- संगीत सरोवर
सरू !
लामो समय मौन बस्न पुगेकोमा क्षमा माग्दैछु ।
कोलाहल र हल्लाको सहर फाट्टफुट्ट सवारी साधन कुदाएर बाँकी समय चुपचाप छ । तरकारी र औषधि किन्ने मान्छेको पातलो चहल पहलले यसलाई समशान हुनबाट जेनतेन जोगाएको होकि भन्ने लाग्छ । तिम्रो सरोवर घरभित्रको यात्री बनेको छ । यसको प्रतिफल, म कोभिड १९ को संक्रमणबाट पूर्ण सुरक्षित छु ।
पढ्दा पढ्दै अधुरा छाडेका पुस्तकहरू पढिभ्याँए । रहर लागेको तर पढ्न नपाएका पुस्तकका पन्नाहरू छिचोलिसकें । व्यायम, स्वासप्रश्वासको अभ्यास, ध्यान, मेडिटेसन र आहार विहारले आफ्नै देहलाई खुव स्याहार गर्ने मौका मिल्यो । बोल्न मन लागेका तर व्यस्त समयले किनारामै छाडिएका व्यक्तिहरूसँग टेलिफोनमै ठट्टा गरियो, टेलिफोनमै प्रेम गरियो । गफैगफमा खुव डेटिङका कुरासम्म बाँकी रहेनन् । बस् खित्का छाडेर हाँसियो । यी सबै ‘परिस्थिति प्रतिकुल’ हुँदा ‘मनस्थिति अनुकुल’ बनाएर आफूलाई दुरुस्त राख्ने प्रयत्नमा गरिएका कामहरू हुन् । तिमी त सामाजिक दुरी र सुरक्षा अपनाएर खेतीपातिको काममा पनि व्यस्त रह्यौ होली, हो ?
तै पनि सरू, यहाँ लेख्ने कुरामा म तिमीसित लामो समयसम्म मौन बस्न पुगें । माफी त शुरूमै मागिसकें । यसलाई पनि खराब मान्ने छैनौं । अस्ति बुद्ध जयन्तिको दिन तिम्रो फेसबुकमा एउटा स्टाटस देखेंको थिएँ:
“Smile is the way to solve many problems. Silence is the avoid many problems.-Buddha”
सरू,
त्यसैले बोलिनँ । यसको मतलब तिमीसित बोल्नै मन नभएर हैन । बरू यसर्थ बोलिनँ किनभने, मेरो मौनता भन्दा असल शब्दहरू मसित थिएनन् । आजलाई यति ल ।
सुरक्षित रहनु । खुसी रहनु ।
उही तिम्रो लाटा
सरोवर ।
संघीय राजधानी काठमाडौंबाट ।