प्रा. डा. चन्द्रमणी पौडेल
सिनियर कन्सल्ट्यान्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट
लक्षण नदेखिँदै मुटु, मस्तिष्क, मिर्गौला र आँखामा क्षति पुर्याइरहेको हुन सक्छ उच्च रक्तचाप
उच्च रक्तचाप सुन्दा सामान्य लाग्ने स्वास्थ्य समस्या हो। धेरैलाई ‘प्रेसर अलिकति बढेको त हो नि’ भन्ने लाग्छ। टाउको नदुखेको, रिँगटा नलागेको वा शरीरमा कुनै असहजता नभएको अवस्थामा आफू स्वस्थ नै छु भन्ने ठान्नेहरू पनि धेरै छन्। तर उच्च रक्तचापको सबैभन्दा खतरनाक पक्ष नै यही हो – यसले धेरैपटक कुनै लक्षण नदिई शरीरभित्र आफ्नो काम गरिरहेको हुन्छ। बाहिरबाट मानिस सामान्य देखिए पनि भित्रभित्रै मुटु, मस्तिष्क, मिर्गौला र आँखाजस्ता महत्वपूर्ण अङ्गमा क्षति पुर्याइरहेको हुन सक्छ।
उच्च रक्तचापको वास्तविक गम्भीरता त्यसको असर भोगेपछि मात्र थाहा पाउने मानिस धेरै छन्। कसैको परिवारमा हृदयाघात भएपछि, कसैलाई मस्तिष्कघात भएर पक्षघात भएपछि, कसैको मिर्गौला बिग्रिएपछि वा दृष्टिमा समस्या आएपछि मात्र ‘प्रेसर’लाई गम्भीर रूपमा लिन थालिन्छ। तर समस्या त्यहाँसम्म पुग्न नदिनु नै सबैभन्दा बुद्धिमानी हो। उच्च रक्तचापलाई नियन्त्रणमा राख्नु भनेको केवल एउटा नम्बर घटाउनु होइन, भविष्यमा हुनसक्ने ठूलो स्वास्थ्य दुर्घटनाबाट आफूलाई जोगाउनु हो।
लक्षण छैन भन्दै ढुक्क नहुनुस्
उच्च रक्तचाप भएका सबै व्यक्तिमा टाउको दुख्ने, रिँगटा लाग्ने वा अन्य कुनै लक्षण देखिन्छ भन्ने हुँदैन। कसैलाई रक्तचाप केही बढ्नासाथ असहज महसुस हुन सक्छ भने कतिपय व्यक्तिमा रक्तचाप निकै उच्च हुँदासमेत कुनै विशेष लक्षण नदेखिन सक्छ। अझ कतिपय अवस्थामा मानिसलाई आफ्नो रक्तचाप लामो समयदेखि उच्च रहेको कुरा हृदयाघात वा मस्तिष्कघात भएपछि मात्र थाहा हुन्छ।
यही कारण उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ अर्थात् लक्षण नदिई क्षति पुर्याउने रोगका रूपमा बुझिन्छ। लक्षण नदेखिनु रोग नभएको प्रमाण होइन। रक्तचाप निरन्तर उच्च रहँदा रक्तनलीमा दबाब बढ्छ र समयसँगै मुटु, मस्तिष्क, मिर्गौला तथा आँखामा गम्भीर असर पर्न सक्छ। त्यसैले ‘मलाई केही भएको छैन’ भन्ने अनुभूतिलाई स्वास्थ्य ठीक भएको प्रमाण मान्नु हुँदैन। नियमित रक्तचाप परीक्षण गर्नु नै सबैभन्दा सरल र प्रभावकारी सावधानी हो।
औषधिसँग डराउने कि अनियन्त्रित प्रेसरसँग?
