बाबु-छोराको स्वरमा गुन्जिए जीवनका बहुरङ्गी लयहरू

जीवनका हर उकाली-ओराली, चोट र उत्सवलाई जब सङ्गीतको धागोमा उनिन्छ, तब रङ्गमञ्च केवल एउटा मञ्च रहँदैन—त्याहाँ समय आफैँ ठप्पिएर बस्छ। कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा हालै सम्पन्न भएको २१ वर्ष पुरानो साङ्गीतिक शृङ्खला ‘पलेँटी’ मा यस्तै एउटा अलौकिक दृश्य देखियो, जहाँ अग्रज स्रष्टा मदनकृष्ण श्रेष्ठ र उनका छोरा यमन श्रेष्ठ एकाकार भएर पोखिए।

संयोजक आभासको सहजीकरणमा झन्डै दुई घण्टा चलेको उक्त कार्यक्रममा १६ वटा कालजयी र भावुक धुनहरू गुन्जिए। कार्यक्रमको सुरुवात नै मदनकृष्णको सदाबहार गीत ‘अरबौं मान्छेहरूमा तिमी एक मनमिल्ने मान्छे’ बाट भयो। पहिलो गीतलगत्तै सञ्चालकले मदनकृष्णको स्वास्थ्य र अनवरत सक्रियतालाई सेलिब्रेसन गर्ने उद्घोष गर्दा सिङ्गो हल तालीको गडगडाहटले जीवन्त बन्यो। बाबु-छोराको यो साङ्गीतिक जुगलबन्दीमा जीवनका सबै रसहरू समेटिएका थिए। दिनेश अधिकारीको रचनामा मदनकृष्णले जब ‘पहाड भो मलाई यो उमेर काट्न…’ काव्यात्मक शैलीमा वाचन गरे, हलमा उपस्थित अधिकांश दर्शकका गह रसाए। गम्भीर गीतहरूकै बीचमा पनि उनीहरूले विगतका किस्साहरू सुनाउँदा हल हाँसोले गुन्जायमान हुन्थ्यो। विशेष गरी सुदूर विगतमा दूरदर्शनमा गीत छायांकन गर्दा दूतावासका कर्मचारीको प्वाल परेको दौरा-सुरुवाल मागेर लगाएको प्रसङ्गले दर्शकलाई हँसाएर नीलो बनायो।

यसपालिको पलेँटीमा यमन श्रेष्ठको साङ्गीतिक प्रतिभा पनि उत्तिकै प्रस्फुटित भयो। उनले आफ्नै रचना र सङ्गीतका साथै नीर शाह र कमल मैनालीका रचनाहरू सुनाए। अमेरिका बसाइको अनुभव झल्काउने ‘रिम्दै आए घुम्दै आए अमेरिकामा’ र समाजको कुरा काट्ने प्रवृत्तिमाथिको व्यङ्ग्य ‘मुख र कान भेट हो कि’ ले दर्शकलाई बेग्लै स्वाद दिलायो। दर्शकदीर्घामा रहेकी लेखक अमृता लम्सालले बाबु-छोराको यो प्रस्तुतिलाई हाँस्य, करुणा, पीडा र विस्मातको अद्भुत संगम भन्दै आँसु पुस्दै ताली बजाएको अनुभूति साटेकी छिन् भने मानवअधिकारकर्मी मोहना अन्सारीले पनि यस क्षणलाई अविस्मरणीय भनेकी छिन्।

दिनेशराज रेग्मी, मिलन घिमिरे, कृपेश लोहनी, सुदीप खत्री, मिलेश तण्डुकार र सुन्दर कुमार महर्जनको सशक्त वाद्यवादनले कार्यक्रमलाई अझ भव्य बनाएको थियो। राजनराज शिवाकोटीको चर्चित गीत ‘फुलबुट्टे सारी’ देखि दुर्गालाल श्रेष्ठको रचना र न्ह्यू बज्राचार्यको धुनमा सजिएको ‘सयथरी बाजा एउटै ताल’ सम्म पुग्दा दर्शकहरूले दुवै दिन उभिएर स्रष्टाहरूप्रति सम्मान प्रकट गरे।

अब भने अगष्ट महिनाको आगामी पलेँटी शृङ्खला (२८ र २९ तारिख) मा नेपाली कला क्षेत्रका शिखर पुरुष तथा गीतकार नीर शाह प्रस्तुत हुँदैछन्। ‘कहिलेकाँही म हाँस्छु’ र ‘पर्खी बसेँ आउला भनी’ जस्ता अजर-अमर गीतका स्रष्टा शाहले कार्यक्रममा आफ्ना गीतका रचनागर्भ साट्नेछन् भने पलेँटी टिमले उनका सिर्जनाहरू प्रस्तुत गर्नेछ। आयोजकका अनुसार आगामी शृङ्खलाका लागि पलेँटीको आधिकारिक वेबसाइटमार्फत टिकट बुकिङ खुलिसकेको छ। रासस


ताजा खबर