एन्टिबायोटिक औषधिहरूको अविवेकी तथा अनावश्यक प्रयोगका कारण आज विश्वभरि नै गम्भीर चुनौतीका रूपमा देखा परेको समस्या भनेको एन्टिमाइक्रोबियल रेसिस्टेन्स (Antimicrobial Resistance) हो। आवश्यक अवस्थामा मात्र प्रयोग गर्नुपर्ने औषधिहरूको अनियन्त्रित प्रयोगले गर्दा कतिपय अवस्थामा ती औषधिहरूले अपेक्षित प्रभाव देखाउन छोड्ने अवस्था सिर्जना भइरहेको छ। यसले बिरामीको उपचार जटिल, महँगो र लामो बनाउनका साथै सार्वजनिक स्वास्थ्यमा दीर्घकालीन जोखिमसमेत बढाइरहेको छ।
यही संवेदनशील विषयलाई मध्यनजर गर्दै नेपालका विभिन्न स्वास्थ्य संस्थाहरूमा एन्टिबायोटिक स्टेवार्डसिप प्रोग्राम सञ्चालनमा ल्याइएको छ। यस कार्यक्रमको मूल उद्देश्य भनेको एन्टिबायोटिकको विवेकपूर्ण प्रयोगलाई प्रोत्साहन गर्नु, सही औषधि–सही मात्रा–सही अवधि सुनिश्चित गर्नु तथा औषधि प्रतिरोध क्षमतालाई न्यूनीकरण गर्नु हो।
यसै सन्दर्भमा, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. मा कार्यरत, नेपालकै पहिलो सघन उपचार (क्रिटिकल केयर) विषयका डक्टर अफ मेडिसिन (डि.एम.) तथा वरिष्ठ विशेषज्ञ एसोसियट प्रोफेसर डा. प्रमेश सुन्दर श्रेष्ठ सँग हामीले यस कार्यक्रमको आवश्यकता, चुनौती तथा प्रभावकारिताका विषयमा विशेष कुराकानी गरेका थियौँ। प्रस्तुत छ यस अर्थपूर्ण र ज्ञानवर्द्धक सफल कुराकानीको सम्पादित अंश …
एन्टिबायोटिक स्टेवार्डसिप कार्यक्रमको आवश्यकता किन ?
एन्टिबायोटिकले चिकित्सा क्षेत्रमा आमूल परिवर्तन गर्नुका साथै औसत मानव आयु २३ वर्षले बढाएको छ । एन्टिबायोटिकले क्यान्सर उपचार, अंग प्रत्यारोपण, ओपन हार्ट शल्यक्रियासहित धेरै आधुनिक चिकित्सा प्रक्रियाहरु सम्भव बनाएको छ । तर अहिले दुरुपयोग धेरै भएकाले एन्टिबायोटिक जति काम गर्नुपर्ने हो त्यति काम गर्न नसक्ने अवस्थामा पुग्दै छ । त्यसकारण अब उचित एन्टिबायोटिकलाई सही तरिकाले उचित व्यक्तिमा मात्र प्रयोग गर्नुपर्छ भनेर यो कार्यक्रम शुरु गरिएको हो । एन्टिबायोटिक स्टेवार्डसिप कार्यक्रम विदेशतिर शुरु भएको २० वर्षभन्दा बढी भैसक्यो । हामीले बल्ल शुरु गरेका छौँ ।
एन्टिबायोटिक स्टेवार्डसिप लक्ष्यअनुरुप कत्तिको प्रभावकारी भएको छ त ?
