‘भ्यालेन्टाइन डे’ : प्रणय दिवस, अर्थात् प्रेम दिवस मनाइँदै

प्रणय दिवस, अर्थात् ‘भ्यालेन्टाइन डे’ आज उत्साहका साथ मनाइँदै छ । प्रत्येक वर्ष फेब्रुअरी १४ मा प्रेम दिवसका रूपमा यसलाई मनाउने चलन छ ।

नेपालसहित विश्वका विभिन्न देशमा प्रेमिल जोडीहरूले एकअर्कालाई शुभकामना दिँदै, भेटघाट गर्दै र उपहार साटासाट गर्दै दिवस मनाउने गर्छन् । ‘भ्यालेन्टाइन डे’ प्रेम, स्नेह र भावनाको अभिव्यक्ति गर्ने विशेष दिन हो ।

धुनिक समयमा यसको प्रभाव नेपालमा पनि तीव्र रूपमा बढेको छ । विशेषगरी युवा पुस्तामा फूल, चकलेट, कार्ड, उपहार र एकअर्कासँग समय बिताउने चलन लोकप्रिय बनिरहेको छ ।

यस दिनलाई ‘भ्यालेन्टाइन’ सप्ताहको अन्तिम दिनको रूपमा पनि मनाइन्छ । सप्ताहका अन्य दिनहरूमा रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, हग डे र किस डे मनाइएपछि फेब्रुअरी १४ मा प्रेम दिवसका रूपमा समापन गरिन्छ ।

व्यावसायिक क्षेत्रमा पनि यस दिनको प्रभाव स्पष्ट देखिन्छ । फूल, उपहार सामग्री, रेस्टुरेन्ट तथा मनोरञ्जन स्थलहरू विशेष सजावट, छुट र कार्यक्रमको आयोजना गर्दै जोडीहरूलाई आकर्षित गरिरहेका छन् । यो दिन प्रमुख सहरका क्याफे, पार्क र रेस्टुरेन्टहरूमा जोडीहरूको भिड बढी देखिन्छ ।

यद्यपि, कतिपयले ‘भ्यालेन्टाइन डे’लाई पश्चिमी संस्कृतिको प्रभाव भन्दै आलोचना गर्ने गर्छन् । तर, धेरैले यसलाई प्रेम र सम्बन्ध सुदृढ गर्ने अवसरको रूपमा हेरिरहेका छन् । समाजशास्त्रीहरूको भनाइ अनुसार यस्तो दिवसले सम्बन्धमा संवाद, सम्मान र भावनात्मक निकटता बढाउन सहयोग पुर्‍याउँछ ।

प्रेम, सम्मान र सकारात्मक सम्बन्धको महत्व सम्झिने अवसरका रूपमा लिइँदै नेपालसहित विश्वभर उत्साहका साथ प्रणय दिवस मनाइँदैछ । फूल र चकलेटका बीच जोडीहरूको मनमा प्रेम र खुसी फैलिरहेको दृश्यले सहरको वातावरणलाई रोमान्चक बनाउने गरेको छ । रासस


ताजा खबर