राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र जापानबीचको मित्रता ऐतिहासिक, विश्वासमा आधारित र बहुआयामिक रहेको बताउनुभएको छ ।
जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलले जापानको टोकियोमा रहेको नेपाली राजदूतावासकाे आज अवलाेकनका क्रममा राजनीतिक, आर्थिक, विकास साझेदारी, शिक्षा, प्रविधि तथा मानव संशाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न थप सक्रिय कूटनीति अवलम्बन गर्न आग्रह गर्नुभयो ।
विदेशमा रहेका नेपाली नियोगहरु नेपाल सरकारका विस्तारित अङ्गहरु भएकाले यसको सेवा प्रवाहमा सरलता, पारदर्शिता र समयबद्धता अनिवार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
यहाँ रहेका श्रमिक तथा विद्यार्थीहरूको अधिकार, सुरक्षा र मर्यादाको संरक्षण दूतावासको प्राथमिक दायित्व भएको उल्लेख गर्दै उहाँले उनीहरूका समस्या, गुनासा र आवश्यकताहरूलाई संवेदनशीलताका साथ सुन्ने र समयमै समाधान गर्ने संयन्त्रलाई थप सुदृढ बनाउन जोड दिनुभयो ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा सहभागी हुन सोमबार यहाँ आइपुग्नुभएको हो ।
उहाँले यसअघि आजै जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो भने जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले उहाँसँग शीष्टाचार भेट गर्नुभएको थियो । जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानका सम्राट र प्रधानमन्त्रीसँग पनि शीष्टाचार भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ ।
सो अवसरमा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहर कान्त पौडेलले दूतावासले गर्दै आएको काम, दिएको सेवा, भोगेको समस्या तथा दुई देशबीचको सम्बन्ध विस्तारमा खेलेको भूमिकाबारे चर्चा गर्नुभएको थियो । रासस




