उच्च रक्तचापको औषधि सुरु गर्ने कुरा आउँदा धेरै मानिस हिच्किचाउँछन्। ‘एकपटक औषधि सुरु गरेपछि जीवनभर खानुपर्छ’, ‘औषधिले शरीर बिगार्छ’, ‘साइड–इफेक्ट गर्छ’ भन्ने धारणा समाजमा व्यापक छ। तर औषधिबारेको डरभन्दा अनियन्त्रित रक्तचापको जोखिम कति ठूलो छ भन्ने कुरा बुझ्न आवश्यक छ।
पहिलोपटक रक्तचाप केही बढेको अवस्थामा, अन्य जोखिम कम भएको अवस्थामा तथा शरीरका महत्वपूर्ण अङ्गमा क्षति नपुगेको अवस्थामा चिकित्सकले जीवनशैली परिवर्तन गरेर केही समय निगरानी गर्न सुझाव दिन सक्छन्। स्वस्थ खानपान, नुनको मात्रा कम गर्ने, नियमित व्यायाम गर्ने, तौल नियन्त्रण गर्ने, धूम्रपान तथा मदिराबाट टाढा रहने र पर्याप्त निद्रा लिने जस्ता उपायले रक्तचाप नियन्त्रणमा सहयोग पुर्याउँछन्। तर यी उपाय अपनाउँदा पनि रक्तचाप उच्च नै रहिरहेमा औषधि सुरु गर्न ढिलाइ गर्नु हुँदैन।
रक्तचाप नियन्त्रणमा राख्नु नै औषधिको मुख्य उद्देश्य हो। औषधिले रक्तचाप नियन्त्रणमा राखेर मुटु, मस्तिष्क, मिर्गौला र आँखामा हुनसक्ने दीर्घकालीन क्षति कम गर्न मद्दत गर्छ। कतिपय अवस्थामा जीवनशैलीमा सुधार आएपछि रक्तचाप घट्दै जान सक्छ। त्यसबेला चिकित्सकको सल्लाहअनुसार औषधिको मात्रा घटाउन वा आवश्यकताअनुसार औषधि परिवर्तन गर्न सकिन्छ। त्यसैले ‘औषधि सुरु गरेपछि कहिल्यै बन्द गर्न सकिँदैन’ भन्ने धारणा सही होइन।
‘साइड इफेक्ट’को डरले औषधि नछोडौँ
हरेक औषधिमा केही सम्भावित साइड–इफेक्ट हुन्छन्। उच्च रक्तचापका औषधिमा पनि केही व्यक्तिमा खुट्टा सुन्निने, मुटुको धड्कनमा परिवर्तन, सुक्खा खोकी, स्वाँ स्वाँ हुने वा अन्य समस्या देखिन सक्छ। तर सम्भावित साइड इफेक्ट हुनु र सबैलाई साइड इफेक्ट हुनु एउटै कुरा होइन।
औषधि सुरु गरेपछि आफूमा पहिले नभएको कुनै नयाँ समस्या देखापरेमा औषधि आफैँ बन्द गर्नु हुँदैन। चिकित्सकसँग सम्पर्क गरेर त्यसबारे जानकारी दिनुपर्छ। आवश्यक परे चिकित्सकले औषधिको मात्रा परिवर्तन गर्न वा अर्को औषधि प्रयोग गर्न सक्छन्। नियमित चिकित्सकीय निगरानीमा रहेमा सम्भावित समस्या समयमै पहिचान गर्न सकिन्छ।
तर ‘औषधिले साइड इफेक्ट गर्छ’ भनेर औषधि नै नखाई लगातार उच्च रक्तचाप लिएर बस्नु धेरै ठूलो जोखिम हो। अनियन्त्रित उच्च रक्तचापले हृदयाघात, मस्तिष्कघात, मिर्गौलाको गम्भीर क्षति तथा आँखाको दृष्टिसम्बन्धी समस्या निम्त्याउन सक्छ। यस्तो अवस्थामा औषधिको सम्भावित साइड इफेक्टको डरभन्दा अनियन्त्रित रक्तचापले निम्त्याउन सक्ने क्षतिलाई गम्भीर रूपमा बुझ्नुपर्छ।
