प्रधानमन्त्रीद्वारा सुरक्षाकर्मीहरूको योगदानको उच्च कदर

प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने सुरक्षाकर्मीको उच्च कदर हुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आज उनले विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई सन्देश दिँदै सुरक्षाकर्मीलाई तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता नगर्ने बताएका छन्।

“तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज संकटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाउनुभएको छ। कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुनेछ”, प्रधानमन्त्री शाहले भने, “तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन। संकटका वेला खटिरहन प्रेरित गर्ने तपाईंको घरपरिवारप्रति पनि हामी कृतज्ञ छौँ। संकट व्यवस्थापनका लागि हाम्रा सुरक्षाकर्मीसँगै खटिरहनुभएका देश तथा विदेशका अन्य विज्ञहरुलाई पनि हामी विशेष धन्यवाद दिन्छौँ।”

प्रधानमन्त्री शाहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीको संयुक्त प्रयासमा प्रभावित क्षेत्रबाट अहिलेसम्म १३ हजार ३९१ मानिसलाई उद्धार गरिएको उनले उल्लेख गरेका छन्। सुरक्षाकर्मीले घाइतेलाई जतिसक्दो चाँडो अस्पताल पुर्‍याएको उनले बताएका छन्। शव व्यवस्थापन गर्न, प्रभावित क्षेत्रमा महामारी वा संक्रामक रोग फैलिन नदिन र शिविरमा प्रभावितलाई हौसला बढाउन हाम्रा तीनै निकायका सुरक्षाकर्मी अहोरात्र खटिरहेको प्रधानमन्त्री शाहको भनाइ छ।

बाढीका कारण ४५ जना सैनिक, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन रहेको उल्लेख गर्दै दिनरात खटिएको भन्दै प्रशंसा गरेका छन्। सेनाले बाढी आएलगत्तै सैनिक मुख्यालयको योजनानुसार नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा उपरथीको नेतृत्वमा ‘फरवार्ड हेडक्वार्टर’, ‘इमर्जेन्सी मेडिकल रेस्क्यु टिम’ र मुख्य ‘फरवार्ड एयर बेस’ खडा गरी उद्धार कार्य भइरहेको जानकारी दिएका छन्।

रसुवाको धुन्चे ब्यारेकमा सहायक रथीको नेतृत्वमा ‘ट्याक्टिकल हेडक्वार्टर’, चिकित्सकसहितको र ‘फरवार्ड मेडिकल टिम’ र अतिरिक्त ‘एयर बेस’ सञ्चालन गरिरहेको छ। प्रभावित क्षेत्रको कठिन भूगोलमा अन्य सुरक्षानिकायको सहयोग लिएर उद्धारको अगुवाइ गरिरहेको छ। विद्युत् आयोजनाका सुरुङ क्षेत्रमा पनि खोज तथा उद्धारको नेतृत्व गरिरहेको छ। यो उद्धार टोलीमा सशस्त्र प्रहरी बल, नेपालको विशेष खोज तथा उद्धार टोली र नेपाल प्रहरीको ‘डग टिम’ परिचालन भइरहेको छ।

सेनाले बेलीब्रिज निर्माण र बाटो खोल्ने काम तीव्र पारेको छ। नुवाकोटको देवीघाटमा सेना आफैँले आफ्ना इन्जिनियरहरू परिचालन गरी एक्रो ब्रिज जडान गरिरहेको छ। बाढी प्रभावित क्षेत्रमा अहिले नौ हजार २८७ सैनिक खटिएका छन्। नेपाल प्रहरीले पनि बाढी प्रभावित क्षेत्रमा सुरुआतबाटै अग्रपङ्क्तिमा खटिएर खोज, उद्धार तथा राहत वितरणमा नेपाल प्रहरी सक्रिय रहेको प्रधानमन्त्री शाहको भनाइ छ।

तालिमप्राप्त कुकुरहरूले खोजी तथा उद्धारलाई सहयोग गरेका छन्। प्रभावित क्षेत्रमा शान्तिसुरक्षा कायम राख्न पनि प्रहरीले उत्तिकै मेहनत गरिरहेको छ। हाल बाढी प्रभावित क्षेत्रमा सात हजार ९७५ प्रहरी र चार हजार २०३ सशस्त्र प्रहरी खटिएको उनको भनाइ छ।

प्रधानमन्त्री शाहका अनुसार सशस्त्र प्रहरी बल, नेपालले पनि कठिन भूगोल र उर्लदो भोटेकोशी–त्रिशूली नदीको जोखिम मोल्दै विपद् व्यवस्थापनमा विशेष तालिमप्राप्त गोताखोर, डोरी टोलीलगायत उद्धार टोलीमार्फत प्रत्यक्ष खोज तथा उद्धारमा सक्रिय रूपमा खटिरहेको छ। त्यसका लागि प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य पोष्ट, फिल्ड कमाण्ड पोष्ट, १३ वटा विपद् प्रतिकार्य बेस स्थापना गरिएको थियो। ड्रोन स्क्वाड परिचालन गरिरहेको छ। प्रभावित क्षेत्रमा उपचार सेवा दिइरहेको छ। रासस


ताजा खबर