प्रधानमन्त्री सुशिला कार्कीले आइसीसी टी–२० विश्वकपको पहिलो खेल खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिनुभएको छ।
विश्वकपको समूह ‘सी’ मा रहेको नेपालले आज इङ्ल्यान्डविरुद्ध दिउँसो ३:१५ बजे खेल खेल्दैछ।
प्रधानमन्त्री कार्कीले कप्तान रोहित पौडेल नेतृत्वको टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति देखाउने विश्वास व्यक्त गर्दै इङ्ल्यान्डसँगको आजको ऐतिहासिक खेलअघि सिङ्गो राष्ट्रको तर्फबाट शुभकामना दिनुभएको हो ।
उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ , “आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुन्जिनेछ र त्यो विश्वले सुन्नेछ। कप्तान रोहित पौडेलको टोलीले देखाउनेछ नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति। तेस्रोपटक टी–२० विश्वकप खेलिरहेको नेपालसँग संसारभर फैलिएका प्रशंसकको साथ र विगतका सफलताका अनुभव छन्। इङ्ल्यान्डसँगको आजको ऐतिहासिक भेटअघि सिङ्गो राष्ट्रको तर्फबाट शुभकामना! विजयी भवः।”




















