पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट आउने भक्तजनको चहलपहल बढेको छ। देश, विदेशबाट आएका साधुसन्त एवं भक्तजनका कारण पशुपति क्षेत्रमा मेला लागेको छ।

महाशिवरात्रिका अवसरमा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क भोजन सेवा, खानेपानी, चियालगायत सेवा गर्नेको पनि घुइँचो छ। कतिले सेवा सुरु गरिसकेका छन्भने कतिले सेवाको तयारी गरेका छन्। महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारी स्थलगत रूपमै खटिएर काम गरिरहेका छन्।

महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा शनिबार पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका भक्तजन। तस्बिर : हरिराम भेटुवाल/रासस

हंसमण्डप क्षेत्रको स्थलगत अनुगमनमा खटिनुभएका कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले यस वर्ष सफाइमा विशेष ध्यान दिइएको बताउनुभयो। पशुपति क्षेत्रमा आएका साधुसन्त र भक्तजनका लागि प्रभावकारी व्यवस्थापनमा कोष लागिरहेको उहाँले उल्लेख गर्नुभयो। यस वर्ष चार हजारदेखि चार हजार ५०० सम्म साधुसन्त आउने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो।

गत वर्षभन्दा यस वर्ष साधुसन्त बढी आउने अनुमान गरिएको कोषले जनाएको छ। पशुपति क्षेत्रमा सेवा दिइरहेका स्वयंसेवी संस्थाको दृष्टिमा भने यस वर्ष विगतमा भन्दा कम मानिस अघिल्लो दिन पशुपति क्षेत्रमा आएका कोषाध्यक्ष सापकोटाले बताउनुभयो।

हंसमण्डपमा भोजन सेवामा खटिनुभएका विनोद लीला अग्रवाल आज दिउँसो विगत वर्षभन्दा कम भक्तजन आएका उल्लेख गर्नुभयो। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण पनि मानिसको आवागमन कम भएको हुनसक्ने उहाँको अनुमान छ। महाशिवरात्रिका लागि पशुपति क्षेत्रलाई विशेष रुपमा सिँगारिएको छ। फूलमालाले विशेष रुपमा सिँगारेर आकर्षक बनाइएको छ।

महाशिवरात्रिको पूवसन्ध्यामा भक्तजनको घुइँचो
काठमाडौँ, २ फागुनः महाशिवरात्रि पर्व अघिल्लो दिन शनिबार दिउँसो देखिएको पशुपतिनाथ मन्दिर क्षेत्र दृश्य र भक्तजनजनको घुइँचो। तस्बिरः हरिराम भेटुवाल÷रासस

आर्यघाट र राममन्दिर क्षेत्रको वाग्मती किनारमा सफाइ

‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियानको ६६६औँ हप्ताको सफाइ पशुपति क्षेत्रस्थित राममन्दिरमुनिको नदी किनारमा गरिएको छ। फागुन ३ गते आइतबार महाशिवरात्रि पर्वको तयारीका लागि पशुपति क्षेत्रको राममन्दिर, आर्यघाटसँगै यहाँको नदी किनारमा सरसफाइ गरिएको हो।

सफाइमा कोषका सञ्चालक परिषद् सदस्य रामेश्वर सङ्गतसहित कर्मचारी, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, महानगर वातावरण विभागका प्रमुख सरिता राई, महानगर टेकुका प्रमुख मीनबहादुर थापासहित कर्मचारी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीलगायत जनप्रतिनिधि एवं स्थानीयवासीको सक्रियतामा आज त्यस क्षेत्रमा सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो।

आजको सफाइमा त्यस क्षेत्रबाट कुहिने र नकुहिने लगभग १८ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको पनि उहाँले जानकारी दिनुभयो। रासस 


ताजा खबर