मुटुको जटिल समस्या भोगिरहेका नेपाली बिरामीका लागि अब खुसीको खबर छ। मुटुको भल्भ मर्मत वा फेर्नका लागि छातीको ठुलो शल्यक्रिया गर्नुपर्ने र लाखौँ खर्च गरेर विदेश धाउनुपर्ने बाध्यता अब अन्त्य हुने भएको छ। इजरायलको विश्वप्रसिद्ध शेबा मेडिकल सेन्टरबाट ‘स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सन‘ मा उच्चस्तरीय फेलोसिप पूरा गरी वरिष्ठ कार्डियोलोजिस्ट डा. स्मृति शाक्य नेपाल फर्किएकी छन्।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा विगत सात वर्षदेखि सेवारत वरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा. शाक्य अब यही अत्याधुनिक प्रविधिमार्फत नेपाली बिरामीको उपचार स्वदेशमै गर्न कम्मर कसेर लागेकी हुन्।
उमेर ढल्किएका वा अन्य जटिल स्वास्थ्य समस्याका कारण धेरैजसो बिरामी छाती चिरेर गरिने ओपन हर्ट सर्जरी सहन सक्ने अवस्थामा हुँदैनन्। त्यस्ता जोखिमयुक्त बिरामीका लागि यो modern विधि वरदान साबित हुने डा. शाक्यको भनाइ छ। यस प्रविधिमा तिघ्राको नसामार्फत सानो क्याथेटर पठाएर बिग्रिएको भल्भ मर्मत गर्ने वा नयाँ भल्भ प्रत्यारोपण गरिन्छ। विशेषगरी टाभी (TAVI) र टिइइआर (TEER) जस्ता विश्वस्तरीय प्रविधिले छाती नचिरीकनै मुटुको संरचनागत समस्या समाधान गर्ने भएकाले शल्यक्रियाको जोखिम अत्यन्तै कम हुन्छ र बिरामी छिट्टै निको भएर घर फर्कन सक्छन्।
मध्यपूर्वमा तीव्र युद्धको अवस्था रहेकै बेला पनि ठुलो जोखिम मोलेर डा. शाक्य फेलोसिपका लागि इजरायल पुगेकी थिइन्। “यो यात्रा मेरो व्यक्तिगत करिअरका लागि मात्र थिएन,” डा. शाक्य भन्छिन्, “नेपालमा अत्याधुनिक प्रविधि भित्र्याएर बिरामीको ज्यान जोगाउने र नेपाली कार्डियोलोजीको स्तरलाई अन्तर्राष्ट्रिय पहुँचमा पुर्याउने मेरो अठोट थियो।”
नेपालमा दक्ष जनशक्ति तयार भइसकेकाले अब आवश्यक अत्याधुनिक उपकरण र स्रोत-साधनको उचित व्यवस्थापन हुनासाथ मनमोहन सेन्टरबाटै यो सेवा निरन्तर उपलब्ध गराइनेछ। नेपाली मुटुरोगीहरूले अब स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको उपचार पाउने विश्वास दिलाउँदै डा. शाक्यले भनिन्, “मेरो मुख्य उद्देश्य नै नेपालीले आफ्नै देशमा विश्वस्तरीय उपचार पाउन् र विदेश धाउनुपर्ने बाध्यता सधैँका लागि पन्छाउन सकियोस् भन्ने हो।” रासस




















