विश्व उपभोक्ता अधिकार दिवस सचेतना सहित मनाइँदै

आज विश्वभर उपभोक्ता अधिकार दिवस (World Consumer Rights Day)  ‘सचेत उपभोक्ता नै सुरक्षित बजारको आधार’ भन्ने नारा सहित सचेतनाका विभिन्न कार्यक्रमका गरी मनाइँदैछ। हरेक वर्ष मार्च १५ मा मनाइने यस दिवसको उद्देश्य उपभोक्ताका अधिकारको संरक्षण, सुरक्षित तथा गुणस्तरीय वस्तु र सेवामा पहुँच सुनिश्चित गर्नु हो।

उपभोक्ता अधिकारको अवधारणा पहिलोपटक सन् १९६२ मा अमेरिकाका तत्कालीन राष्ट्रपति जोन एफ. केनडीले औपचारिक रूपमा प्रस्तुत गरेका थिए। त्यसपछि विश्वभर उपभोक्ता अधिकारसम्बन्धी चेतना फैलाउन र उपभोक्ताको हित संरक्षण गर्न यो दिवस मनाउने परम्परा सुरु भएको हो।

यस अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले उपभोक्ता सचेतना अभिवृद्धि, बजार अनुगमन, अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने गरेका छन्।

नेपालमा उपभोक्ताको अधिकार सुनिश्चित गर्न उपभोक्ता संरक्षण ऐन २०७५ लागू गरिएको छ। उक्त ऐनले गुणस्तरहीन वस्तु बिक्री, मूल्यमा ठगी, गलत सूचना तथा उपभोक्तामाथि हुने अन्यायलाई रोक्न कानुनी व्यवस्था गरेको छ।

विशेषज्ञहरूले बजारमा अझै पनि म्याद गुज्रिएका वस्तु बिक्री, मूल्य सूची नराख्ने, बिल नदिने तथा गुणस्तरहीन वस्तु बिक्रीजस्ता समस्या देखिने गरेको भन्दै उपभोक्तालाई सचेत रहन आग्रह गरेका छन्।

उपभोक्ता अधिकार दिवसले उपभोक्तालाई आफ्ना अधिकारबारे जानकारी लिन र कुनै समस्या परे सम्बन्धित निकायमा उजुरी दिन प्रेरित गर्ने विश्वास गरिएको छ।

विशेषज्ञहरूका अनुसार सचेत उपभोक्ता, जिम्मेवार व्यवसायी र प्रभावकारी नियमन प्रणाली भए मात्र स्वस्थ र व्यवस्थित बजार निर्माण सम्भव हुन्छ। सफल नेपाल


ताजा खबर