“विश्वले भोलिका दिनमा पालना गर्ने निर्देशिका परिमार्जन गर्ने मञ्चमा आफ्नै मत राख्न पाउनु मेरो व्यक्तिगत उपलब्धि मात्र नभई यो नेपाली बिरामी बालबालिकाको आवाजलाई विश्वस्तरसम्म पुर्याउने गौरवशाली अवसर हो।” – डाक्टर धर्मागत भट्टराई
बालबालिकामा हुने जोर्नीबाथ (Juvenile Idiopathic Arthritis – JIA) को परिभाषा, वर्गीकरण र उपचारका नयाँ नियम (निर्देशिका) बनाउन इटालीको मिलानमा आयोजना गरिएको उच्चस्तरीय अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा नेपालका तर्फबाट डाक्टर धर्मागत भट्टराई मुख्य विज्ञका रूपमा सहभागी हुनुभएको छ।

अन्तर्राष्ट्रिय संस्था PRINTO र यस क्षेत्रका वरिष्ठ वैज्ञानिकहरूको विशेष निमन्त्रणामा सहभागी हुनुभएका डा. भट्टराईले विश्वभरका बालबालिकाको बाथरोग उपचारमा प्रयोग हुने नयाँ मानक र नियमहरू परिमार्जन तथा अनुमोदन गर्ने प्रक्रियामा आफ्नो महत्त्वपूर्ण मत राख्नुभएको छ।

“हिजो पढ्थ्यौँ, आज आफैँ लेख्ने ठाउँमा पुग्यौँ”
विगतमा विदेशी विज्ञहरूले बनाएको निर्देशिका पढेर बिरामीको उपचार गर्दै आएका नेपाली चिकित्सकहरू आज विश्वले नै पालना गर्ने नयाँ नियम बनाउने ठाउँमा पुग्नु नेपालको स्वास्थ्य क्षेत्रका लागि ठूलो उपलब्धि हो।
आफ्नो अनुभूति साझा गर्दै वरिष्ठ बाल रोग प्रतिरक्षा तथा बाथरोग विशेषज्ञ डा. धर्मागत भट्टराई भन्नुहुन्छ:
“हिजोसम्म अरूले लेखेका मन लगाएर पढ्थेँ। आज विश्वले भोलिका दिनमा पालना गर्ने निर्देशिका परिमार्जन गर्ने मञ्चमा आफ्नै मत राख्न पाउँदा असाध्यै गर्व लागेको छ। यो मेरो व्यक्तिगत उपलब्धि मात्र नभई नेपाली बिरामी बालबालिकाको आवाजलाई विश्वस्तरसम्म पुर्याउने अवसर पनि हो।”
बालबालिकाको उपचारमा नयाँ आशा

बाल-बाथरोगले बालबालिकाका साना जोर्नीहरूमा गम्भीर असर पुर्याउँछ। समयमै पहिचान हुन नसके यसले जीवनभर समस्या पार्न सक्छ। मिलानमा सम्पन्न सम्मेलनले तयार पार्ने नयाँ नियम र वर्गीकरणले आगामी दिनमा जोर्नी सुन्निने समस्या भएका बालबालिकाको सहि पहिचान र वैज्ञानिक उपचारमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।
अन्तर्राष्ट्रिय निर्णायक मञ्चमा नेपाली चिकित्सकको नेतृत्वदायि भूमिकाले विश्वभर नेपालको स्वास्थ्य क्षेत्रको प्रतिष्ठा अझ बढाएको छ।
डा. भट्टराई काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका बाल प्रतिरक्षा रोग तथा बाल बाथरोग विशेषज्ञ हुनुहुन्छ ।
सफल नेपाल





















