पेटभित्रको बच्चाको मुटु परीक्षण गर्ने फिटल इकोकार्डियोग्राफी

~ डा. सुवास चन्द्र साह 

पिडियाट्रिक कार्डियोलोजिष्ट

गर्भावस्थामा धेरै कुराको परीक्षण गर्नुपर्छ । परीक्षणबाट नै गर्भमा रहेको बच्चाको अवस्थाबारे थाहा हुन्छ । शिशुको शरीरका अंगहरु कतिको विकसित भइरहेको छ ? भन्ने थाहा पाउने परीक्षणमध्ये एक हो फेटल इकोकार्डियोग्राफी ।

अल्ट्रासाउण्ड जस्तै प्रविधिबाट गर्भवती महिलाको पेटभित्रको बच्चाको मुटु परीक्षण गर्ने प्रविधिलाई फिटल इकोकार्डियोग्राफी भनिन्छ । यसले गर्भवती महिलाको गर्भमा हुर्किरहेको भ्रुणको मुटुलाई प्रष्ट देखाउँछ । मुटु स्वास्थ्य, यसको विकासको परीक्षण गर्ने यो प्रविधिले भ्रुणको मुटुको संरचना र कार्यक्षमतालाई विस्तृत रुपमा अवलोकन गर्न मद्दत गर्छ । मुटुमा कुनै प्रकारका चालसम्बन्धी गडबडीलाई पनि पहिचान गर्न यस प्रविधिले मद्दत गर्न सक्छ । गर्भभित्रको बच्चाको मुटुको समस्यालाई समयमै पहिचान गर्न, उचित उपचारमा सहयोग पुर्‍याउनुका साथै पछि आउन सक्ने जोखिमको पूर्वतयारी गर्न पनि सहयोग पुर्‍याउँछ ।

यी अवस्थामा गराउनैपर्छ

निम्न लिखित अवस्थामा गर्भवती महिलाको बच्चाका फिटल इकोकार्डियोग्राफी गर्नुपर्छ । ताकि बच्चाको मुटुमा कुनै किसिमको जटिलता नदेखिओस् ।

-गर्भवती महिलामा दीर्घकालीन रोग भएमा जस्तै- मधुमेह, उच्च रक्तचाप, थाइराइड, ग्ल्याण्डका समस्या भएमा मुटुको धड्कनमा असर हुनसक्छ । यस्तोमा यो परीक्षण गराउन सल्लाह दिइन्छ ।

-लागूपदार्थ वा विषजन्य औषधिको प्रयोग

-अधिक मात्रामा धुम्रपान वा रक्सी सेवन गर्ने कुलत भएमा

-बच्चा गर्भमा बसेको पहिलो एकदेखि दुई महिनामा उच्च ज्वरो आउने, डाबर आउने र हाडजोर्नी दुख्ने समस्या भएमा

-आमाको उमेर १६ वर्षमुनि वा ३५ वर्षमाथि भएको वा आमामा कुपोषण (जस्तै) धेरै कम तौल वा चाहिएको भन्दा अत्यधिक तौल भएको खण्डमा

-आमामा स्वप्रतिरक्षी (सेल्फ इम्युन) रोग भएमा

-पहिला जन्मेको बालबालिकामा मुटुका जन्मजात समस्या भएमा वा अंगभंग भएर जन्मेका वा कुनै अन्य जन्मजात रोग बच्चा भएमा

-हाल गर्भमा रहेको भ्रूणको अन्य अल्ट्रासाउण्ड गर्दा अरु अंगमा केही त्रुटि भेटिएमा वा कुनै रोग हुनसक्ने आशंका भएमा

-परिवार वा अन्य नजिकका नातागोतामा मुटुरोगको इतिहास भएमा वा कसैको सानै उमेरमा अचानक मृत्यु भएको इतिहास भएमा

-गर्भमा रहेको बच्चाको धड्कनमा अनियमितता भेटिएमा

कहिले गर्ने कति लाग्छ शुल्क ?

