‘आम नेपाली भन्छ’ : डा. अजय पराजुली

अन्धकारै अन्धकारका बीचमा ,

उज्यालो खोज्न बाध्य छ यो जिन्दगी ।

अशिक्षा र अन्धविश्वासको भुमरीमा,

ज्ञानको ज्योति खोज्न बाध्य छ यो जिन्दगी ।

तिर्खै तिर्खा र चरम प्यासमा,

दुई थोपा पानी खोज्न बाध्य छ यो जिन्दगी ।

भत्केका साँघुरा सडकमा,

लडदै हिड्न बाध्य छ यो जिन्दगी ।

जमिन्दारको ऋण तिर्न,

खाडीमा मर्न बाध्य छ यो जिन्दगी ।

दुई छाक टार्न पसिनाको सट्टा,

रगत चुहाउन बाध्य छ यो जिन्दगी ।

मलाई ठुला ठुला भाषण होइन,

उज्यालोमा बाच्न बत्ति देउ ।

मलाई संघियताका बहस होइन,

पाठ्यक्रमका पुस्तक देउ ।

मलाई तिमीले मिटिंगमा खाने ब्लु लेबेल होइन ,

तिर्खा मेटाउने पानी देउ ।

मलाई तिमी हिड्ने पजेरो होइन ,

बाटो हिड्ने गोरेटो देउ ।

मलाई तिमीले बोकी हिड्ने बडिगार्ड होइन ,

ढुक्कसंग बाँच्न मेरो समाजलाई सुरक्षा देउ ।

मलाई तिमीले लुटेको देशको ढुकुटीको धन होइन,

आत्मनिर्भर हुन इलम गर्ने बाटो देउ ।

मलाई तिम्रो थालको मासु भात होइन,

आफ्नै परिश्रमको चिउरा शान्तिसंग खान देउ ।

मलाई हरपल डर र त्रास मात्र होइन ,

सुव्यवस्था सहितको शासन देउ ।

अब मैले अरु केहि मागेको होइन ,

कमसेकम मलाई शान्तिसंग बाँच्ने वातावरण त देउ ।

डाक्टर पराजुली काठमाडौँस्थित ब्लुक्रस अस्पताल  तथा नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरमामा कार्यरत हुनुहुन्छ।


ताजा खबर