दशैँ सकिनसकी लिँगे पिङको लागि बाँस घिसारिरहेको थियो। एउटा बटुवाले दशैँलाई देख्यो र टक्क रोकिएर भन्यो, “तँ मुलाले गर्दा यत्रो दुःख पाएँ। बाटो सबै बिग्रेको रहेछ। तँ नआइदिएको भए मैले दुःख पाउँदिन थिएँ।”
दशैँ चुप्प लागेर घोसेमुन्टो लाउँदै अघि बढ्यो। बटुवाले आमाचकारेर गाली गर्यो।
बसपार्कको भिडमा एउटा थकित गाडी चालक गाडीको पाङ्ग्रा पुछ्दै थियो। दशैँ त्यही बाटो बाँस घिसार्दै थियो। चालकले थर्कायो, “होस गर है दशैँ! तँ आएपछि मान्छेलाई जसरी नि घर पुग्ने हतार हुन्छ। दिनरात नभनी गाडी कुदाउनुपर्छ। बाटो बिग्रेको छ, दुर्घटनाको डर उत्तिकै छ। तैँले गर्दा मैले एकछिन सुत्न नि पाएको छैन!”
दशैँ मच्चीमच्ची पिङ खेलिरहेको थियो। पुलिसले आएर झ्याप्पै डोरी समातेर दशैँलाई पिङबाट ओराल्यो र भन्यो, “तँ झ्याँक्नेले गर्दा मेरी श्रीमती मसँग रिसाई। न म घर जान सकेँ, न पुग्दो पैसा पठाउन सकेँ। कमसेकम घरमा अनुहार देखाउन जान पाएको भए बुढी बाउँठिन्नथिई होली। तैँले मलाई कायल बनाइस्।”
चङ्गा उडाइरहेको दशैँलाई देखेर एउटी गरीब महिलाले सरापिन्, “गरीबको घरमा तँ त्यही चङ्गा जस्तै मात्र आइस्। हेर्दा मात्रै रङ्गीन र रमाइलो। हावामै मात्र ठिक। सँग बस्दा त एकैछिनमा च्यातचुत। तेरो जिन्दगी त्यही चङ्गा जस्तै होस्।”
दशैँले आमैको अनुहारमा मायाले हेर्यो, केही बोलेन।
चौतारीको डिलमा एकजना बूढा बा टोलाइरहेका थिए। दशैँ नजिकै गएर बस्यो। बाले चिसो साटो फेर्दै भने, “तँ किन आइस् हँ दशैँ? छोरो खाडीको टन्टलापुर घाममा पसिना बगाउँदैछ, बुहारी नाति बोकेर सहर पसिहाली। यो रित्तो घरमा मलाई तेरो के काम? तेरो रातो टीका र जमराले मेरो एक्लोपन ढाक्न सक्छ?”
दशैँले केही भन्न सकेन। उसले आफ्नो झोलाबाट जमराको एउटा सानो पात झिकेर बाको पाउमा राखिदियो।
भोटेकोशीको तिरैतिर बालुवालाई लात्ता हान्दै हिँड्दै थियो दशैँ। एउटा युवक दशैँलाई देखेर सुक्क-सुक्क गर्दै बोल्यो, “साहुको ऋण कसरी तिर्नु? तेरो स्वागतमा खसी काटौँ कि बाली नासिएको पीरमा विष खाऊँ?”
जवाफ दिन नसकेर त्यहाँबाट दशैँ नेताजस्तै अलप भयो।
बजार हिँडेको थियो दशैँ। एउटा मोटोघाटो साहुले च्याप्पै हात समातेर तान्यो। अब यिनले के भन्ने हुन् भनेर दशैँको मुख चाउरियो। साहुजीले भन्किँदै भन्यो, “तँ आएको बेला अलि धेरै कमाउँला सोच्या थेँ। तँ नाथेले उचालेर मेरा कारिन्दा सबै घर गए। अब कसरी व्यापार गरूँ भन्?” साहुले हात छोड्दै छोडेन, बल्लबल्ल उम्केर भाग्यो।
त्यही बजारमा चारजना केटाकेटीले दशैँलाई घेरा हाले। एउटाले भन्यो, “दशैँ दाइ, मलाई कोरियन स्टाइलको पाइन्ट!” अर्कोले भन्यो, “दशैँ दाइ, मलाई एप्पलको हेडफोन!” अर्को केटोले भन्यो, “मलाई चाहिँ पीएस फाइभ!” अर्को केटो मलिनो स्वरमा बोल्यो, “दशैँ दाइ, अस्ति बाढीमा ड्याडी-मम्मी हराउनुभयो, भेटाइदिनुस् न।”
दशैं त्यहीँ थचक्कै बस्यो।





