सामान्यतया फिटल इकोकार्डियोग्राफी गर्भावस्थाको १८ देखि २० हप्ताको बीचमा गरिन्छ । स्वप्रतिरक्षा रोग हुने गर्भवतीको शिशुमा मुटुको चालको गडबडी हुने जोखिम हुन्छ । यसलाई समयमै पत्ता लगाई उपचार गर्दा यसको नतिजा राम्रो हुने हुँदा त्यस्ता महिलाले १६ हप्तादेखि नै फिटल इकोकार्डियोग्राफी गराउन सकिन्छ ।

यो परीक्षण शुल्क सरकारी अस्पतालमा दुई हजारदेखि २५ सयसम्म लाग्छ । निजी अस्पतालअनुसारको शुल्क तोकिएको हुन्छ ।

परीक्षण सामान्य स्क्यान जस्तै सरल

भ्रूण इकोकार्डियोग्राफी सामान्य स्क्यान जस्तै गरी गरिन्छ, जसमा गर्भवती महिलालाई खाना खाएर आउन सल्लाह दिइन्छ । यो प्रक्रिया गर्दा ४० देखि ४५ मिनेट लाग्छ । गर्भमा रहेको बच्चाको अवस्थाअनुसार यसले कम वा बढी समय लिन सक्छ । भ्रूण इकोकार्डियोग्राफी अनुभवी चिकित्सकबाट मात्र गराइन्छ ।

भ्रण इकोकार्डियोग्राफीको फाइदा 

-रिपोर्टमार्फत बच्चा स्वस्थ छ कि छैन भन्ने थाहा पाउन सकिन्छ ।

-गर्भमा रहेको बच्चाको मुटुको समस्या पत्ता लगाई उपचार कसरी हुन्छ भनेर निर्क्योल गर्न सकिन्छ ।

-शिशुको मुटुमा कुनै किसिमको समस्या देखिएमा बच्चाको मुटुको चिकित्सका साथै नवजात शिशुको आईसीयू (एनआईसीयू)को सुविधा भएको अस्पतालमा प्रसूति गराउन सल्लाह दिइन्छ ।

फिटल इकोकाडियोग्राफी कसले गर्छ ?

हाल नेपालमा पेडियाट्रिक कार्डियोलोजिस्ट एवं रेडियोलोजिस्ट चिकित्सकले उक्त सेवा प्रदान गरिरहेका छन् । विकसित देशहरुमा भने विशिष्ट चिकित्सकको टोलीले फिटल कार्डियाक इन्टर्भेन्सनमार्फत भ्रूणको मुटुको जन्मजात जटिल समस्यालाई गर्भमै निवारण गर्न सक्छन् ।

कार्डियाक इन्टर्भेन्सनमार्फत शरीरमा सफा अक्सिनयुक्त रगत जाने कडा भएका भल्बलाई बेलुनको सहायताले खोलिदिन्छ ।

साथै, अत्यन्त जटिल किसिमका मुटुरोग जसमा मुटुको माथिल्लो कोठाको भित्तामा प्वाल बनाएर ठूलो बनाइन्छ ।

कतिको सुरक्षित हुन्छ ?

यो परीक्षणमा कुनै जोखिम हुँदैन । किनकि यसमा कुनै किसिमको रेडिएसन प्रयोग हुँदैन । यो गर्दा दुखाइ पनि खासै हुँदैन ।

चिकित्सकको सल्लाहमा मात्र गरिन्छ यो परीक्षण

गर्भमा रहेको शिशुको परीक्षण चिकित्सकको सल्लाहमा मात्र गरिन्छ । बिना चिकित्सकको सल्लाह यो परीक्षण गैरकानुनी मानिन्छ ।

बरिष्ठ बाल मुटुरोग बिशेषज्ञ डा. साह गंगालाल अस्पताल तथा ॐ हस्पिटलमा कार्यरत हुनुहुन्छ


ताजा खबर