आधुनिक सडक पूर्वाधारको क्षेत्रमा नयाँ इतिहास रच्दै नेपालीको सुरुङमार्गमा गाडी चलाउने सपना नागढुङ्गा सुरुङमार्गमार्फत साकार हुने भएको छ। मुलुकको भौतिक पूर्वाधारको इतिहासमा सुरुङ युगको प्रस्थानविन्दुका रूपमा लिइएको यो बहुप्रतीक्षित आयोजना निर्माण सुरु भएको ८० महिनापछि सोमबारदेखि सञ्चालनमा आउन लागेको हो। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का केन्द्रीय अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले यसको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले आयोजनालाई हस्तान्तरण गरिसकेको यो सुरुङमार्गमा पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आपत्कालीन सवारीसाधन मात्र सञ्चालन गरिनेछ। सुरक्षा र प्राविधिक पक्ष चुस्त राख्न आगामी तीन महिनासम्म परीक्षणकाल सञ्चालन गरी सर्वसाधारणका सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश गराइनेछ।
कुल २५ अर्ब रुपियाँको लागतमा निर्मित यस आयोजनामा १९ अर्ब जापानी सहुलियत ऋण र जग्गा मुआब्जाको ६ अर्ब नेपाल सरकारले व्यहोरेको छ। कुल ४८० रोपनी जग्गा अधिग्रहण गरेर बनाइएको यस पूर्वाधारमा मुख्य सुरुङ २.६८ किलोमिटर र आपत्कालीन उद्धार सुरुङ २.५५ किलोमिटर लामो रहेको छ। तोकिएको ४२ महिनाको साटो विविध कारणले दोब्बर समय लागेर सम्पन्न भएको यस सुरुङमार्ग प्रयोग गरेबापत सवारीको प्रकार हेरी ६० देखि छ सय रुपियाँसम्म शुल्क बुझाउनुपर्नेछ, जसले उपत्यकाको मुख्य नाकाको ट्राफिक जाम र जोखिमपूर्ण यात्रालाई सधैँका लागि सहज बनाउने विश्वास लिइएको छ। रासस




















