बालमस्तिष्कमा स्क्रिन प्रभाव: त्रास कि अनावश्यक डर?

विश्व स्वास्थ्य संगठनले एक वर्षमुनिका बालबालिकालाई स्क्रिन नदिन र चार वर्षमुनिका लागि दिनमा १ घण्टाभन्दा बढी नबनाउन सुझाव दिएको छ। 

घरको काम गरिरहेकी एक आमाले सानो छोरालाई केहीबेर व्यस्त राख्न बाबुको आईप्याड दिइन्। केही समयपछि उनलाई छोराले कति बेरदेखि प्रयोग गरिरहेको छ र के हेरिरहेको छ भन्ने चिन्ता लाग्यो। उनले आईप्याड फिर्ता माग्दा बालकले नदिन जोडले करायो, लात हान्यो, आईप्याड समातेर बस्यो र आमालाई धकेल्नसम्म खोज्यो। यो घटनाले ती आमालाई एउटा गम्भीर प्रश्नमा सोच्न बाध्य बनायो— के स्क्रिनले बालबालिकामा साँच्चै यति गहिरो असर पारिरहेको छ?

अचेल धेरै अभिभावक यस्तै द्विविधामा छन्। ठूला सन्तान सामाजिक सञ्जाल, भिडियो गेम, भर्चुअल रियालिटी र स्मार्टफोनमा व्यस्त छन्। ‘टच ग्रास’ अर्थात् मोबाइल छोडेर बाहिर खेल्न जाऊ भन्ने ठट्टा पनि अहिलेका किशोरकिशोरीबीच सामान्य बनिसकेको छ। अझ रोचक कुरा त के छ भने, एप्पलका सहसंस्थापक स्टिभ जब्सले आफ्नै सन्तानलाई आईप्याड प्रयोग गर्न दिएका थिएनन् भने माइक्रोसफ्टका संस्थापक बिल गेट्सले पनि आफ्ना छोराछोरीको प्रविधि प्रयोगमा कडा सीमा लगाएका थिए।

पछिल्ला वर्षहरूमा स्क्रिन समयलाई किशोरहरूमा बढ्दो डिप्रेसन, व्यवहारगत समस्या, निद्राको कमी र मानसिक स्वास्थ्यका विभिन्न समस्यासँग जोडेर हेरिएको छ। केही वैज्ञानिकले त इन्टरनेट र भिडियो गेमले किशोर मस्तिष्कलाई नै क्षति पुर्याउन सक्ने दाबी गरेका थिए। तर पछिल्ला अनुसन्धानहरूले यो बहसलाई नयाँ मोड दिएका छन्। धेरै वैज्ञानिक भन्छन्, स्क्रिनको हानिकारक प्रभावबारे अहिलेसम्म पर्याप्त र ठोस वैज्ञानिक प्रमाण उपलब्ध छैन।

बाथ स्पा विश्वविद्यालयका मनोविज्ञान प्राध्यापक पीट एचेल्सले स्क्रिन समय र मानसिक स्वास्थ्यसम्बन्धी सयौं अनुसन्धानको समीक्षा गर्दै भनेका छन्, ‘स्क्रिनले भयानक परिणाम निम्त्याउँछ भन्ने दाबीलाई पुष्टि गर्ने ठोस वैज्ञानिक प्रमाण छैन।’ अमेरिकन साइकोलोजिकल एसोसिएसनले सन् २०२१ मा प्रकाशित गरेको अध्ययन तथा सन् २०२४ मा ११ वटा अध्ययनको समीक्षाले पनि सुत्नुअघि स्क्रिन हेर्दा निद्रा बिग्रन्छ वा मानसिक स्वास्थ्यमा ठूलो असर पर्छ भन्ने स्पष्ट प्रमाण फेला पारेनन्।

वैज्ञानिकहरूका अनुसार समस्याको मुख्य कारण अनुसन्धानको विधिमै छ। अधिकांश अध्ययनमा सहभागीलाई आफैंले सम्झेर उत्तर दिन लगाइन्छ (आत्म-रिपोर्टिङ), जुन सधैं विश्वसनीय हुँदैन। प्राध्यापक एचेल्सका अनुसार, दुई कुरा एउटै समयमा बढ्दै जानुको अर्थ एउटाले अर्कोलाई असर गरेको हो भन्ने हुँदैन—जस्तै चिन्ता र डिप्रेसन भएका किशोरहरूले मोबाइल धेरै चलाउनुको वास्तविक कारण मोबाइल नभई उनीहरूको ‘एक्लोपन’ हुन सक्छ।

अर्को महत्वपूर्ण कुरा, सबै ‘स्क्रिन समय’ एउटै हुँदैन। अनलाइन कक्षा लिनु, साथीहरूसँग भिडियो कल गर्नु वा नयाँ सीप सिक्नु र निरन्तर नकारात्मक सामग्री स्क्रोल गर्नुमा धेरै फरक हुन्छ। अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक एन्ड्रयु प्रजिबिल्स्कीको नेतृत्वमा ११,५०० बालबालिकामा गरिएको अध्ययनले स्क्रिन प्रयोगले मानसिक स्वास्थ्य वा बौद्धिक क्षमतामा नकारात्मक असर पारेको प्रमाण फेला पारेन। उनका अनुसार भिडियो गेम र सामाजिक सञ्जालले केही अवस्थामा मनोबल र सामाजिक सम्बन्ध सुधार्न मद्दत पनि पुर्याउँछन्।

यद्यपि, यसले इन्टरनेटमा जोखिम छैन भन्ने होइन। साइबर दुव्र्यवहार, अश्लील वा हिंसात्मक सामग्री र यौन शोषणजस्ता खतराहरू वास्तविक छन्। तर स्क्रिन समयलाई मात्र दोषी ठहर्याउँदा वास्तविक जोखिम पहिचान गर्न कठिन हुने वैज्ञानिकहरूको तर्क छ।

अर्कातिर, सान डिएगो स्टेट विश्वविद्यालयकी मनोविज्ञान प्राध्यापक जीन ट्वेन्ज भने स्मार्टफोन र सामाजिक सञ्जाललाई किशोरहरूको डिप्रेसनको मुख्य कारक मान्छिन्। डेनमार्कमा १८१ बालबालिकामा गरिएको अध्ययनमा स्क्रिन प्रयोग घटाउँदा मानसिक र सामाजिक व्यवहारमा सुधार आएको पाइएको थियो।

यसैबीच अभिभावकहरू अन्योलमा छन्। विश्व स्वास्थ्य संगठन (WHO) ले एक वर्षभन्दा कम उमेरका बालबालिकालाई स्क्रिन नदिन र चार वर्षमुनिका लागि दिनमा १ घण्टाभन्दा बढी नबनाउन सुझाव दिएको छ। अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले भने कुनै निश्चित दैनिक समय नतोकी सन्तुलनमा जोड दिएको छ।

आजको चुनौती केवल ‘कति समय स्क्रिन हेर्ने?’ भन्ने होइन, प्रविधिको यो तीव्र विकासको युगमा ‘स्क्रिन कसरी र किन प्रयोग गर्ने?’ भन्ने प्रश्नको सही उत्तर खोज्नु हो। बीबीसी


ताजा खबर