मेडिकलबाट औषधि किनेर खाने होइन, चिकित्सकसँग सल्लाह गर्ने
उच्च रक्तचापको औषधि सबै व्यक्तिका लागि एउटै हुँदैन। बिरामीको उमेर, तौल, रक्तचापको स्तर, मिर्गौला र मुटुको अवस्था, अन्य रोग, खानपान तथा जीवनशैलीलगायत धेरै पक्षलाई ध्यानमा राखेर औषधि छनोट गरिन्छ। कसैलाई एउटा औषधि पर्याप्त हुन सक्छ भने कसैलाई दुई वा त्यसभन्दा बढी औषधिको आवश्यकता पर्न सक्छ।
त्यसैले छिमेकी, साथी वा आफन्तले खाइरहेको औषधि आफूले पनि खानु उचित हुँदैन। मेडिकलबाट चिकित्सकको सल्लाहबिना औषधि किनेर खाने, आफैँ मात्रा बढाउने वा घटाउने तथा रक्तचाप ठीक भयो भन्दै अचानक औषधि बन्द गर्ने बानी जोखिमपूर्ण हुन सक्छ।
औषधि खानुभन्दा पनि सही समयमा नियमित खानु महत्वपूर्ण
एकभन्दा बढी औषधि खानुपर्ने बिरामीमा औषधि खाने समय र मात्रा सम्झन गाह्रो हुने समस्या पनि देखिन्छ। एउटा खानुपर्नेमा दुईपटक खाने, खानुपर्ने औषधि छुटाउने, बिहान खानुपर्ने औषधि बेलुका खाने वा औषधि सकिएपछि केही दिन नखानेजस्ता गल्ती सामान्य देखिन्छन्। यस्ता साना गल्तीले रक्तचाप फेरि अनियन्त्रित हुन सक्छ।
विशेषगरी उमेर पुगेका, एक्लै बस्ने वा धेरै औषधि सेवन गर्ने बिरामीलाई परिवारका सदस्यले सहयोग गर्नुपर्छ। औषधिलाई छुट्टाछुट्टै राखेर कुन औषधि कुन समयमा खाने भन्ने बुझाउने, आवश्यक परे औषधि खाने समय सम्झाउने व्यवस्था गर्ने जस्ता साना प्रयासले ठूलो गल्ती रोक्न सक्छ। औषधि नियमित र सही तरिकाले सेवन गर्नु उपचारको महत्वपूर्ण हिस्सा हो।
तनाव, निद्राको कमी र अव्यवस्थित जीवनशैली पनि खतरा
उच्च रक्तचाप नियन्त्रणका लागि औषधि मात्र पर्याप्त हुँदैन। निरन्तर मानसिक तनाव, पर्याप्त निद्रा नपुग्नु, शारीरिक व्यायामको कमी, अस्वस्थ खानपान, धूम्रपान तथा मदिराको सेवनले स्वास्थ्यमा थप जोखिम निम्त्याउँछन्। अत्यधिक व्यस्त जीवनशैली भएका मानिसले आफ्नो स्वास्थ्य परीक्षणका लागि समय निकाल्न नसक्दा समस्या झन् जटिल बन्न सक्छ।
व्यवसाय वा कामको व्यस्तता महत्वपूर्ण छ, तर स्वास्थ्यभन्दा ठूलो कुनै व्यस्तता हुन सक्दैन। नियमित शारीरिक गतिविधि, पर्याप्त निद्रा, स्वस्थ खानपान र मानसिक तनाव व्यवस्थापनलाई जीवनशैलीको अनिवार्य हिस्सा बनाउनुपर्छ।
योग, ध्यान र घरेलु उपाय उपयोगी हुन सक्छन्, तर उपचारको विकल्प होइनन्
करेला, मेथी, विभिन्न घरेलु उपाय, योग, ध्यान वा अन्य प्राकृतिक विधिबाट स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्छ। स्वस्थ जीवनशैली अपनाउनु निश्चित रूपमा राम्रो कुरा हो। तर यस्ता उपाय अपनाउँदा पनि रक्तचाप नियन्त्रणमा आएन भने चिकित्सकले सिफारिस गरेको औषधि लिन आवश्यक हुन्छ।
