शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ भन्ने नारासहित आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ ।
३५ वर्षअघि अफ्रिकी राष्ट्र नामिबियाको राजधानी विन्डहक सहरमा आयोजित सम्मेलनमा संयुक्त राष्ट्रसङ्घद्वारा मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने निर्णय गरिएको थियो। त्यसैअनुसार मे ३ अर्थात् आज वैशाख २० गतेलाई विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ। मिडिया क्षेत्रका विभिन्न सरोकारवालालाई आ–आफ्नो दायित्व स्मरण गराउने दिवसका रूपमा यो दिनलाई औंल्याउन सकिन्छ । आधुनिक विश्वमा नागरिकलाई सुसूचित गर्ने दिशामा प्रेसको भूमिका सर्वोपरि रहेको छ । प्रेसको भूमिका सङ्कुचित हुने अवस्था आउन नदिन विश्वव्यापी रूपमा यो दिवस मनाउन थालिनु प्रेसप्रति विश्वव्यापी प्रतिबद्धतासमेत हो ।
मुख्य रूपमा विश्वभरिका राष्ट्रका सरकारलाई प्रेस स्वतन्त्रताप्रतिको सम्मानको प्रतिबद्धताको स्मरण गराउने अवसर पनि हो– विश्व प्रेस स्वतन्त्रता दिवस । साथै सञ्चार माध्यमसँग आबद्धलाई व्यावसायिक आचारसंहिता परिपालना तथा प्रेस स्वतन्त्रताबारे झकझकाउने अवसरका रूपमा पनि यो दिनलाई लिने गरिन्छ । आफ्ना समाचार, लेख तथा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका पत्रकारको योगदान स्मरण गरिने हुनाले पनि यो दिन महत्त्वपूर्ण मान्न सकिन्छ । रासस





