एन्टिबायोटिकको प्रयोग अस्पतालभित्रबाट मात्र हुँदैन, बाहिरबाट पनि भएको हुन्छ । हामीले शुरुवात अस्पतालभित्रबाट गरेको हो । किनभने अस्पतालमा प्रयोग गर्ने एन्टिबायोटिक पनि बिरामीको रोग अनुसारले उचित छ भने प्रयोग गर्नुपर्छ । कतिपय अवस्थामा ब्याक्टेरिया र भाइरसको संक्रमणको स्थिति पत्ता लगाउन अप्ठ्यारो परेको अवस्थामा पनि एन्टिबायोटिक दिएर हेरौँन भन्ने प्राक्टिस छ । यस किसिमको अभ्यासलाई परिवर्तन गर्न पनि हामीले यो शुरुवात गरेको हो । तर एन्टिबायोटिक अस्पतालमा मात्र प्रयोग भएको हुँदैन । चिकित्सकको पुर्जाविना औषधि बेच्न नहुने कानुनमा उल्लेख भए पनि अनुगमन नहुँदा बिरामीले जथाभावी एन्टिबायोटिक किन्न पाउँछन् । मेडिकल पसल, स्वास्थ्य चौकीमा एन्टिबायोटिक सजिलै पाउने हुनाले त्यो क्षेत्रमा पनि कसरी कडाइ गर्ने भन्ने प्रश्न छ ।
दोस्रो कृषि तथा पशुपक्षीहरुमा पनि एन्टिबायोटिक एकदमै धेरै प्रयोग हुन्छ । पशुपक्षी व्यवसायीले व्यवसाय फस्टाओस् भन्नका लागि एन्टिबायोटिकहरु प्रयोगमा वृद्धि गर्नाले कुखुरा, माछामासु, दूधमार्फत मानवशरीरमा एन्टिबायोटिक प्रवेश गरिरहेको छ । यसलाई मल्टिडिसिपिलिनरी भनिन्छ । यसको नियन्त्रण अस्पतालमा काम गर्ने चिकित्सकबाट सम्भव छैन । अस्पतालमै कम गर्न मात्र सम्भव छ । एन्टिबायोटिकको प्रयोगलाई अस्पतालबाहिर कम गर्न सकिएन भने बिरामीको स्वास्थ्यमा दीर्घकालमा पर्ने असर रोक्न सकिन्न । एन्टिबायोटिकको दुरुपयोग रोक्नका लागि कृषि, पशु, स्वास्थ्य सबै क्षेत्र मिलेर काम गर्नुपर्ने देखिन्छ ।
पशुपक्षी र कृषिमा प्रयोग भएको एन्टिबायोटिकको असर मानवशरीरमा कसरी पर्छ ?
एन्टिबायोटिकको जथाभावी प्रयोगले यसको काम गर्ने क्षमतामा ह्रास आएको देखिन्छ । बिरामीलाई एन्टिबायोटिकको उचित प्रयोग थाहा नहुँदा पोल्ट्री र पशु उद्योगमा जथाभावी एन्टिबायोटिकको प्रयोग भइरहेको छ । कुखुरामा प्रयोग गरिएको एन्टिबायोटिक होस् या गाई–भैंसीमा प्रयोग गरिएको एन्टिबायोटिक होस्, यी सबै मासु या दूधको माध्यमबाट मानवशरीरमा पुग्छन् । मानिसमा मात्र हैन पशु र वनस्पतिमा समेत एन्टिबायोटिक रेजिस्टेन्सको समस्या विकराल बन्दै गएको छ ।
कुखुरालाई दिइएको एन्टिबायोटिकको अवशेष मासुमा रहिनै रहेको हुन्छ । एन्टिबायोटिक नरहे पनि कुखुराको शरीरमा किटाणु हुन सक्छ । त्यसलाई मार्न एन्टिबायोटिक प्रयोग गरिएको हुन्छ । त्यसमा भएको किटाणु एन्टिबायोटिकभन्दा बलियो भएर बसेको हुन्छ । मासु खाँदा किटाणु मानवशरीरमा प्रवेश गर्छ । यसरी पशुपक्षीबाट सरेको किटाणुलाई एन्टिबायोटिकले काम नगर्ने भैसकेको हुन्छ । यसले मानवशरीरमा प्रत्यक्ष असर गर्छ । कतिपय एन्टिबायोटिक तरकारी बालीमा, जनावरको छालामा स्प्रेको रुपमा ड्रपलेटबाट प्रयोग गर्ने गरिएको हुन्छ । तर उपयुक्त सुरक्षा उपाय अपनाएको पाइन्न । यस्तो अवस्थामा मानवशरीरमा खाँदा, छुँदा पनि एन्टिबायोटिक प्रवेश गर्छ । यसको परिणामस्वरुप आवश्यकता परेका बेला प्रयोग गरिने एन्टिबायोटिकले काम गर्न नसक्ने हुन्छ ।
मासु पकाउँदा त्यो तापक्रमले एन्टिबायोटिक नष्ट हुन्छ-हुँदैन ?
