संसदमा प्रधानमन्त्री शाहसँग सवाल-जवाफ आज

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम सांसदहरूले दर्ता गराएका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिनेछन्। बैठक दिउँसो १ बजे बस्ने तय भएको छ।

प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा विभिन्न दलका ११ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने भएका छन्। प्रश्न सोध्ने सांसदहरूमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समीक्षा बाँस्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंह रहेका छन्।

त्यस्तै, नेपाली कांग्रेसका वासना थापा र गीता गुरुङ, नेकपा एमालेका ऐनबहादुर महर र गणेशसिंह ठगुन्ना, नेकपाका वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टीका हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की खुश्बु ओलीले प्रधानमन्त्रीलाई प्रश्न गर्नेछन्।

प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न गर्न प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा प्रश्नोत्तरका लागि छुट्याउने व्यवस्था छ। यसै व्यवस्थाअनुसार सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने गरी समय निर्धारण गरेका हुन्।

यसपटक प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहने सांसदहरूलाई सभामुखले भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न समय दिएका थिए। अधिकतम १५ जनासम्मले प्रश्न गर्न सक्ने व्यवस्था भए पनि निर्धारित समयभित्र ११ सांसदले मात्र प्रश्न दर्ता गराएका छन्।

संसद् सचिवालयका अनुसार सांसदहरूले राष्ट्रियता, सीमा सम्बन्धी विषय, सरकारका कामकारबाही तथा सरकार सञ्चालनको शैलीलगायत समसामयिक विषयमा प्रश्न दर्ता गरेका छन्। यद्यपि, प्रश्नको विषयवस्तु भने प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने समयमा मात्रै सार्वजनिक गर्ने व्यवस्था गरिएको छ।

प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था पनि रहेको छ। आजको प्रश्नोत्तर प्रधानमन्त्री शाहले नियमावलीको व्यवस्थाअनुसार सांसदका प्रश्नको जवाफ दिने पहिलो नियमित प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसमेत हो। रासस


ताजा खबर