कोशी पारिको एउटा माध्यमिक विद्यालयका ४५ वर्षीय शिक्षक महेश (नाम परिवर्तन) ले ओपिडीमा छिर्नेबित्तिकै आफ्नी ४० वर्षीया श्रीमती शर्मिलाको अवस्था यसरी बेलिविस्तार लगाए:
“धेरै वर्ष भइसक्यो, कहिले एक पक्ष ज्यादै खुसी हुन्छे। भएभरको खर्च गर्छे, संन्यासिनीले जस्तो मन्दिर–मन्दिर चहार्छे, सातै दिन व्रत बस्छे। फेरि केही हप्ता ठीकै हुन्छे। तर अर्को पक्ष भने ओछ्यानैबाट उठ्दिन। विनासित्ती रुने, बाँच्न मन छैन भन्ने, केही काममा जाँगर नगर्ने। स्वभावै यस्तै होला भनेर सहँदै आएको थिएँ, तर यसपालि त ऋणै लाग्ने गरी खर्च गरिन् र मरिदिन्छु भन्दै पासो लगाउन समेत खोजिन्।”
महेशसँगै उनका २५ वर्षीय छोरा पनि आएका थिए। काठमाडौंमा सानो पसल गर्ने उनले कतै पत्रिकामा ‘बाइपोलार डिस्अर्डर’ का बारेमा पढेका रहेछन्। त्यहाँका लक्षण आमासँग मिलेको देखेपछि उनकै करले यो परिवार अस्पताल आइपुगेको थियो।
२० वर्षको मौन पीडा
करिब २५ वर्षको वैवाहिक जीवनमा शर्मिलाले २० वर्षदेखि यस्ता उतारचढाव भोगिरहेकी रहिछन्। १५ वर्षको उमेरमा विवाह भएकी शर्मिलाले २० वर्षको उमेरमा जेठो छोरो जन्माएपछि पहिलोपटक असामान्य लक्षण देखाएकी थिइन्। सुत्केरी भएको एक महिनामा ‘ज्यादै खुसी हुने, धेरै बोल्ने, पूजापाठमा भुल्ने, खर्चालु हुने र राति नसुत्ने’ समस्या देखिए पनि एक महिनापछि ती आफैं हराएर गए।
त्यसको दुई वर्षपछि छोरा बिरामी पर्दा उनी ठ्याक्कै विपरित अवस्थामा पुगिन्— टोलाएर बस्ने, रुने र मर्न मन लाग्ने। धामीझाँक्री गराएपछि केही हप्तामा लक्षण निको भए जस्तो देखियो। त्यसपछिका वर्षहरूमा यो क्रम दोहोरिरह्यो। कहिले अत्यधिक उत्साह (उन्माद) त कहिले गहिरो निराशा (अवसाद)। महेशले यसलाई ‘औंसी–पूर्णे’ को प्रभाव ठानेर बेवास्ता गरिरहे।
वंशाणुगत सम्बन्ध र जोखिम
विस्तृत परामर्शका क्रममा थाहा भयो कि शर्मिलाकी आमाले पनि यस्तै समस्याका कारण चार वर्षअघि आत्महत्या गरेकी रहिछन्। उनकी दिदीमा पनि उस्तै लक्षण थिए। यसले के पुष्टि गर्छ भने बाइपोलार डिस्अर्डरमा वंशाणुगत गुणको ठूलो भूमिका हुन्छ।
के हो त बाइपोलार डिस्अर्डर?
यो एउटा मानसिक स्वास्थ्य समस्या हो, जहाँ बिरामीको मनस्थिति (Mood) दुईवटा विपरित ध्रुवमा घुमिरहन्छ:
- म्यानिया (Mania): यस अवस्थामा मन अत्यधिक प्रफुल्ल हुन्छ। दिमागमा नयाँ–नयाँ योजना आउने, थकाइ नलाग्ने, निद्राको आवश्यकता महसुस नहुने, धेरै खर्च गर्ने र कहिलेकाहीँ उत्तेजित भई झगडा वा तोडफोड समेत गर्ने हुन सक्छ।
- हाइपोम्यानिया (Hypomania): यो म्यानियाको अलि कम उग्र रूप हो। यसमा बिरामी सिर्जनात्मक काममा लाग्न सक्छन्, तर यसले सामाजिक वा व्यक्तिगत जीवनमा ठूलो क्षति पुर्याउँदैन।
- डिप्रेसन (Depression): यसलाई अवसाद भनिन्छ। यसमा बिरामी चरम निराशामा डुब्ने, ऊर्जा नहुने, मन भारी हुने र आत्महत्याको सोच आउनेसम्म हुन सक्छ।
निष्कर्ष
शर्मिला जस्ता धेरै बिरामीहरू हाम्रो समाजमा ‘स्वभावै यस्तै हो’ वा ‘देवी–देउता लागेको’ भन्दै उपचारबाट वञ्चित छन्। मनस्थितिको यो उथलपुथल कुनै दैवी शक्ति नभएर उपचार सम्भव भएको स्वास्थ्य समस्या हो। सही समयमा चिकित्सकको सल्लाह र औषधि सेवनले यस्ता बिरामीले सामान्य र गुणस्तरीय जीवन बिताउन सक्छन्।
तनावपूर्ण अवस्थाले यी लक्षणलाई अझ बल्झाउने भएकाले बिरामीलाई परिवारको माया र सामाजिक सहयोगको उत्तिकै खाँचो पर्दछ।



















