प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेको एक साता पुरा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौंला प्रत्यारोपणको पछि हुन सक्ने संक्रमणबाट जोगाउन उहाँलाई अझै केही समय अस्पतालमा राख्नु पर्ने बताइएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज पत्रकार सम्मेलन गरी संक्रमणको जोखिम कम गर्न प्रधानमन्त्री ओलीलाई थप केही दिन अस्पतालमा नै राख्ने निर्णय भएको जानकारी दिएको हो ।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार देखिएको छ । दैनिक हुँदै आएको पत्रकार सम्मेलनमा आज भने चिकित्सकहरुले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्दाका अनुभव सुनाएका छन् । उपचारमा संलग्न चिकित्सकहरूको अनुभव यस्तो रह्यो ।
प्रा.डा. दिव्या सिंह शाह (बरिष्ठ मिर्गौला रोग बिषेषज्ञ तथा प्रधानमन्त्रीका निजी चिकित्सक)
प्रधानमन्त्रीज्यूको पहिलोपटक प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्न छाडेपछि केही महिना डाइलासिस सुरु गरियो । तर उहाँलाई मैले सोही समयदेखि नै मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएकी थिएँ । मिर्गौलाको डाइलासिसमा भन्दा प्रत्यारोपणमा बिरामीको स्वास्थ्य राम्रो हुन्छ ।
मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यमा कतिको सुधार आउँछ भने पहिला प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरियो । परीक्षणपछिको स्वास्थ्य रिपोर्ट राम्रो हुने देखियो । दाता खोज्न सुरु गरियो ।
करिब ६ दाता मिर्गौला दिन तयार हुनुभएको थियो । उहाँहरूको मिर्गौला र स्वास्थ्य परीक्षण पनि गरियो । जुन हामीले करिब ४ महिनादेखि दाताहरूको मिर्गौला परीक्षण गर्ने काम गरेका थियौं । तर सबै परीक्षण गर्दा दानपछि कुनै समस्या नदेखिने भएपछि समीक्षा संग्रौलाको मिर्गौला प्रत्यारोपण गर्न सकिने देखियो । उहाँलाई तयारी रहन भनियो । प्रधानमन्त्रीको एक महिनाअघि त्रिवि शिक्षण अस्पतालमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णय गरेका थियौं । उहाँको दोस्रोपटकको मिर्गौला प्रत्यारोपण सफल भयो । अहिले उहाँको स्वास्थ्य सुधारोन्मुख छ । केही दिनमा डिस्चार्जको तयारी पनि गरेका छौं ।
प्रा.डा. उत्तमकुमार शर्मा (त्रिवि शिक्षण अस्पतालका बरिष्ठ मिर्गौला प्रत्यारोपण सर्जन तथा नेफ्रोलोजी विभाग प्रमुख)
देशका प्रधानमन्त्री यस त्रिवि शिक्षण अस्पतालाई विश्वास गरेर उपचारका लागि आउने भनेको सुन्दा खुसी लागेको थियो । अझ उहाँ उपचार गर्न आउनु भनेको हाम्रो टिमका लागि चुनौती र अवसर दुवै थियो । चुनौती पनि यो अर्थमा थियो कि देशका प्रधानमन्त्री लामो समयपछि नेपालमै ठूलो शल्यक्रिया गर्न लाग्नुभएको छ । तर प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्नेभन्दा हामीलाई अलिकति मनोवैज्ञानिक तनाव पनि भएको थियो । तनाव भयो भन्ने यस अर्थमा थिएन कि हामी फेरि तयार थिएनौं भन्ने होइन ।
अहिले प्रधानमन्त्रीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण सफल भयो । हाम्रो देशमा पनि राम्रा सक्षम डाक्टरहरू छन् भन्ने सबैलाई थाहा भएको छ । प्रधानमन्त्रीले नेपालमै मिर्गौला प्रत्यारोपण गर्नुभयो अब विदेश जाने परिपाटी रोकिन्छजस्तो लाग्छ ।
प्रा.डा. सुवास आचार्य (त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर युनिट प्रमुख)
प्रधानमन्त्रीज्यूको मिर्गौला प्रत्यारोपण यही त्रिवि शिक्षण अस्पतालमा गर्ने तयारी रहनुहोला भन्ने अस्पताल प्रशासनबाट खबर आयो । करिब ४ दिनअघि हामी सक्रिय रूपमा तयारीमा जुटेका थियौं । आफूले आईसीयू, कर्मचारीलगायतको व्यवस्थापन गर्नुपर्ने थियो । देशका प्रधानमन्त्री उपचार गर्न आउँदा खुसी लागेको थियो । तर, अर्को कतै बिग्रेला कि भन्ने डर भने थियो । प्रत्यारोपण सफल भयो खुसी बढेको छ भने अझै पनि हामी सक्रिय रूपमा लागिरहेका छौं ।
प्रा.डा. प्रेम ज्ञवाली (बरिष्ठ मिर्गौला प्रत्यारोपण सर्जन)
त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि प्रधानमन्त्री आउँदै हुनुहुन्छ भन्ने सुन्दा खुसीसँगै चुनौतीसमेत थपिएको अनुभव गरेको थिए । भोलि के होला कसो होला भनेर प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने अघिल्लो रातभर निदाउन सकिनँ । रातभर मनमा कुरा खेलिरहेका थिए । २१ गते बुधबार बिहान अस्पताल आए । बिहान करिब १० बजे प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपण गर्ने भनेर अप्रेसन थिएटरमा लगियो ।
त्यहाँ अन्य सामान्य मानिसलाई भन्दा र प्रधानमन्त्रीको उपचारमा केही फरक थिएन । मिर्गौला दान गर्ने समीक्षाजी र प्रधानमन्त्रीज्यूको शल्यक्रिया एकैपटक सुरु गरिएको थियो । युरोलोजी तथा मिर्गौला विभागबाट सात सर्जन खटिएका थियौं । करिब ३ बजे उहाँको दोस्रोपटक मिर्गौला प्रत्यारोपण सफलपूर्वक गरिसकेका थियौं ।
वैज्ञानिक तथ्यांकअनुसार मिर्गौला दान गर्ने र दान नगर्ने मानिसको तुलनात्मक जीवनशैली केही फरक आउँदैन । मिर्गौला दान गर्नेले समय–समयमा मिर्गौला जाँच गर्नुपर्छ । नेपालकै अस्पताल र नेपालकै चिकित्सक छान्नुभयो जुन हामीप्रतिको एक विश्वास पनि थियो । देशैभरका मानिसमा त्रिवि शिक्षण अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण हुँदो रहेछ भनेर जानकारी पनि भयो । अब अंग प्रत्यारोपण गर्न विदेश जाने परिपाटी केही रोकिन्छ भन्ने लागेको छ ।
प्रा.डा. जगदिश प्रसाद अग्रवाल (चिकित्साशास्त्र अध्ययन संस्थानका डिन)
शल्यक्रियाको पिडा कम गर्न, घाउ छिटो निको गराउन र निरन्तर सुतिरहँदा मांशपेशीमा आउन सक्ने सिथिलता कम गर्न प्रधानमन्त्री ओलीलाई नियमीत हिड्डुल तथा विभिन्न व्यायाम र थेरापिहरू समेत गराईरहेको छ ।
ओलीको गत बुधवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन उनी सोमवार अस्पताल भर्ना भएका थिए।
गत बुधबार प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।