सङ्घीय संसद्अन्तर्गतको परराष्ट्र सम्बन्ध समितिका सदस्यहरुले भारत लगायत अन्य मुलुकमा अलपत्र परेका नेपालीलाई वर्गीकरण गरी चरणबद्धरूपमा उद्धार गरिनुपर्ने सुझाव दिनुभएको छ ।
समितिको मंगलबार बसेको बैठकले कोरोना भाइरसका कारण विदेशमा जोखिमा परेका नेपालीको उद्धार गर्न ढिलाइ गर्न नहुनेमा जोड दिएको हो । समितिका सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना भाइरसको महामारीबाट विदेशमा धेरै नेपालीले ज्यान गुमाउनुपर्ने अवस्था आएको भन्दै तत्काल सरकारले घर फर्काउन पहलकदमी चाल्नुपर्ने बताउनुभयो ।
कुन देशमा बढी जोखिम छन् त्यसको अवस्था हेरी उद्धार थाल्न उहाँले सरकारलाई सुझाव दिनुभयो । समितिका अर्का सदस्य प्रकाशमान सिंहले अलपत्र पर्नेको सङ्ख्यामा भारतमा अत्यधिक भएकाले पहिला भारतसितको समस्या हल गर्न सुझाव दिंदै विदेशमा दुःख परेका नेपालीलाई उद्धार गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी समितिका सदस्य भीमबहादुर रावलले विदेशमा अलपत्र रहेका नेपालीका लागि सम्बन्धित देशको सरकारसँग वार्ता गरी बस्ने खाने व्यवस्था मिलाउन पहल गर्नुपर्ने बताउनुभयो ।
समितिका सदस्य सुरेन्द्रकुमार कार्कीले समितिले यसअघि पनि सरकारलाई निर्देशन दिए पनि त्यसअनुसार काम नभएको बताउनुभयो । समितिका सभापति पवित्रा निरौलाले सम्पूर्ण सुझाव र धारणालाई समेटेर प्रतिवेदन तयार गरी सरकारलाई बुझाइने जानकारी दिनुभयो ।