छोरीलाई जन्मघरबाट कर्मघर पठाउँदै गर्दा…

आफन्तका छोरीको बिहेमा ब्याण्डबाजाले जब ‘माइतीघर तिम्रो हैन पराई घर जाऊ’ भन्ने गीत बजाउँथ्यो, मलाई लाग्थ्यो-त्यो फगत सङ्गीत हो । मेरी छोरीलाई आज अन्माउँदा बजेको त्यही गीतले रेटेको कलेजो झन्झन भाउन्न भएर दुख्न छोडेको छैन । एक्लै घोत्लिएर मनोसंवाद गर्दा चाल पाएँ- तिमी घरकी कस्तुरी थियौ, सङ्गीतको सुर थियौ, महको गुलियो थियौ, दूधको नौनी थियौ, अगरबत्तीको बास्ना थियौ अझ भनौँ मेरो जीवनको लालपुर्जा थियौ । अहिले घरमा असरल्ल तिम्रा सम्झना छन् । भित्ताभरि तिम्रा फोटा छन् । तर तिम्रो आवाज छैन । साथमा छदा तिम्रो त्यही आवेग, रिस, घुर्क्याइ, अब मेरो जीवनको रथ गुडाउने ऊर्जा भएका छन् ।
हो छोरी अहिले मेरा परेला खुल्ला छन् तर दृष्टि बन्द छ । कस्तो अनौठो परिस्थितिमा बाँधिएको छु म । न धक फुकाएर हाँस्न सकिरहेको छु, न डाँको छोडेर रुने हिम्मत छ मसँग । बचेराको पखेटा लागेपछि उड्छन् । यो सत्य थाहा हुँदाहुँदै स्विकार्न कठिन भइरहेको छ । घरको धारा बिग्रियो भने बनाउने प्लम्बर पाइने रहेछ छोरी तर आँखाबाट झरेको आँसु आँखामै फिर्ता पठाउने प्राविधिक नपाइने रहेछ ।
तिमीलाई अन्माएदेखि मन र मस्तिष्क दुवैमा शून्यता भरिएको छ, मानौँ आँधी आउनुअघिको सन्नाटा हो यो । मम्मी काख र मेरो काँध कुनै बेला तिम्रो पहिलो पाठशाला थियो । तिमी हाम्रो हृदयकी मोती थियौ, आँखाकी पुतली भएर हुर्कियौ । आफ्नो गुज्रिएको बालापनमा नपुगेका कतिपय रहर म तिमीलाई पुर्याएर सन्तुष्ट हुन्थेँ ।
जब तिमी विद्यालयको पोसाक लगाएर तयार हुन्थ्यौ, म तिम्रो पानीको बोतल भरिरहेको हुन्थेँ । जब तिमी साइकलका पाङ्ग्रा घुमाउने प्रयास गर्थ्यौ, म पछाडिबाट धक्का मारिरहेको हुन्थेँ । तिमी कुनै कुराको माग राख्नुअघि नै आवश्यकता बोध गरिसकेको हुन्थेँ । साँच्चै भन्दा तिमी मेरो घाँटी थियौ ।
अरूलाई सम्झाउने म आफैँ सम्झन सकिरहेको छैन । आज गहिरोसँग महसुस गरिरहेको छु-छोरी अन्माएपछि पिता मणि खोसिएको नागझैँ हुँदो रहेछ । फरक यति हो, म मेरो मणि राजी खुसीले सुम्पिरहेछु, योग्य वरको हातमा । तिमी अर्को घरकी लच्छिन हौ भन्दा मलाई थोर ढाडस मिल्छ । मनमा कन्यादान जिम्मेवारी जति छ, मुटुको टुक्रा निकालेर सुम्पिनुपर्दाको पीडाले अनुहारको हाँसो लुप्त भइसकेको छ । त्यही आँसु र हाँसोको दस गजामा उभिएको छु छोरी ।
मलाई थाहा छ- छोरीहरू पराई हुँदैनन् । उनीहरू सम्बन्ध जोड्ने ‘सुपर ग्लू हुन् । हामीले तिमीलाई दिएको संस्कार, माया र सम्मान सधैँ साथमा राखेर अघि बढ्नू । हामीलाई विश्वास छ तिमी जहाँ भए पनि आफ्नो माया र उज्यालोले सबैको मन जित्नेछौ । तर छोरी एउटा कुरा कहिल्यै नबिर्सनू यो घर सधैँ तिम्रो नै हो । जब मन थाक्छ, जब बाबाको काख याद आउँछ, यो घरको ढोका सधैँ तिम्रो लागि खुला हुनेछ । किनकि छोरीहरू कहिल्यै पराइ हुँदैनन् । सधैँ बाबाको आँखाको नानी भएर यहीँ बसिरहन्छन् ।

माया र शुभआशीर्वाद सहित,

तिम्रो बाबा, मम्मी


ताजा खबर