डा. भोला रिजालको शब्द रचना रहेको राष्ट्रिय भावले ओतप्रोत गीत ‘अन्धकार पन्छाएर’ श्रोता तथा दर्शकमाझ आएको छ । सरला रिजाल प्रस्तुतकर्ता तथा गायक शिव परियारको स्वर तथा शंकर थापा स्माइलको संगीतमा तयार भएको यो गीतको आकर्षक भिडियो शनिवार सार्वजनिक भएको छ ।
विरेन्द्र भाट ‘विपिन’ को निर्देशन रहेको गीतको भिडियोमा वरिष्ठ कलाकार रमेश बुढाथोकी, डा.नवीन यादव, विष्णु रोक्का, जयन्त रेग्मी, सुशील श्रेष्ठलगायतको अभिनय छ । सरला रिजालको प्रस्तुति रहेको भिडियोलाई महेश महाराले छायांकन गरेका हुन् भने सम्पादन वीरेन्द्रकै रहेको छ ।
देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सार्वजनिक भएको गीत निकै शसक्त जागरण गीत रहेको छ । वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको गीतको भिडियो बिआर प्रोडक्सनमार्फत सार्वजनिक भएको हो ।
हामी फुटेर होइन, जुटेर अघि बढौं भन्ने धारणाले यो राष्ट्रभावको गीत तयार भएको गीतकार डा.रिजालको भनाइ छ । गीतले देश विकासमा जुट्न तथा परिवर्तनका पक्षमा लाग्न सन्देश प्रवाह गरेको छ । जाग यूवा जाग देश निर्माणमा लाग भन्ने गीतले आह्वान गरेको छ ।
डा.भोला रिजाल शब्द, संगीत र स्वरका त्रिवेणी प्रतिभा हुन् । उनले रचना गरेको पहिलो रेकर्डेड २०२० साल० गीत ‘म मान्दिनँ जात र धर्म कसैको’ हो भने २०२६ सालमा रेकर्ड भएको ‘मेरो पौवा पाटी’ उनको स्वरको पहिलो रेकर्डेड गीत हो । डा. रिजालकै रचना, संगीत र स्वरमा रेकर्ड भएको यो गीत उनको सांगीतिक इतिहासको दस्तावेज नै बनेको छ ।
डा.रिजाल विसं २००४ साल कात्तिक १४ गते धरानको पुरानो बजारमा जननीप्रसाद रिजाल र पूर्णमाया रिजालको साहिँलो सन्तानको रूपमा जन्मिएका हुन् । उनी सानैदेखि हरेक क्षेत्रमा उत्तिकै सक्रिय थिए । साहित्यसँगै सामाजिक कार्य र खेलकुद गतिविधिमा समेत उनको विशेष रुचि थियो । एसएलसीको तयारी गर्दै गर्दा १५ वर्षका डा.भोला रिजालको विवाह १२ वर्षीय सरला घिमिरेसँग भएको थियो । कला र साहित्यको वंशाणुगत गुण लिएर आएका डा. भोला रिजालका हजुर बुबा ध्रुवलाल र बुबा जननी प्रसाद रिजालमा पनि अब्बल साहित्यिक शिल्प थियो ।
नौ कक्षासम्म धरान पब्लिक स्कुलमा अध्ययन गरेका डा.रिजालले एसएलसी भने विराटनगरबाट दिएका थिए । हिमकला मन्दिरबाट ‘कानुनकी आखेमे’ जस्ता नाटक देखाउन उनको समूह भारतको वीरपुर, जोगवनी, फार्विसगञ्जसम्म पुग्ने गर्थ्यो । एसएलसीपछि आईएस्सी पढ्न वनारस गएका रिजालले त्यहाँ पुगेर पनि कलाकारितालाई निरन्तरता दिएका थिए ।
अहिलेसम्म ३५ सयभन्दा बढी गीत लेखिकेका रिजालका स्वरमा ३०० भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । गीति लेखनका हिसाबले करिब ६ दशक पुगिसकेको छ ।
पेशाले चिकित्सक भए पनि साहित्य सिर्जनामा सदैब दत्तचित्त भएर लागिरहेका कलाकार तथा सर्जक रिजालका मेरो पौवा पाटी, ईश्वर आफैँ बोल्छ, मेरी सान्नानी, शुभकामना, सगरमाथा रोइरहेछ, सारंगीको तार टुट्यो, यात्रा, पप कर्न’ लगायत १३ वटा गीति एल्बम प्रकाशन भइसकेका छन् । त्यस्तै, उनले ठूलो पर्दाका फिल्महरु लक्ष्मी पूजा, छोरी बुहारी, जून तारा, साथी, एक नम्बरको पाखे, अप्सरा, उकाली–ओराली तथा गौँथली गरि आठ वटा फिल्म निर्माण गर्नुका साथै ती फिल्ममा कथा लेखन र गीत लेखन समेत गरेका छन् । यीमध्ये ‘गौँथली’ गीति चलचित्र हो, जसमा महिला हक अधिकार र छोरीलाई शिक्षा दिनुपर्छ भन्ने सन्देश रहेको छ ।
डा.रिजालका ‘मलाई पनि अंग्र्रेजीमा बोल्न सिकाइदेऊ न, निधारमा रातो माटो शिरमा टोपी राखेँ, भागेर भए पनि आऊ जस्ता दर्जनौं गीत लोकप्रिय छन् । डा. रिजाल यतिबेला पनि गीत लेखन र जीवनी लेख्ने क्रममा नै रहेका छन् ।





















