नुभयो, चुरोट, खैनी खानुभएन, स्वस्थ खाना खानुभयो, समयमा सुत्नुभयो, उठनुभयो, रक्तचाप, मधुमेह ठिक राख्नुभयो भने मिर्गौला ठीक हुन्छ । वर्षमा एकपटक पिसाब र क्रेटिनिन रगतमा पनि जाँच्नुहोस् । रगतमा क्रेटिनिन बढेको छैन भने मिर्गौला बिग्रिएको छैन भन्ने कुरा थाहा पाउन सकिन्छ । यति दुईटा कुरा गरियो भने रोग ठ्याक्कै पत्ता लगाउन सक्छौं ।
कति समयमा जाँच गराउने ?
कम्तीमा वर्षको एकपटक रगत जाँच गर्नुस् । यदि पुरानो रोग मिर्गाैलामा समस्या देखा पर्न थालेको छ भने छ महिनामा गर्नुपर्ला । सामान्यतया स्वस्थ शरीर राख्न प्रयत्न गर्ने व्याक्तिले वर्षमा एकपटक रगतमा क्रेटिनिन र पिसाबमा प्रोटिन जाँचे पुग्छ ।