शताब्दीकै ठूलो महामारीले संसारको मानव जीवन सङ्कटमा पारेको छ । कोरोना भाइरस (कोभिड–१९) नाम दिइएको भाइरसले लाखौँ मानिसको ज्यान गइसकेको छ । संसारभरि नै मानिस घरभित्र बसेर एक जीवाणुुसँगको हतियारविहीन लडाइँमा छन् । यो भाइरस र एकान्तबासको अवस्था कहिले हटेर जान्छ थाहा छैन ।
विज्ञका अनुसार यसको असर दुई वर्षसम्म रहन सक्छ । यस्तो अवस्थामा कोरोना कहरपछि विश्वका मानिसको आनीबानी, सामाजिक जीवनका व्यवहार र शैली कस्तो होला ? अनुमान भइरहेका छन् । कोरोना महामारी सकिए पनि यसले मानिसको जीवनमा लामो समय असर रहने पक्का छ । अहिले मानिसले चर्चा गरिरहेका विषयमा संस्कार तथा वित्तीय व्यवहार छन् ।
मौलिक अभिवादन नमस्ते
महामारीको यो हुण्डरीले हाम्रो व्यक्तिगत तथा सामाजिक व्यवहारमा थुप्रै परिवर्तन ल्याएको छ । अँगालो र चुम्बन त परको कुरा, ‘ह्यान्डसेक’बाट समेत वञ्चित भएर बस्नुपर्ने पश्चिमा समाजको विवशता त हामी अनुमान पनि गर्न सक्दैनौँ ।
यसबीच विश्वका ठूला नेताले अभिवादनमा ‘नमस्कार’ अर्थात् ‘नमस्ते’ गरेका कुरा पनि मूलधारका राजनीतिभन्दा कम चर्चित छैनन् । गत मार्चमा ब्रिटिस क्याबिनेटका सदस्यलाई राजकुमार चाल्र्सले गरेको नमस्तेदेखि फ्रान्सका राष्ट्रपति इमानुएल मेक्रोनसम्म नमस्तेका तस्बिर इन्टरनेटमा भाइरल बने ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त नागरिकलाई हात मिलाउनुको सट्टा नमस्ते गर्न अपिल नै गर्नुभयो । नमस्तेको कहानी यत्तिमै सकिँदैन, विश्व शक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसमेतले नमस्तेलाई ‘नन–कन्ट्याक्ट ग्रिटिङ्स’ भनी प्रशंसा गर्नुभयो । कोरोनाबाट बच्न गरिएको ‘नमस्ते’ भविष्यमा स्वच्छ र सभ्य अभिवादनको विश्वव्यापी मानक बन्ला ? विद्वान्बीच चर्चा भइरहेको छ ।
प्रिन्सटन युनिभर्सिटीका मनोविज्ञान प्राध्यापक अल्क वेबर मानिसका बानी र व्यवहार आर्थिक सामाजिक सन्दर्भसँगै परिवर्तन हुन्छन् । स्वास्थ्यका लागि बानी परिवर्तन नहुने कुरै छैन । पश्चिमी जीवनशैली हस्त मिलन अर्थात् ह्यान्डसेकबिना कस्तो होला ? परिचर्चा भइरहेको छ भन्नुहुन्छ ।
प्रविधिमा बढी निर्भर
हुन त भौतिक तथा प्राविधिक विकासका उच्चतम अवस्थामा पुगेका देशको दैनिक जीवन यसअघि नै ग्याजेटमा कैद भइसकेको छ । कोरोना महामारीमा मानव जाति घरमै थुनिँदा अब साँच्चै डिजिटल डिभाइसको महत्व महसुस भएको हुन सक्छ ।
कोरोना महामारीबीच नै फेसबुकले एउटा इमोटिकनको विकास गरी सार्वजनिक गर्यो । मायाको भावमा दुई हातले अँगालो हालेको यो इमोको नाम ‘केयर’ दिइएको छ । जसको अर्थ ‘परिस्थितिले टाढा रहे पनि पर्वाह गरेको छु भन्ने हुन्छ ।
विश्वव्यापी श्रम प्रवाहका कारण नेपालजस्ता देशका युवा लाखौँको सङ्ख्यामा विदेशमा छन् तर यस्तो बन्दाबन्दीमा पनि परिवारसँग नजिक गराएको छ, उही फेसबुक, इमो, ह्वाट्सयापले । यसरी हेर्दा खुसी, माया, दयाजस्ता कुराको प्रसार र अभिव्यक्ति पनि अब डिजिटलाइज्ड भएको छ । म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीकी प्राध्यापक शेरी टर्कल पनि मानिसले मानवीय गुण डिभाइसमा भरेको विचार राख्नुहुन्छ ।
नेपालमै बन्दाबन्दीका कारण इन्टरनेट, बिजुली, पानी, टेलिफोन, डिसहोमको बक्यौता तथा शुल्क तिर्न ई–बैङ्किङ सेवा नलिएकोमा पछुतो मान्ने धेरै छन् । हिन्दुस्तान टाइम्सबाट