कतिपय किटाणु खाना पकाउँदा तापक्रमले मर्छन् तर एन्टिबायोटिकलाई जितेको किटाणु हामीले खाना पकाउने सामान्य तापक्रमले नष्ट हुँदैनन् । त्यसैले स्टेलाइजर गर्नुपरेको हो । अस्पतालमा स्टेलाइजरका लागि छुट्टै मेसिन हुन्छ । एन्टिबायोटिकबाट विकसित भएका किटाणुलाई मार्न छुट्टै तापक्रम हुनुपर्छ । त्यसले गर्दा मासु पकाएर खाएको छ भन्दैमा किटाणु नसर्ने होइन । कतिपय किटाणु मर्छन् तर पूरै मर्छन् भन्ने सोच्नु गलत हो । किटाणुको आफ्नै प्रकृति हुन्छ, नर्मल कुकिङ प्रेसरले पुग्दैन । १२१ डिग्री सेल्सियसमा १५ मिनेट पकाउनुपर्छ । हरेक अस्पतालमा अटोक्लेप मेसिन हुन्छ । बिरामीको उपचारमा प्रयोग गर्ने सामान प्रयोग गर्नका लागि त्यति तापक्रम प्रयोग गरिन्छ । दैनिक भान्सामा खाना पकाउन त्यति तापक्रम प्रयोग हुने सम्भावना नै हुँदैन ।
भाइरसको समस्यामा एन्टिबायोटिकले काम गर्छ कि गर्दैन ?
औषधि प्रयोगमा ठूलो समस्या भनेको सामान्य रुघाखोकी लाग्दा पनि एन्टिबायोटिक प्रयोग गर्नु हो । कोभिड महामारी आएसँगै एन्टिबायोटिकको प्रयोग व्यापक हुन थाल्यो । रुघाखोकी लाग्ने शतप्रतिशत कारण भाइरस नै हो ।
भाइरसलाई एन्टिबायोटिकले कामै गर्दैन ।
यसका लागि एन्टिभाइरल भन्ने औषधि हुन्छ । त्यस्तो औषधि प्रयोग गर्नुपर्ने अवस्थामा पुग्ने थोरै बिरामी अस्पतालमा भर्ना गरी आईसीयुमै राख्नुपर्ने अवस्थाका बिरामीलाई मात्र प्रयोग गरिन्छ । नत्र भाइरल संक्रमणलाई घरमा गर्ने सामान्य हेरचाह तातोपानी, बाफ लिनाले नै निको हुन्छ । यस्तो अवस्थामा जथाभावी एन्टिबायोटिक खानाले पछि जुन रोगलाई खानुपर्ने हो त्यो रोगलाई एन्टिबायोटिकले काम गर्दैन । भाइरसलाई कामै नगर्ने चिजलाई हामीले जबरजस्ती दिइरहेका छौँ ।
एन्टिबायोटिकको प्रयोगसम्बन्धमा हामीले कस्ता गल्ती गरिरहेका छौँ ?
प्रायः नेपालीमा एन्टिबायोटिकको पूरा डोज नखाने प्रचलन छ । जस्तो– कुनै रोगका कारण चिकित्सकले एन्टिबायोटिक सिफारिस गरेको अवस्थामा २ दिन एन्टिबायोटिक खाएपछि सामान्य सुधार भएमा बाँकी एन्टिबायोटिकको डोज पूरा गरिँदैन । त्यसलाई त्यत्तिकै राख्ने गरिन्छ । यस्तै गरी कुनै एन्टिबायोटिक १२ घण्टामा एकपटक, कुनै ८ घण्टामा एकपटक त कुनै दिनको एकपटक खानुपर्ने हुन्छ । तर हाम्रो बानी जुन बेला सम्झियो त्यति नै बेला खाने खालको छ । त्यस्तै गरी पूरा नखाएर छोडेका एन्टिबायोटिक औषधिहरु पछि त्यस्तै खाले समस्या देखियो भने आफूखुशी खाइदिने गरिन्छ । कहिलेकाहीँ त्यसको म्याद सकिइसकेको पनि हुन सक्छ । अर्को यो काम छैन भनेर जथाभावी फालिदिने पनि गरिन्छ । त्यो फालेको औषधिले माटोमा नै नर्मल इकोलोजी व्यवस्थापन गर्न चाहिने किटाणुहरुलाई नराम्रो असर गर्छ ।
एन्टिबायोटिक जथाभावी फाल्दा त्यहाँबाट उत्पादन हुने वस्तुहरुमा असर पर्छ । माटोमा फालेको एन्टिबायोटिक वा त्यो जमिनमा उम्रने वनस्पति घरपालुवा जनावरले खाए र मानिसले त्यसको मासु खायो भने पनि एन्टिबायोटिकले काम नगर्ने किटाणु मानिसको शरीरमा छिर्छ । एन्टिबायोटिक डाक्टरको सल्लाह अनुसार खानु मात्र ठूलो कुरा होइन, त्यसलाई कसरी डिस्पोज गर्ने, कसरी फाल्ने, कहिलेसम्म खान मिल्ने ? यी सबै कुरा बुझेर काम गरे मात्र एन्टिबायोटिक प्रभावकारी हुन सक्छ ।
एन्टिबायोटिक प्रयोगका विषयमा नीति–नियमहरु कस्ता छन् ?
