नक्कली उद्धार ‘फेक रेस्क्यू’ मा संलग्न सिंह पक्राउ

हिमाल आरोहणमा जाने विदेशी पर्यटकमा समान्य स्वास्थ्य समस्या देखिँदा डर, त्रास देखाई उद्धारका नाममा ठगी गर्ने गिरोहका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले हवाई व्यवस्थापनविज्ञ तथा विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंहलाई पक्राउ गरेको हो । काठमाडौँ–१६ का स्थायी बासिन्दा सिंहलाई ब्युरोको टोलीले बुधबार उहाँको निवासबाटै पक्राउ गरेको हो । सिंहसहितको गिरोहले पछिल्लो चार वर्षमा मात्र पर्वतारोहण र ट्रेकिङमा पुग्ने ३१७ जना पर्यटकको नक्कली उद्धार देखाएर ठुलो बिमा रकम असुल गरेको थियो ।

पक्राउ परेका सिंह मन्त्रीपरिषद्ले २०८१ चैत ४ मा गठन गरेको अनिलकुमार सिन्हा अध्यक्ष रहेको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्यक्ष तथा विश्लेषण उच्चस्तरीय समितिको सदस्य रहेको पाइएको छ ।

उच्चस्तरीय समितिमा सिंहलाई हवाई व्यवस्थापन विज्ञका रूपमा नियुक्ति गरिएका सिंह माउन्टेन हेलिकोप्टरको पूर्वअध्यक्षसमेत रहेका पाइएको छ । यस प्रकरणमा सिआइबीले रोयल होलिडेज एडभेन्चर एन्ड ट्राभल कम्पनीका सञ्चालक सन्दीप तिवारीलाई मङ्गलबार पक्राउ गरेको थियो ।

त्यसअघि सिआइबीले श्रीद्धि इन्टरनेसनल अस्पतालमा सञ्चालक डा. गीर्वाणराज तिमिल्सिना, माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल, म्यानेजर विवके पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रवीन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्सपेरियन्स एन्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ परेका सिंहले यसअघि पक्राउ परेका आरोपितलाई फेक रेस्क्युबारे प्रमाण लुकाउन सिकाएको अनुसन्धानबाट देखिए पनि पक्राउ गरिएको सिआइबी स्रोतले जनाएको छ । पक्राउ परेकाले बयानमा सिंहको पनि नाम जोडिएपछि उहाँमाथि निरन्तर निगरानी गरिएको थियो ।


ताजा खबर