नयाँ नेपाली चलचित्र ‘गौथली’ भोलि साउन १ गते (शुक्रबार) देखि देशभरका हलहरूमा एकसाथ प्रदर्शनमा आउने भएको छ। साउने सङ्क्रान्तिको अवसर पारेर चलचित्रलाई देशव्यापी रूपमा प्रदर्शन गर्न लागिएको हो।
मौलिक नेपालीपन, पारिवारिक सम्बन्ध र प्रेमकथालाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको यो चलचित्रले नेपाली समाजको यथार्थ चित्रलाई पर्दामा उतारेको निर्माण पक्षको दाबी छ।
चलचित्र ‘गौथली’ मा दर्शकले आफ्नै गाउँघर र समाजको कथा पाउने निर्देशक डा. कपिल रिजालले सफल नेपाललाई बताउनु भएको छ । युवापुस्ताको सपना, पारिवारिक दायित्व र प्रेमाभावलाई समेटेर तयार पारिएको यो चलचित्रले सबै वर्गका दर्शकलाई बाँधेर राख्ने विश्वास गरिएको छ।
डा. कपिल रिजाल र सुमन गिरीको निर्माणमा बनेको यस चलचित्रका गीत-संगीत र ट्रेलरले यसअघि नै युट्युब तथा सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइसकेका छन्, जसले गर्दा भोलिदेखि हुने प्रदर्शनमा दर्शकको उपस्थिति बलियो हुने अनुमान सिनेमा हल सञ्चालकहरूको छ।
भोलिदेखि प्रदर्शनमा आउन लागेको यस चलचित्रका लागि देशभरका मल्टिप्लेक्स (क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाज आदि) र सिंगल स्क्रिन हलहरूमा टिकट बुकिङ खुल्ला भइसकेको छ।
“हामीले निकै मिहिनेत गरेर एउटा पारिवारिक र सन्देशमुलक चलचित्र बनाएका छौँ। वर्षाको यो मौसममा साउने सङ्क्रान्तिको विदा मनाउँदै परिवारसहित हलसम्म पुगेर ‘गौथली’ हेरिदिनुहुन हामी सम्पूर्ण दर्शक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ।”
यदि तपाईं पनि यो सङ्क्रान्तिमा सपरिवार सिनेमा हेर्ने योजनामा हुनुहुन्छ भने, नजिकैको सिनेमा हलमा गई आफ्नो सिट सुरक्षित गर्न सक्नुहुनेछ।
स्मरणीय छ, दुई दशकअघि बरिष्ठ तथा ख्यातिप्राप्त स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. भोला रिजालले निर्माण गरेको नेपालको पहिलो ‘गीति फिल्म’ मानिने ‘गौँथली’ले पनि ५१औँ दिन मनाउन सफल भएको थियो ।

Video : OSR Digital




















