रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको छ।
ॐ हस्पिटलका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठको नेतृत्वमा अस्पताल, चिकित्सक तथा कर्मचारीहरूको संयुक्त सहभागितामा उक्त सहयोग रकम प्रदान गरिएको हो। विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिक तथा परिवारप्रति ऐक्यबद्धता जनाउँदै अस्पताल परिवारले उक्त सहयोग गरेको जनाएको छ।
अस्पतालका अनुसार कुल १५ लाख रुपैयाँमध्ये अस्पतालको तर्फबाट १० लाख रुपैयाँ, चिकित्सकहरूको तर्फबाट ३ लाख ९९ हजार रुपैयाँ र कर्मचारीहरूको तर्फबाट १ लाख १ हजार रुपैयाँ सहयोग गरिएको हो।
भदौ १० गते बुधबार ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीका कारण भोटेकोशी क्षेत्रमा भएको अपूरणीय जनधनको क्षतिप्रति ॐ हस्पिटलले गहिरो दुःख व्यक्त गरेको छ। अस्पतालले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी भगवान् श्री पशुपतिनाथसँग प्रार्थना गरेको छ।
सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिक तथा परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै “दुःखको यस घडीमा हामी साथमा छौँ” भन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
डा. श्रेष्ठले राष्ट्रमा विपद् पर्दा ॐ हस्पिटल सधैँ नागरिकको साथमा रहने बताउँदै प्रभावितहरूको शीघ्र उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि अस्पताल आफ्नो तर्फबाट आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा आवश्यकता र परिस्थितिअनुसार उद्धार तथा राहतसँगै निःशुल्क स्वास्थ्य सेवा तथा उपचारका माध्यमबाट समेत सहयोगलाई निरन्तरता दिने बताउनुभयो।
प्राकृतिक विपद्का कारण परिवार, घर तथा सम्पत्तिसमेत गुमाएका नागरिकको पीडामा साथ दिनु संस्थाको सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्दै अध्यक्ष डा. श्रेष्ठले विपद्को समयमा सरकार, समुदाय र निजी क्षेत्रबीचको सहकार्य अझ मजबुत हुनुपर्ने बताउनुभयो। यस्तो सहकार्यले प्रभावित नागरिकको तत्कालीन राहतदेखि दीर्घकालीन पुनःस्थापनासम्म थप प्रभावकारी सहयोग पुग्ने उहाँको विश्वास छ।
गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समुदाय तथा राष्ट्रका लागि निरन्तर योगदान गर्दै आएको ॐ हस्पिटलले यसपटक गरेको सहयोगले विपद्मा परेका नागरिकको तत्काल राहत तथा पुनःस्थापनामा केही हदसम्म भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।
“दुःखको यस घडीमा हामी साथमा छौँ।”
ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर परिवार




















