नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ।
ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशबाट पहिलो मत खसाल्नुभएको हो। मतदानका लागि प्रतिनिधिहरू बिहानैदेखि लाइनमा बसेका थिए।
८१ वर्षीय शोभाकान्त बराल मत खसाल्दै
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। महाधिवेशनमा कुल ७ हजार ३ सय १७ जना प्रतिनिधि रहेका छन्।
खराब मौसम, प्राविधिक समस्या र मतपत्र छपाइमा भएको ढिलाइका कारण हिजोका लागि तय गरिएको मतदान आज बिहान सारिएको निर्वाचन समितिले जनाएको छ। रातिको समयमा मतदान गर्दा प्रतिनिधिहरूलाई असहज हुने भएकाले पनि समय परिवर्तन गरिएको समितिको भनाइ छ।
मतदानका लागि विभिन्न प्रदेश तथा समूहअनुसार छुट्टाछुट्टै केन्द्र निर्धारण गरिएको छ। प्रतिनिधिहरूले आफ्नो परिचयपत्र र मतदाता नामावली रुजु गराएपछि मात्रै मतदान गर्न पाउनेछन्। निर्वाचन आचारसंहिताले निषेध गरेका मोबाइल फोनलगायतका सामग्री मतदानस्थलमा लैजानसमेत रोक लगाइएको छ।
यसैबीच, महाधिवेशन एक दिन लम्बिएपछि शुक्रबारको होटल बसाइ र खानाको खर्च पार्टीले नै बेहोर्ने आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले जानकारी दिनुभएको छ।
मतदान सम्पन्न भएपछि आजै मतगणना सुरु गर्ने निर्वाचन समितिको तयारी छ। मतगणना पूरा भएपछि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन परिणाम सार्वजनिक गरिनेछ।
कांग्रेसको १५औँ महाधिवेशनले विधान संशोधन गर्दै केन्द्रीय कार्यसमिति २ सय ९७ सदस्यीय बनाएको छ। नयाँ कार्यसमितिका लागि सभापतिसहित विभिन्न पदमा प्रतिस्पर्धा भइरहेको छ। मतदानपछि आउने परिणामले पार्टीको आगामी नेतृत्व र संगठनात्मक दिशा निर्धारण गर्नेछ। रासस