फिफा विश्वकप फाइनलमा आज अर्जेन्टिना र स्पेन भिड्ने

फिफा विश्वकप फुटबल २०२६ को फाइनल खेल अन्ततः युरो च्याम्पियन स्पेन र दक्षिण अमेरिकी तथा डिफेन्डिङ विश्व च्याम्पियन अर्जेन्टिनाबिच हुने भएको छ ।

आज आइतबार राति न्युजर्सीमा हुने यो महाभिडन्तमा फुटबल दुनियाँका दुई महाशक्ति राष्ट्र अझ ठुलो ट्रफीका लागि एकअर्कासँग भिड्दै छन् । यो फाइनल खेल केवल दुई देशबिचको भिडन्त मात्र नभएर दक्षिण अमेरिकाविरुद्ध युरोप तथा जोसविरुद्ध अनुभवको लडाइँ पनि हुनेछ ।

विशेष गरी, यस खेललाई महान् खेलाडीका रूपमा सम्भवतः अन्तिम पटक विश्वकपको मञ्चमा भिड्दै गरेका ३९ वर्षीय अर्जेन्टिनी कप्तान लियोनेल मेसी र भविष्यमा महान् खेलाडी बन्न सक्ने प्रक्षेपण गरिएका स्पेनका १९ वर्षीय सनसनीपूर्ण टिनेज विन्गर लामिने यमालको रोचक भिडन्तका रूपमा हेरिएको छ । यसअघि गत मार्चमा कतारको लुजाइल रङ्गशालामा युरोपेली च्याम्पियन र दक्षिण अमेरिकी च्याम्पियनबिच ‘फिनालिसिमा’ अन्तर्गत खेल हुने तय भए पनि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सो खेल रद्द गरिएको थियो । यद्यपि, यी दुई टिमबिचको ऐतिहासिक भिडन्त यसै वर्ष विश्वकपको फाइनलमा लेखिएको रहेछ ।

अर्जेन्टिना यस पटक आफ्नो विश्वकप उपाधि रक्षा गर्ने ऐतिहासिक अभियानमा रहेको छ र सबैको नजर कप्तान मेसीमा टिकेको छ । चार वर्षअघि ३५ वर्षको उमेरमा कतारमा अर्जेन्टिनालाई विश्वकप जिताएका मेसीले ३९ वर्षको उमेरमा पनि यस विश्वकपमा अझ आकर्षक फुटबल खेलिरहेका छन् । यसपालि पनि अर्जेन्टिनाको आशा मेसीकै काँधमा छ र उनको ‘वन म्यान सो’ जारी छ । यस विश्वकपमा मेसीले ८ गोल र ४ असिस्ट गरिसकेका छन् र उनी गोल्डेन बुटको होडमा सबभन्दा अगाडि छन् । क्वाटरफाइनलअघि लगातार ५ खेलमा गोल गरेका मेसीले स्विट्जरल्यान्ड र इङ्ग्ल्यान्डविरुद्ध गोल नगरे पनि सेमिफाइनलका दुवै गोलमा सानदार असिस्ट गर्दै प्लेअर अफ दी म्याच बनेका थिए। मेसीलाई अग्रपङ्क्तिमा जुलियन अल्भारेज, इन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले उत्तिकै बलियो साथ दिइरहेका छन् ।

सन् १९६२ मा ब्राजिलपछि लगातार दोस्रो पटक विश्वकप उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने दाउमा रहेको अर्जेन्टिनाका लागि फाइनलसम्मको यात्रा भने निकै कठिन रह्यो । स्पेनलाई हराएमा अर्जेन्टिना चौथो पटक विश्वविजेता बन्ने छ, तर यसपालि नकआउट चरणमा उसले तिनै खेल बल्लतल्ल जितेको हो । नकआउट चरणमा नवप्रवेशी केप भेर्डेलाई ३–२ ले हराउन अतिरिक्त समय आवश्यक परेको अर्जेन्टिना प्रिक्वाटरफाइनलमा इजिप्टविरुद्ध अन्तिम ११ मिनेटसम्म २ गोलले पछाडि थियो । त्यस्तै क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले हराएको अर्जेन्टिना सेमिफाइनलमा इङ्ग्ल्यान्डविरुद्ध ८५ औँ मिनेटसम्म १–० ले पछाडि थियो । तर अन्तिम समयमा मेसीको पासमा इन्जो र लाउटारोले गोल गर्दै इङ्ग्ल्यान्डलाई स्तब्ध पारेका थिए । यस विश्वकपमा अर्जेन्टिनाको सबभन्दा ठुलो विशेषता नै अन्तिम समयसम्म हार नमान्ने मानसिकता हो, जसमा गत विश्वकप जितेका २६ खेलाडीमध्ये १७ जनाको अनुभवले काम गरेको छ।

अर्जेन्टिनाको तुलनामा लुइस डी ला फुयन्टेको प्रशिक्षकत्वमा रहेको स्पेनको फाइनलसम्मको यात्रा सहज, संयमित र लोभलाग्दो छ । पहिलो खेलमा नवप्रवेशी केप भेर्डेसँग गोलरहित बराबरीमा रोकिएर आलोचना खेपेको स्पेनले त्यसपछि उरुग्वे र साउदी अरबलाई हराएर समूह विजेता बनेको थियो । सन् २०२४ मार्चदेखि नहारेको स्पेनको निर्धारित समयमा अपराजित यात्रा ३७ खेल पुगेको छ, जसमा २८ जित र ९ बराबरी सामेल छन् । स्पेनले यस विश्वकपमा १२ गोल गरेर मात्र १ गोल बेहोरेको छ, जहाँ गोलरक्षक उनाई सिमन्सले ६५० मिनेटसम्म गोल नबेहोरेर कीर्तिमान राखेका थिए। समूह चरण पार गरेपछि स्पेनले फाइनल यात्रामा अस्ट्रिया, क्रिस्टियानो रोनाल्डोको पोर्चुगल, बेल्जियम र सेमिफाइनलमा अर्को बलियो टोली फ्रान्सलाई २-० ले हराएर उच्च मनोबलका साथ फाइनलमा प्रवेश गरेको हो । स्पेन हाल सावधानीपूर्ण र बलमाथि नियन्त्रण बनाएर आक्रमण गर्ने शैलीमा खेलिरहेको छ र टिममा रोड्री, पेड्री, फाबियन रुइज, ५ गोल गरेका मिकेल ओयरजाबल तथा वैकल्पिक स्ट्राइकर मेरिनो जस्ता खेलाडी मुख्य भूमिकामा छन्।

इतिहास हेर्ने हो भने स्पेन र अर्जेन्टिनाबिचको हेड टु हेड रेकर्ड निकै रोचक र बराबरीको छ । हालसम्म यी दुई देशबिच १४ अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा दुवैले समान ६-६ खेल जितेका छन् भने २ खेल बराबरीमा सकिएको छ । विश्वकपको इतिहासमा भने यी दुई टोली एक पटक मात्र आमनेसामने भएका छन्, जहाँ सन् १९६६ को विश्वकप समूह चरणमा अर्जेन्टिनाले स्पेनलाई २–१ ले पराजित गरेको थियो । इतिहास र वर्तमानको यो महासङ्ग्राममा आज आइतबार राति न्युजर्सीको मैदानमा कसले बाजी मार्ला र मेसीले अर्को विश्वकप ट्रफी उचाल्लान् कि १९ वर्षे यमालले स्पेनलाई विश्वविजेता बनाउलान् भन्ने कुरामा अब सम्पूर्ण फुटबल प्रेमीको नजर टिकेको छ। रोयटर्स


ताजा खबर