दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन्। शहरका अधिकारीहरूले यात्रु तथा कर्मचारीहरूको सुरक्षालाई प्राथमिकता दिँदै यस्तो निर्णय गरिएको बताएका छन्। विमानस्थल नजिकै घटना भएकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै उडान सञ्चालन स्थगित गरिएको हो।
ड्रोन आक्रमणका कारण विमानस्थल आसपास रहेको इन्धन भण्डारण ट्याङ्कीमा आगलागी भएको थियो। स्थानीय आपतकालीन सेवाहरूले घटनास्थलमा पुगेर आगो छिट्टै नियन्त्रणमा लिएका थिए। अधिकारीहरूका अनुसार घटनामा कुनै पनि व्यक्तिलाई चोटपटक लागेको छैन भने ठूलो भौतिक क्षति पनि भएको छैन।
मध्यपूर्वमा जारी द्वन्द्वका क्रममा इरानले युनाइटेड अरब इमिरेट्सतर्फ एक हजार आठ सयभन्दा बढी मिसाइल र ड्रोन प्रहार गरेको बताइएको छ। यद्यपि यूएईको वायु रक्षा प्रणालीले अधिकांश आक्रमणलाई आकाशमै निष्क्रिय पार्दै ठूलो क्षति हुनबाट जोगाएको जनाइएको छ। यस द्वन्द्वका कारण खाडी क्षेत्रमा सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।
छिमेकी साउदी अरेवियाले पनि सोमबार बिहानदेखि आफ्नो पूर्वी क्षेत्रमा ६० भन्दा बढी ड्रोन अवरोध गरिएको जनाएको छ। यसले खाडी क्षेत्रभर ड्रोन आक्रमणको जोखिम अझै बढिरहेको संकेत गरेको छ।
दुबईको राष्ट्रिय हवाई सेवाले यात्रुहरूलाई केही समयका लागि विमानस्थल नआउन अनुरोध गरेको छ। अधिकारीहरूले सुरक्षा अवस्था सामान्य भएपछि मात्र उडान सञ्चालन गरिने बताएका छन्। बिहान १० बजेपछि सीमित उडानहरू पुनः सञ्चालन गर्ने तयारी गरिएको जानकारी पनि दिइएको छ। विमानस्थल जाने मुख्य सडक समेत केही समयका लागि बन्द गरिएको थियो।
यो द्वन्द्व सुरु भएयता संयुक्त अरब इमिरेट्समा चार जना सर्वसाधारण र दुई जना सैनिकसहित कुल छ जनाको मृत्यु भएको सार्वजनिक गरिएको छ। अधिकारीहरूले नागरिक पूर्वाधार, विमानस्थल, बन्दरगाह तथा तेल सम्बन्धी संरचनाहरू अझै जोखिममा रहेको चेतावनी दिएका छन्।
रोयटर्स






















