‘गोरखापत्र प्रकाशनपछि ५० बर्ष नेपालमा कुनै नयाँ छापा निस्केन’ : ध्रुवहरि अधिकारी

ग्रीष्मबहादुर देवकोटाले लेख्नुभएको ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’ (२०२४) पुस्तकमा १० पृष्ठको एक अध्याय नै गोरखापत्रका लागि छुट्याइएको छ । यसमा वि.सं. १९५८ मा तत्कालीन शासक देवशम्शेर जबराले के कस्तो उद्देश्य राखेर क-कसको सेवाका लागि साप्ताहिक ‘गोर्खापत्र’ प्रकाशन गराए त्यसको वृत्तान्त समावेश गरिएको छ । ‘उर्दि सवाल’ मा परेको तपसीलका बेहोरा पढ्दै जाँदा भेटिने तलको वाक्यले पत्रिका सर्वसाधारणमाझ पु¥याउने ध्येयले नै छपाएको निचोड निस्किन्छः
यो अखवार हप्ता हप्तामा १००० थानका हिसाबले छापी सो अखवार जस्जस्ले लिनामा दर्कार गर्छन वर्ष १ को अखवार थान १ को मोहरू ३ का दर्ले लिने गरी दिनु ।

गोरखापत्रको प्रकाशनको ऐतिहासिक दिनलाई ‘राष्ट्रिय पत्रकारिता दिवस’ तोकेर तदनुसार कार्यक्रम सञ्चालन गर्ने अभ्यास २०७३ साल वैशाखमा थालिएको हो । ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ (३ मे) कै हाराहारीमा नेपालको प्रेस दिवस पर्न‘लाई सुखद संयोग मान्न सकिन्छ ।

गोरखापत्रको प्रकाशनपछिको झण्डै आधा शताब्दी नेपालमा कुनै नयाँ छापा निस्केन । २००७ सालको राजनीतिक परिवर्तनपछि मात्र पत्रपत्रिका प्रकाशन नयाँ चरणमा प्रवेश गरेको देखिन्छ र यसको थालनी २००७ साल फागुन ८ गते सिद्धिचरण श्रेष्ठको सम्पादनमा निस्केको ‘आवाज’ ले गरेको मानिन्छ । यस हिसाबले हेर्दा नेपाली प्रेसको इतिहास छोटो देखिन्छ । यस पक्षको समयोचित समीक्षा हुँदै जाला ।

‘शुद्ध समाचार तथा स्वस्थ मतको प्रचार नै हाम्रा पत्रपत्रिकाको मूल उद्देश्य हुनुपर्छ’ भनी मार्गदर्शन दिने सम्पादक तथा इतिहासकार सूर्यविक्रम ज्ञवालीले समाचारको काम हतार—हतारको हो भन्ने यथार्थ स्वीकार गरेको पाइन्छ । तथापि देवकोटाको पुस्तकको भूमिकामा पाठकहरूको अपेक्षालाई यसरी प्रतिध्वनित गर्न‘भएको छ ः ‘पत्रकारिताको काम हतारको भए तापनि पत्रकारको साधिएको कलमबाट विशुद्ध साहित्य नै निस्कनुपर्छ भन्ने मेरो अभिप्राय हो ।’ पत्रकारिता हतारिएको साहित्य हो भन्ने प्रचलन र मान्यताबारे आजभोलिका समाचार माध्यम (छापा, रेडियो, टेलिभिजन, अनलाइन) मा कार्यरत सबैजसो परिचित छन् ।
छोटो समयमा छिटो गरेर सूचना र जानकारीलाई समाचारको रूप दिएर जनसमक्ष पु¥याउनु चुनौतीको काम भएकोमा सन्देह छैन तर समयको कमी देखाएर गलत सूचना अशुद्ध भाषामा प्रवाहित गर्न मिल्दैन । सञ्चारकर्मीको भूमिकामा रहनेले त्यसो गर्न पाउँदैन । समाचारमा ताजापन कायम राख्नु छ भनेर रुजु वा पुष्टि नभएका विवरण र बेहोरा खाँदेर प्रस्तुत गरिँदैन । मनगढन्ते कथा, अड्कलबाजीका कुरा त समाचारको कोटिमा पर्ने प्रश्नै आएन । मिथ्या खबर (फेक न्युज) ले समाजलाई भ्रमित तुल्याउँदा नानाप्रकारका दुर्घटनाको जोखिम बढेको यथार्थबारे हामी सबै जानकार छौँ । पत्रकारको सानो असावधानीले ठू्ल्ठूला कलह र हिंसा निम्तिन सक्ने वास्तविकता पनि जगजाहेर छ ।

