श्रीलङ्कामा मुसलधारे वर्षा, देशभर विद्यालय बन्द

बङ्गालको खाडीमा आएको चक्रवात ‘अर्णव’ ले श्रीलङ्कामा मुसलधारे वर्षा गराएपछि सरकारले देशभरका सबै विद्यालय बन्द गरेको छ । समुद्री क्षेत्रमा चार मिटरसम्मका उच्च छाल आउने भएकाले माछा मार्ने कार्यमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

त्यहाँको शिक्षा मन्त्रालयले मङ्गलबार मौसमको वर्तमान अवस्थालाई ध्यानमा राख्दै विद्यार्थी र विद्यालयका कर्मचारीको सुरक्षा सुनिश्चित गर्न विद्यालय बन्द गरिएको जनाएको छ । यद्यपि सामान्य शिक्षा प्रमाणपत्र (साधारण स्तर) परीक्षा अन्तर्गतका सौन्दर्यसम्बन्धी विषयको व्यावहारिक परीक्षा भने पूर्वनिर्धारित कार्यक्रम अनुसार सञ्चालन हुने मन्त्रालयले स्पष्ट पारेको छ । आँधीका कारण श्रीलङ्काका विभिन्न क्षेत्रमा भीषण वर्षा भइरहेको छ । वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि देशका धेरै क्षेत्रमा सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ ।

भारतीय मौसम विज्ञान विभागका अनुसार यो चक्रवात भयानक रूप लिँदै पश्चिम–उत्तर–पश्चिम दिशातर्फ अगाडि बढिरहेको छ । यो आँधी बुधबार बिहान भारतको विशाखापट्टनम र बापटलाबिचको तटीय क्षेत्रमा ठोक्किने अनुमान गरिएको छ, जसको व्यापक बाह्य प्रभावले श्रीलङ्कामा मौसम बिग्रेको हो । यस चक्रवातको प्रभाव श्रीलङ्का र भारतमा मात्र नभई बङ्गालको खाडीनजिक रहेका अन्य दक्षिण एसियाली देशहरूमा समेत पर्न सक्ने मौसमविद्हरूले जनाएका छन् ।

‘अर्णव’ चक्रवात हालसम्मको पूर्वानुमान अनुसार एक अत्यन्तै शक्तिशाली चक्रवातमा परिणत भइसकेको छ । यो चक्रवात पश्चिम–उत्तर–पश्चिम दिशातर्फ करिब १७ किमी प्रतिघण्टाको गतिमा अगाडि बढिरहेको छ ।

बुधबार बिहानसम्ममा भारतको आन्ध्र प्रदेश र यानम तटीय क्षेत्र (विशेष गरी बापटला र विशाखापट्टनमको बिचमा) ठोक्किने सम्भावना रहेको बताइएको छ ।

समुद्री क्षेत्रमा यसको केन्द्र वरिपरि हावाको गति २१५ देखि २२० किमी प्रतिघण्टासम्म पुगेको छ । यद्यपि तटीय क्षेत्रमा ठोक्किने समयमा यसको गति १३५ किमी प्रतिघण्टा रहने पूर्वानुमान गरिएको छ ।

चक्रवात सिधै ठोक्किने भएपछि आन्ध्र प्रदेशको काकिनाडा र आसपासका तटीय क्षेत्रबाट करिब ८९ हजार नागरिकहरूलाई सुरक्षित स्थान र राहत शिविरहरूमा सारिएको छ । ५० भन्दा बढी रेल सेवा र हवाई उडान रद्द गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् । एएनआई / रासस 


ताजा खबर