अधिकारी र सुब्बालाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई प्रदान गरिएको छ ।

दाहालको आठौँ स्मृति दिवसका अवसरमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ ले आयोजना गरेको कार्यक्रममा एक लाख ५० हजार रुपियाँ राशिको उक्त पुरस्कार अधिकारी र सुब्बालाई संयुक्त रूपमा प्रदान गरिएको हो । पुरस्कार साहित्यकार एवं संविधान सभा सदस्य शान्ता मानवी, पूर्वमन्त्री गिरिराजमणि पोखरेल र सदनकी अध्यक्ष सुधा दाहालले प्रदान गर्नुभयो ।

‘दाहाल यज्ञनिधि सुधा सदन’ ले हरेक वर्ष विशिष्ट व्यक्तित्वलाई पुरस्कार तथा बालप्रतिभा सम्मान प्रदान गर्ने परम्परा रहेको छ । यस वर्षको ‘दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कार’ भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल) को कक्षा ८ उत्तीर्ण हुँदा नेपाली विषयमा ‘४ जिपिए’ ल्याउने छ जना विद्यार्थीलाई प्रदान गरिएको छ । २० हजार रुपियाँ राशि र प्रमाणपत्रसहितको उक्त पुरस्कार आराध्या सिंह, प्रतीक्षा पोर्तेल, इसिका श्रेष्ठ, मानवी बोगटी, उपासना वज्राचार्य र सफलबहादुर खड्काले प्राप्त गर्नुभएको छ । दाहालले लामो समय अध्यापन गरेको दरबार स्कुलमा उहाँकै नाममा यो पुरस्कार स्थापना गरिएको हो ।

सो कार्यक्रममा मानवीले नेपाली साहित्य र कुनाकाप्चामा रहेका सिर्जनालाई रेडियो नेपालमार्फत आमजनतामाझ पु¥याउन दाहालको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । पूर्वमन्त्री पोखरेलले शिक्षा, साहित्य र सञ्चार क्षेत्रमार्फत नेपाली भाषाको विकासमा दाहालले पु¥याउनुभएको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभयो ।  यसै गरी सञ्चारकर्मी दाहाल यज्ञनिधि र उहाँको नाममा स्थापित पुरस्कारबाट सम्मानित साहित्यकार अधिकारी र निर्देशक सुब्बाको व्यक्तित्व, कृतित्व र सिर्जनाका विषयमा साहित्यकार डा. रमेश शुभेच्छुले चर्चा गर्नुभएको थियो । रासस


ताजा खबर