विश्वका अन्य भागमा जस्तै विगत तीन दशकमा नेपालमा पनि सञ्चारको फाँट फराकिलो भई विविधता र बहुलता उल्लेख्य स्तरमा बढेको छ । सूचना प्रविधिमा भैरहेको तीव्र विकासले समाचारको प्रवाहलाई झन् छिटोछरितो पार्ने दबाब तीव्र भएको छ । यस्तोमा समाचारमा परेका सूचना तथ्य हुन् वा होइनन् केलाउने काम राम्ररी हुनसक्दैन । व्यापार व्यवसायमा लागेकामध्ये कसैकसैले उपभोक्तालाई ठग्ने, झुक्याउने नियतले पनि गलत सूचना फैलाउँछन्, समाचार माध्यमलाई दुष्प्रभावमा पारेर विज्ञापन हुनुपर्ने सामग्रीलाई समाचारको रूपमा जनसमक्ष पु¥याउन सफल भएका हुन्छन् । राजनीतिक दल र सङ्गठन सक्रिय रहेका बखत तिनका कार्यकर्ताले प्रत्यक्ष र परोक्ष ढङ्गले समाचारका माध्यमलाई निष्पक्ष रहन नदिने (हतोत्साही गराउने) प्रवृत्ति पनि देखिएको छ । त्यस्तै संविधानको प्रस्तावनामा ‘पूर्ण प्रेस स्वतन्त्रता’ को प्रत्याभूति गरिएको छ तापनि सञ्चारमाध्यमको क्रियाकलापलाई नियन्त्रणमुखी कानुनले अवरुद्ध गराउन खोजेको भन्ने शिकायत सतहमा आएका छन् । यस्तो अवस्थामा ‘भयविहीन र पक्षधरताविहीन पत्रकारिता’ को अन्तर्राष्ट्रिय नारालाई प्रभावकारी गराउन सहज छैन । यो निकै विचारणीय बुँदा भएको छ ।

माथि नै भनियो, गोरखापत्र मुलुकको जेठो अखवार हो । हाम्रो सामाजिक प्रचलन हो, परिवारको जेठोले अरूबाट मान, सम्मान पाउँछ र त्यसबापत जेठाले केही विशिष्ट दायित्वको निर्वाह पनि गर्न‘पर्छ ।

गोरखापत्रले पनि सही समाचार शुद्ध भाषामा प्रस्तुत गरेर अरूलाई मार्गदर्शन गर्न‘ आवश्यक छ । पत्रकारिताका पेशागत धर्म, मान्यता र प्रचलनलाई उदाहरणीय रूपले पालना गर्न‘पर्दछ । सबै सञ्चारकर्मीका लागि तय गरिएको आचारसंहिताको पालना गर्न‘का साथै गोरखापत्रका पत्रकारले आफ्नो संस्थाले तय गरेका थप मान्यताको निरन्तर हेक्का गरेमा नै संस्थानका प्रकाशनहरूको आधिकारिकता स्थापित हुन पाउँछ । विश्वसनीयताबारे जनसाधारण ढुक्क हुन पाउँछन् । यस क्रममा उदाहरण हुनसक्छ २०१५ सालको प्रेस कमिशन जुन त्यस बखतका क्रियाशील पत्रकारसमेतलाई समावेश गरेर गठन गरिएको थियो ।
कमिशनका १८ सूत्रीय सिफारिसमा परेका मान्यता आजभोलिको आचारसंहिताभन्दा कुनै हालतमा कमजोर छैनन् । रिपोर्टको बुँदा नम्बर १० मा भनिएको छ ः ‘आफूले प्रकाशित गरेको समाचार पछि गएर असत्य वा झूटो ठहरियो भने थाहा हुनासाथ भूलसुधार गरिहाल्नुपर्दछ । …..खण्डनलाई उत्तिकै महत्वका साथ प्रचार गरिदिनुपर्छ…।’

गोरखापत्र संस्थानमात्र होइन राष्ट्रिय गौरव झल्काउने संस्था पनि हो । त्यसो हुनाले यसले अगुवा हुनुपर्छ । आफ्ना प्रकाशनहरूमा उच्च पेशागत मर्यादाको निर्वाह गरेर । सूचना प्रविधिले उपलब्ध गराएमुताविक कार्यक्षेत्र विस्तार गरेर । नयाँ पुस्ता र निजीक्षेत्रका लागि मार्गदर्शक बनेर ।

यसै सन्दर्भमा के पनि सुझाउ दिन सकिन्छ भने गोरखापत्र संस्थानले पत्रकारिताको ज्ञान एवं सीपलाई अद्यावधिक राख्न आफ्ना सञ्चारकर्मीका लागि त्यस्तो प्रशिक्षण निकाय सञ्चालन गरोस् जसलाई आवश्यकता अनुसार सञ्चारका अन्य माध्यमका लागि पनि उपलब्ध गराउन सकियोस् । खुला हृदयले त पारदर्शी ढङ्गले पेशागत पक्षलाई बढावा दिएर जान सकेमा गोरखापत्रलाई ‘सरकारी’ भनिने दायरामा खुम्च्याएर हेर्ने प्रचलन स्वतः हराएर जानेछ ।

लेखक अधिकारी वरिष्ठ पत्रकार हुनुहुन्छ ।


ताजा खबर