यससम्बन्धमा नेपाल सरकारले छुट्टै नीति नै बनाएको छ । तर अनुगमन, नियमन गर्ने पक्ष अत्यन्तै कमजोर छ । चिकित्सकको सिफारिसविना एन्टिबायोटिक औषधि दिन नमिल्ने कानुनमा उल्लेख गरिएको छ तर जहाँ पनि एन्टिबायोटिक पाइन्छ । पशुपक्षीमा संक्रमण हुँदा मात्र प्रयोग गर्नुपर्ने औषधिहरु पशुपक्षी चाँडो बढ्छन्, मोटाउँछन् भनेर मनलाग्दी प्रयोग गर्ने गरिएको छ । यसो गर्नाले मानिसमा थप नकारात्मक असर पर्ने गरेको छ ।
खासमा एन्टिबायोटिक केको लागि प्रयोग हुने हो ?
ब्याक्टेरियाबाट भएको संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिकको प्रयोग गरिन्छ । नेपालमा प्रायः रोग पत्ता लाउनेतिर लाग्नेभन्दा पनि लक्षण हेरेर एन्टिबायोटिक खाने-खुवाउने चलन छ । यसका परीक्षण विधि धेरै छन् । जस्तो– खोकी लागेको छ भने खकार जाँच गर्नुपर्छ । कतिपय रोगको रगत, पिसाब, दिसा जाँच गर्नुपर्छ । अनि मेनेन्जाइटिस हो-होइन भनी यकिन गर्न ढाडबाट पानी निकालेर जाँच गर्नुपर्छ । यति मात्र नभई एन्टिबायोटिक प्रयोग गरेको ४८ घण्टापछि रगतको कल्चर परीक्षण गरी हेरेर कतिको सुधार आएको छ, यसको आधारमा एन्टिबायोटिक घटाउनुपर्छ ।
एन्टिबायोटिक एकपटक खाएपछि कति अवधिमा पुनः प्रयोग गर्न मिल्छ ? सही प्रयोग कसरी गर्ने ?
आवश्यकता अनुसार प्रयोग गर्नुपर्छ । अहिलेसम्म एकपटक चलाएपछि काम नगर्ने भएको छैन । एन्टिबायोटिक एकपटक चलाएपछि ४८ घण्टा, ७२ घण्टामा परीक्षण गरेर अवस्था अनुसार औषधि घटाएर प्रयोग गर्नुपर्छ । यसरी परीक्षण गरेर सामान्य एन्टिबायोटिक सिफारिसका आधारमा मात्र चलाइएन भने एन्टिबायोटिकले काम नगर्ने सम्भावना हुन्छ । अहिले हरेक ३ वर्षमा एन्टिबायोटिकले काम नगर्ने अवस्था आइरहेको छ । १० वर्षअघि जुन एन्टिबायोटिकले आईसीयुमा राख्नुपर्ने बिरामीलाई निको हुन्थ्यो, अहिले सामान्य चोट लागेको बिरामीलाई चलाउनुपर्ने अवस्था आएको छ । पहिला सामान्य एन्टिबायोटिकले काम गथ्र्यो, अहिले कडाभन्दा कडा एन्टिबायोटिक चलाउनुपर्ने अवस्था आएको छ । त्यसैले अब कडा एन्टिबायोटिकले काम नगर्ने अवस्था आएको छ ।
विडम्बना के छ भने, पहिला पहिचान हुँदा ती एन्टिबायोटिकले ३० वर्ष, ४० वर्ष काम गर्थे । पहिला पत्ता लागेको एन्टिबायोटिकले १ सय वर्ष काम गरेपछि औषधिले कम काम गरेको प्रमाणित भएको थियो । अहिले ५ देखि ७ वर्षमै काम नगर्ने भैसक्यो । अहिलेका ब्याक्टेरिया धेरै बलिया भैसके, दुई वर्षभित्र एन्टिबायोटिक औषधि काम नगर्ने हुन्छन् ।
हाम्रो उद्देश्य भनेको अहिले भएको एन्टिबायोटिकलाई बचाइराख्ने र यो भन्दा कडा प्रयोग गर्नु नपरोस् भन्ने नै हो । यो पुस्तालाई मात्र हैन, अर्को पुस्तालाई पनि एन्टिबायोटिक बचाइराख्नु छ । यदि त्यस्तो भएन भने सामान्य चोटपटक लाग्दा पनि औषधिले काम नगरी संक्रमणका कारण मानिसको मृत्यु हुन सक्छ । शुरुमा एन्टिबायोटिक पत्ता लाग्दाको समयमा धेरै मानिसको संक्रमणले मृत्यु हुन्थ्यो । एन्टिबायोटिक पत्ता लागेर धेरै मान्छे बचाउन सकियो । अहिले त्यही एन्टिबायोटिक दुरुपयोगले गर्दा एन्टिबायोटिक मृत्युको कारण पनि भइरहेको छ । त्यसैले यसलाई उचित प्रयोग गर्नुपर्छ ।
