हरितालिका तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने श्रद्धालु भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले पाशुपत क्षेत्रमा सञ्चालन गरेको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी श्रद्धालु भक्तजन तथा सर्वसाधारण लाभान्वित भएका छन्।

मित्रपार्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिसँगको सहकार्यमा सञ्चालन गरिएको हेल्थ डेस्क बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन भएको थियो। हेल्थ डेस्कमा आएका सेवाग्राहीमध्ये ४ सय जनाको मधुमेह परीक्षण तथा ७ सयभन्दा बढीको रक्तचाप परीक्षण गरिएको थियो।

स्वास्थ्य परीक्षणका क्रममा देखिएका अवस्थाका आधारमा सेवाग्राहीलाई आवश्यक स्वास्थ्य परामर्श तथा सचेतनामूलक जानकारी समेत प्रदान गरिएको थियो। विशेषगरी तीजको अवसरमा लामो समयसम्म लाइनमा बसेर मन्दिर दर्शन गर्ने श्रद्धालु भक्तजनलाई लक्षित गरी तत्कालीन स्वास्थ्य अवस्था जाँच तथा आवश्यक परामर्श उपलब्ध गराइएको हो।

पर्वको अवसरमा पशुपतिनाथ दर्शनका लागि आउने भक्तजनलाई स्वास्थ्य सेवा, सुरक्षा र सहजताको अनुभूति दिलाउने उद्देश्यले सञ्चालन गरिएको हेल्थ डेस्कमा श्रद्धालु भक्तजन तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

स्वास्थ्य परीक्षणसँगै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यस पहलले मधुमेह तथा उच्च रक्तचापजस्ता स्वास्थ्य समस्याको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षणको आवश्यकता र स्वस्थ जीवनशैलीप्रति सचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याएको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै आएको ॐ हस्पिटलले आगामी दिनमा पनि समुदाय केन्द्रित स्वास्थ्य सचेतना तथा सेवा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। रासस





