मुख्य कुरा औषधि खाने कि नखाने भन्ने होइन, रक्तचाप सुरक्षित सीमाभित्र कसरी नियन्त्रणमा राख्ने भन्ने हो। स्वस्थ जीवनशैली र आवश्यक परे चिकित्सकीय उपचारलाई सँगसँगै अघि बढाउनु नै बुद्धिमानी हो।
गुगलले जानकारी दिन सक्छ, उपचार गर्न सक्दैन
आजकल स्वास्थ्यसम्बन्धी कुनै पनि विषयमा इन्टरनेटमा खोज्ने बानी बढेको छ। सही स्रोतबाट जानकारी लिनु राम्रो कुरा हो। तर इन्टरनेटमा पढेको सामग्रीलाई आफ्नै रोगको निदान ठान्नु जोखिमपूर्ण हुन सक्छ।
मेडिकल शब्द र अनुसन्धानका जटिल विषयलाई गलत रूपमा बुझ्दा अनावश्यक डर र भ्रम पैदा हुन सक्छ। कुनै रोगका लक्षण पढेपछि आफूलाई पनि त्यही रोग भएको ठान्ने र अनावश्यक तनावमा पर्ने मानिस पनि भेटिन्छन्। त्यसैले इन्टरनेटलाई जानकारीको माध्यमका रूपमा प्रयोग गरौँ, तर रोगको निदान र उपचारका लागि सम्बन्धित चिकित्सकको सल्लाहलाई प्राथमिकता दिऔँ।
४० वर्षपछि ‘स्वास्थ्य जाँच’ नियमित बनाऔँ
उमेर बढ्दै जाँदा उच्च रक्तचाप, मधुमेह, मुटुसम्बन्धी समस्या तथा अन्य दीर्घरोगको जोखिम बढ्दै जान सक्छ। त्यसैले ४० वर्षको आसपास पुगेपछि स्वास्थ्यप्रति अझ बढी सचेत हुनु आवश्यक हुन्छ। आफूलाई कुनै समस्या नभए पनि नियमित स्वास्थ्य परीक्षण गराउने बानी बसाल्नुपर्छ।
स्वस्थ खाना, नियमित व्यायाम, पर्याप्त निद्रा, तनाव व्यवस्थापन, धूम्रपान तथा मदिराबाट दूरी र नियमित स्वास्थ्य परीक्षणले उच्च रक्तचापलगायत धेरै रोगको जोखिम कम गर्न सहयोग गर्छ। यदि उच्च रक्तचाप देखिइसकेको छ भने चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन र फलोअप अझ महत्वपूर्ण हुन्छ।
उच्च रक्तचाप दुख पाएपछि मात्र उपचार खोज्ने रोग होइन। यसले थाहा नहुनेगरी पनि शरीरलाई क्षति पुर्याइरहेको हुन सक्छ। त्यसैले ‘लक्षण छैन, म ठीक छु’ भन्ने भ्रम त्यागौँ। समयमै रक्तचाप जाँच गरौँ, आवश्यक परे चिकित्सकको सल्लाहमा उपचार सुरु गरौँ र स्वस्थ जीवनशैली अपनाऔँ। आज नियन्त्रणमा राखिएको रक्तचाप नै भोलिको हृदयाघात, मस्तिष्कघात, मिर्गौला फेलहुने र दृष्टि गुम्ने जोखिमबाट बच्ने सबैभन्दा ठूलो सुरक्षा हुन सक्छ।
सिनियर कन्सल्ट्यान्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा.पौडेल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र ॐ हस्पिटलमा कार्यरत हुनुहुन्छ ।






















