गरिमा विकास बैंक लिमिटेडको काठमाडौँ महानगरपालिका–३, बालुवाटारस्थित नवनिर्मित केन्द्रीय कार्यालयको विधिवत् रूपमा समुद्घाटन कार्य सम्पन्न भएको छ ।
विकास बैंकको आफ्नै स्वामित्वमा रहेको भवनमा स्थापित केन्द्रीय कार्यालयको नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले एक समारोहबिच समुद्घाटन गरेका हुन्। उक्त कार्यालयको समुद्घाटनसँगै हाल लाजिम्पाट, काठमाडाैँ रहेको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडाैँमा स्थानान्तरण गरिएको छ ।
२०६४ साल कार्तिक १८ गते स्याङ्जाको वालिङबाट औपचारिक रूपमा वित्तीय कारोबार प्रारम्भ गरेको विकास बैंकले २०६७ साल वैशाख १ गते कास्कीको महेन्द्रपुलमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको र राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएपश्चात २०७३ साल चैत २७ गते आफ्नो केन्द्रीय कार्यालय पोखराबाट काठमाडाैँको लाजिम्पाटमा स्थानान्तरण गरेको थियो । नवनिर्मित केन्द्रीय कार्यालयको समुद्घाटनको कार्यक्रमको अवसरमा कार्यालय परिसरमा निर्मित मन्दिरमा शिव पाञ्चायन प्राण प्रतिष्ठा सहित धार्मिक पूजाआजा समेत आयोजना गरिएको थियो ।

समुद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा.विश्वनाथ पौडेलसँगै, धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल प्रसाद भट्ट, नेपाल राष्ट्र बैंक लगायत अन्य नियमनकारी निकायका पदाधिकारीहरू, गरिमा विकास बैंकका सञ्चालक समितिका सदस्यहरू, विकास बैकका पूर्व पदाधिकारीहरू, उच्च व्यवस्थापन पदाधिकारीहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सहित उच्च पदस्थ पदाधिकारीहरू, विकास बैंकका सेयर धनीहरू, कर्मचारीहरू, ग्राहकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
समुद्घाटन कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री माधव प्रसाद उपाध्यायले २०६४ सालमा स्याङ्गजाको वालिङबाट सुरु भएको यात्रा पोखरा हुँदै २०७३ सालमा काठमाडौँ आइपुगेकोमा, आफ्नै स्वामित्वको भवनमा केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै विकास बैंकको अर्को अध्याय सुरु भएको बताए । साथै, वहाँले विकास बैंकको सफल व्यावसायिक यात्रामा लाखौँ ग्राहक, हजारौँ शेयर धनी, नियमनकारी निकायहरू, व्यावसायिक साझेदार संस्थाहरूको विश्वास सँगै कर्मचारीहरूको कठोर मेहनत र योगदान तथा संस्थागत सुशासन महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
त्यसैगरी समुद्घाटन समारोहको समापन सत्रमा बोल्दै विकास बैंकका अध्यक्ष श्री दिलिप प्रताप खाँणज्यूले ग्राहकलाई थप सहज, प्रभावकारी तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै संस्थागत सुशासन, प्रविधि, नवप्रवर्तन र दिगो विकासलाई प्राथमिकतामा राखी आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय सहित ५१ एटीएम मेसिन एवं नवीनतम बैंकिङ्ग सुविधा सहित करिब १० लाख ग्राहकहरूलाई सरल सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।




















