अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आयोजनामा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकाको कोलोराडोमा सम्पन्न भएको छ ।
सम्मेलनको उद्घाटन मदन पुरस्कार विजेता प्रमुख अतिथि डा.नवराज लम्साल, समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले र बोर्ड अफ ट्रस्टी सभापति पदम विश्वकर्माले संयुक्त रूपमा गरे ।
सम्मेलनको उद्घाटन गर्दै डा. लम्सालले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाली भाषी साहित्यकारहरुको अन्तर्राष्ट्रिय संसद्का रूपमा रहेका बताए ।
डा. लम्सालले नेपालको सीमानाभन्दा बाहिर रहेका स्रष्टाहरुले लेखिने साहित्यलाई अलग राखेर नेपाली भाषा र साहित्य अधुरो रहने बताए ।
सम्मेलनमा मदन पुरस्कार विजेता लम्साल, डा. निलम कार्की निहारिका, समालोचक महेश पौडेल र आचार्य राजनलाई सम्मान गरिएको थियो ।
अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा सम्मेलन संयोजक अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन अनेसासका महासचिव राजु सिटौला र कोषाध्यक्ष तारा अधिकारीले गरेका थिए ।
सम्मेलनमा सम्मेलनमा एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साह, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, ख्यातिप्राप्त अङ्ग्रेजी साहित्यकार डा. ज्याकलिन केरबेक, रेड ओ लाफ्लिन, पत्रकारहरू राधेश्याम लेकाली, सुधीर शर्मा, बसन्त बस्नेत, बबिता बस्नेत, बिपुल पोखरेल, नारायण श्रेष्ठ, नेपाल अमेरिका पत्रकार समाज (नेजा) का अध्यक्ष सुरज भण्डारी लगायत नेपाल, अमेरिका, युरोप लगायतका देशबाट २०० जना साहित्यकार, लेखक, पत्रकार र संघ संस्थाका प्रतिनिधि सहभागी रहेका थिए ।




















