माइक्रोसफ्टबाट बिल गेट्सको राजीनामा : अब सामाजिक सेवामा सक्रिय रहने

बिल गेट्सले माइक्रोसफ्टको कार्यकारी महानिर्देशकबाट राजीनामा दिएका छन् । सामाजिक सेवामा सक्रिय रहने भन्दै उनले पदबाट राजीनामा दिएको माइक्रोसफ्टले जनाएको छ । उनले बेर्कसायर हाथावे नामको कम्पनीबाट पनि राजीनामा दिएका छन्।

फोब्स पत्रिका अनुसार उनी विश्वका दोश्रो धनी व्यक्तिको रुपमा स्थापित छन् । अमेजनका संस्थापक जेफ बेजोस्पछि बिल गेट्सको १०३.६ अर्ब अमेरिकी डलर बराबरकाे सम्पत्ति रहेको छ ।

६५ वर्षीय गेट्सले विश्वको स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा बढी काम गर्न बताउँदै राजीनामा दिएका हुन् । अब बिल गेट्स प्राविधिक सल्लाहकारको रुपमा मात्र कम्पनीमा रहनुहुने बताइएको छ ।

उनले सन् १९७५ मा पाउल एलनसँग मिलेर माइक्रोसफ्ट कम्पनी स्थापना गरेका थिए । सन् २००० सम्म बिल गेट्सले माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरे ।

माइक्रोसफ्टको हालका प्रमुख कार्यकारी निर्देशक सत्या नडेलाले बिल गेट्ससँग काम गर्न पाउनु आफ्ना लागि गौरवको कुरा भएको बताएका छन् । बीबीसी


ताजा खबर