बन्दाबन्दीलाई सहज बनाउने कार्ययोजना माथि प्रारम्भिक छलफल

बन्दाबन्दीकै अवस्थाबीच विकास निर्माण, अत्यावश्यकीय सेवा र बैङ्कि कारोबारलाई केही खुकुलो बनाउने कार्ययोजना तयारीमा उच्चस्तरीय समन्वय समिति जुटेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले बन्दाबन्दीबीच आर्थिक क्रियाकलाप, विकास निर्माण, उद्योग, व्यवसाय र अत्यावश्यकीय सेवालाई केही खुकुलो र सहज बनाउने प्रस्ताव बारे छलफल गरेको छ ।

उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायण विडारीका अनुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड, गृह मन्त्रालयद्वारा जारी सुरक्षा सम्बन्धी मापदण्ड पालनागरी सञ्चालन गर्न पर्ने सेवाका विषयमा बैठकले गृहकार्य गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय समितिको बैठकपछि सचिव विडारीले भन्नुभयो, “बन्दाबन्दीबीच पनि सेवालाई सहज बनाउनेबारे पहिलोचरणमा छलफल भयो ।”

उहाँले चरणवद्ध रुपमा छलफलपछि बन्दाबन्दीको स्वरुपबारे छिटै निर्णय हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बैङ्कि कारोबार, अत्यावश्यक सेवा, उपचार, प्रयोगशाला, सहजता दिलाउँदै अगाडि बढ्ने योजना छ । चरणवद्ध रुपमा सहज वातावरण बनाउँदै जाने विषयमा छलफल भयो ।” उद्यमी तथा व्यवसायीहरुलेस् वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै बन्दाबन्दीलाई खुकुलो बनाउनुपर्ने माग गर्दै आएका छन् ।

यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत समाजका विभिन्न पक्षसँग छलफल गरिसक्नुभएको छ । मन्त्रिपरिषद् बैठकले समेत उच्चस्तरीय समन्वय समितिलाई बन्दाबन्दीको बदलिदो स्वरुपबारे गृहकार्य गर्न निर्देशन दिएको थियो । सरकारले जेठ ३२ गतेसम्मका लागि बन्दाबन्दी जारी गरेको छ । रासस


ताजा खबर