विभिन्न अध्ययन अनुसार सन् २०५० सम्म संसारभर एन्टिबायोटिक रेजिस्टेन्ट मानिसको मृत्युको पहिलो कारण बन्ने आँकलन गरिएको छ । यस्तो अवस्था नआओस् भनेर अहिलेदेखि नै सजग हुनुपर्छ । ए मैले एकदिन खाएर के हुन्छ भन्दै हरेक मान्छेले जथाभावी एन्टिबायोटिक खाँदै जाँदा समस्या थेग्न नसक्ने गरी बढ्छ । यससम्बन्धमा हरेक निकायले चिन्तित भएर सोच्नुपर्ने अवस्था आएको छ ।
एन्टिबायोटिकको सही प्रयोगका लागि यसको प्रयोग गर्नुअघि चिकित्सकको सल्लाह लिनुपर्छ । चिकित्सकले दिएको सल्लाहबमोजिम एन्टिबायोटिकको पूरा प्रयोग सही तरिकाले गर्नुपर्छ । बीचैमा छाडे एन्टिबायोटिकले काम गर्न छाड्छ । आफूले प्रयोग गरेको एन्टिबायोटिक अरुसँग शेयर नगर्नुहोस् र बाँकी रहेका पुराना एन्टिबायोटिकहरु प्रयोग पनि नगर्नुहोस् । अन्त्यमा हामीले प्रयोग गर्ने एन्टिबायोटिक होसियारीपूर्वक प्रयोग गर्ने बानी बसालौँ ।
एन्टिबायोटिकको दुरुपयोग रोक्न कस्तो नीतिको खाँचो छ ?
सरकारले बनाएको नीतिलाई कडाइका साथ लागू गर्नुपर्छ । चिकित्सकको सिफारिसविना औषधि दिन मिल्दैन भनिएको छ । नेपालको भूगोलको आधारमा कतिपय स्थानमा सम्भावना छैन । यस्तो अवस्थामा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ । सम्भव हुने ठाउँमा मात्र एन्टिबायोटिक नियन्त्रण भयो भने धेरै राम्रो हुन्छ । सुगर, प्रेसरको औषधि खान बिरामीले १० पटक सोच्छन् र परामर्श लिन्छन् तर एन्टिबायोटिक खान कसैलाई सोध्दैनन् । सीधै मेडिकलमा गई किनेर खान्छन् । अस्पतालमा लामो समय लाइन बस्नुपर्छ, मेडिकलमा गए सीधै पाउने भएर पनि यसको दुरुपयोग भएको हो । यससम्बन्धमा आम नागरिकलाई चेतना जगाउन आवश्यक छ ।
विश्व स्वास्थ्य संगठनले निकालेको जर्नलमा उल्लेख भए अनुसार १० जना बिरामी हेर्दा २ देखि ३ जना बिरामीलाई एन्टिबायोटिक चलाउनुपर्छ र लेखिन्छ पनि । त्यो लक्षणको आधारमा फार्मेसीमा गएर औषधि खरिद हुन्छ । पछि गएर त्यो लक्षणको आधारमा यस्तो भयो भने यो एन्टिबायोटिक दिने हो, यही खानुस् भनेर अरुलाई बेच्छन् ।
एउटै रोगको लक्षण धेरै खालको हुन सक्छ । अस्पतालमा ल्याब परीक्षण गरेर रोगको आधारमा औषधि चलाइने हुँदा अनावश्यक चलाइन्न । अबका दिनमा बन्ने एन्टिबायोटिक अत्यन्तै कडा र महँगो हुन्छ । नेपालीले खरिद नै गर्न सक्दैनन् । बाहिरी देशहरु १५ वर्षअघि जहाँ थिए हामी त्यहीँ छौं । विदेशी मुलुकहरुले ५० वर्ष सुरक्षा गरिसके, हामी औषधि नै किन्न नसक्ने अवस्थामा पुगेका छौं । नसर्ने रोगमा जसरी सचेतना बढेको छ, सरुवा रोगमा पनि जनचेतना हुनु जरुरी छ । ज्ञानकै अभावमा यो अवस्था सृजना भएको हो ।




















