ललितपुर महानगरपालिकाले आपत्कालीन स्वास्थ्य अवस्थामा नागरिकलाई घरैमा चिकित्सक र पारामेडिक्स पुर्याउने बिल्कुलै नयाँ मोडलको निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। अब बिरामीलाई अस्पताल लैजानै नसक्ने अवस्था वा अचानक स्वास्थ्य बिग्रिएमा एम्बुलेन्स खोज्दै भौँतारिनुपर्ने छैन। फोन आएको १५ मिनेटभित्रै बिरामीको घरमै पुगेर तत्काल उपचार सुरु गर्ने लक्ष्यका साथ यो आधुनिक सेवा सञ्चालनमा ल्याइएको हो।

महानगरपालिकाले सुरु गरेको यो सेवा सामान्य एम्बुलेन्सभन्दा फरक छ, जसको मुख्य उद्देश्य बिरामीलाई अस्पताल पुर्याउनु मात्र नभई अस्पताल नपुग्दै आवश्यक आपत्कालीन उपचार सुरु गर्नु हो। एम्बुलेन्सभित्रै भेन्टिलेटर, अक्सिजन, आकस्मिक औषधि र आवश्यक उपकरणहरू उपलब्ध गराइएका छन्। घरमै पुगेर चिकित्सक र पारामेडिक्सको टोलीले प्रारम्भिक उपचार गर्नेछ र आवश्यक परे बिरामीको इच्छा अनुसार उपत्यकाका जुनसुकै अस्पतालमा पुर्याइनेछ।

सेवालाई चुस्त बनाउन दुई वटा भेन्टिलेटरयुक्त एम्बुलेन्स, ६ जना चिकित्सक, ६ जना पारामेडिक्स र ३ जना फोन अपरेटर खटाइएको छ। बिरामीको घर सजिलै पत्ता लगाउन जिपिएस प्रविधिको प्रयोग गरिनेछ। यो प्रणालीलाई एउटा बलियो आपत्कालीन उपचार हबका रूपमा विकास गर्न त्रिवि शिक्षण, वीर र पाटन अस्पतालका आकस्मिक विभाग प्रमुखहरूलाई सल्लाहकारका रूपमा समेटिएको छ।

नगर प्रमुख चिरिबाबु महर्जनले वैदेशिक भ्रमणका क्रममा देखिएको अन्तर्राष्ट्रिय अभ्यासबाट प्रभावित भई नगरसभाबाट यो अवधारणा पारित गराउनुभएको थियो। लामो गृहकार्यपछि सोमबारबाट औपचारिक रूपमा सुरु भएको यस सेवाको उद्घाटन गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आकस्मिक अवस्थामा हरेक सेकेन्ड महत्त्वपूर्ण हुने बताउँदै महानगरको यो कदमको प्रशंसा गर्नुभयो र मन्त्रालयका तर्फबाट पूर्ण सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। रासस




















