हाँडीगाउँमा निकालियो ‘कहीँ नभएको जात्रा’

काठमाडौंको हाँडीगाउँमा प्रसिद्ध ‘कहीँ नभएको जात्रा’ मङ्गलबार निकालिएको छ। प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि सुरु हुने यो जात्रा आफ्नो विशिष्ट परम्परा, धार्मिक आस्था र ऐतिहासिक महत्त्वका कारण चर्चित छ।

हाँडीगाउँका स्थानीयवासीका अनुसार यो जात्रा अन्य जात्राभन्दा फरक हुनुका मुख्य तीन विशेषता छन्। पहिलो, यहाँको रथमा अन्य रथमा जस्तो देवता भित्र र गजुर माथि नभई गजुरमुनि र देवता माथि रहने अनौठो संरचना हुन्छ। दोस्रो, जात्रामा ‘सी स्वाँ’ नामको विशेष फूल प्रयोग गरिन्छ, जुन अन्यत्र सहजै पाइँदैन। तेस्रो, यहाँको एउटा विशेष इनारको पानी यही जात्रामा मात्रै चढाउने परम्परा छ।

स्थानीय जनविश्वासअनुसार यो जात्रा लिच्छविकालीन राजाले सुरु गरेका हुन्। यससँग जोडिएको किंवदन्तीअनुसार एक राजाका दुई छोरी एकै समयमा सुत्केरी हुने अवस्थामा पुगेका थिए। दिदीले सन्तान जन्माउन नारायण भगवान्को कृपा आवश्यक रहेको बताए पनि बहिनीले त्यसमा विश्वास गरेकी थिइनन्।

दिदीले सहज रूपमा सन्तान जन्माइन्, तर बहिनीले भने १२ वर्षसम्म पनि सन्तान जन्माउन सकिनन्। यसको कारण खोज्दै जाँदा नारायण भगवान् रिसाएर हिमालमा तपस्यारत रहेको विश्वास गरियो। भगवान्लाई प्रसन्न पार्न ‘कहीँ नभएको जात्रा’ आयोजना गरेपछि मात्रै बहिनीले सफलतापूर्वक सन्तान जन्माउन सकेको किंवदन्ती प्रचलित छ।

यही धार्मिक आस्था, अनौठो रथ संरचना र मौलिक सांस्कृतिक परम्पराले हाँडीगाउँको जात्रालाई काठमाडौं उपत्यकाको विशिष्ट सांस्कृतिक सम्पदाका रूपमा स्थापित गरेको छ। रासस


ताजा खबर