चीनको हाइनान प्रान्तको वानिङ सहरमा सम्पन्न अन्तर्राष्ट्रिय युवा तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै सात स्वर्णसहित विभिन्न पदक जितेका छन् ।
सेप्टेम्बर २५ देखि २७ सम्म जिङलोङ झोङआओ स्पोर्ट्स स्टेडियममा भएको प्रतियोगितामा १८ सदस्यीय नेपाली टोलीले क्योरुगी र पुम्से विधामा प्रतिस्पर्धा गरेको थियो ।
प्रतियोगितामा नयाबजार तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक तथा खेलाडी प्रबिन श्रेष्ठले व्यक्तिगत पुम्सेमा स्वर्ण पदक जित्नुभएको छ । यस्तै मोहम्मद सामी र केनिश खड्काले पुरुष ४५ केजी क्योरुगी, सुस्ती बि.के र सोया चक्रधरले महिला ५९ केजी क्योरुगी, श्रेयस तिवारीले १५–१७ वर्षको व्यक्तिगत पुम्से तथा सुबिन सापकोटाले १२–१४ वर्षको व्यक्तिगत पुम्सेमा स्वर्ण जित्नुभएको छ ।
शुभम रायमाझीले १५–१७ वर्षको व्यक्तिगत पुम्से र ६८ केजी क्योरुगी तथा प्रिन्स बोगटीले अन्डर–२८ केजी क्योरुगीमा रजत पदक जित्नुभएको छ । सुजल लो तामाङले १२–१४ वर्षको व्यक्तिगत पुम्सेमा पनि रजत पदक प्राप्त गर्नुभएको छ ।
कांस्यतर्फ निर्भिग्ना घिमिरेले अन्डर–३३ केजी क्योरुगी तथा १२–१४ वर्षको पुम्से, प्रिन्स बोगटीले १०–१२ वर्षको पुम्से तथा सृष्टि शेर्पाचनले क्योरुगीमा पदक जित्नुभएको छ ।
यस प्रतियोगितामा प्रबिन श्रेष्ठले खेलाडी तथा प्रशिक्षक दुवै भूमिकामा नेपाली टोलीको प्रतिनिधित्व गर्दै व्यक्तिगत पुम्सेमा स्वर्ण जितेर नेपालको अन्तर्राष्ट्रिय तेक्वान्दो यात्रामा अर्को उपलब्धि थप्नुभएको छ । रासस




















