कालिञ्चोक र शैलुङमा बाक्लो हिमपात

दोलखाको उच्च पहाडी भेग कालिञ्चोक र शैलुङमा यो वर्ष दोस्रो पटक हिमपात भएको छ । मङ्गलवार दिउँसो दुई बजेपछि बाक्लै हिमपात भएको स्थानीयले बताएका छन् ।

यो वर्ष गत माघ १५ गते कालिञ्चोक र शैलुङमा पहिलो पटक हिमपात भएको थियो । कालिञ्चोकमा गत माघ १५ गते यो वर्ष पहिलो पटक सामान्य हिमपात भएपनि दोस्रो पटक मङ्गलवार दिउँसो २ः३० देखि बाक्लै हिमपात भएको कालिञ्चोकको कुरीमा रहेको सुनपाती होटलका विमल ओझाले बताए ।

देशकै प्रमुख धार्मिक एवम् पर्यटकीय केन्द्र बनेको कालिञ्चोकमा हिउँ खेल्नकै लागि माघ– फागुनमा नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत धेरै पर्यटक पुग्ने गरेका छन् ।

३८४२ मिटर उँचाइमा रहेको कालिञ्चोकबाट गौरीशङ्कर लगायतका हिमशृङ्खलाहरू समेत हेर्न सकिन्छ ।

शैलुङमा पनि हिमपात


दोलखाकै अर्को महत्त्वपूर्ण धार्मिक एवम् प्राकृतिक पर्यटकीय केन्द्र शैलुङ क्षेत्रमा पनि मङ्गलवार दिउँसो दुई बजे पछि बाक्लो हिमपात भएको स्थानीय दिपेश श्रेष्ठले बताएका छन् ।

३१४६ मिटर उँचाइको शैलुङमा सय वटा थुम्का रहेका छन् । शैलुङको थुम्का र मिनी ग्रेटवाल हेर्न शैलुङ क्षेत्रमा दैनिक धेरै पर्यटक पुग्ने गरेको स्थानीय दिपेश श्रेष्ठको भनाई छ । हिमपात पछि यो क्षेत्रमा देशी तथा विदेशी पर्यटकको आगमन बढ्ने स्थानीय बताउँछन् ।

शैलुङ क्षेत्रबाट गौरीशङ्कर हिमशृङ्खला हेर्न र यो क्षेत्रमा रहेको महादेव थान, भीमसेन तरबार, धर्मढोका, गुफा लगायतका धार्मिक स्थलहरू घुम्न समेत दैनिक धेरै पर्यटक आउने गरेको श्रेष्ठ बताउँछन् । रासस


ताजा खबर